सन्दर्भ मार्च–८ : ‘ड्राफ्ट’ नै नकोरिएको खुञ्जेलीको बैंकिङ करिअर

सन्दर्भ मार्च–८ : ‘ड्राफ्ट’ नै नकोरिएको खुञ्जेलीको बैंकिङ करिअर


‘सायद आज म बैंकर नभएकी हुँदी हुँ त, एक रिटायर्ड खेलाडीका रूपमा रहन्थेँ होला,’ उनी मुस्कुराउँछिन् ।

‘मेरो विद्यालय उमेर अध्ययनमा कम अनि अतिरिक्त क्रियाकलापमा बढी बित्यो । स्वभावले म कक्षाभित्र बस्नै रुचाउँदिन थिएँ। शैक्षिक वर्षको ६/७ महिना खेल मैदानमै बिताउथेँ,’ उनी स्मृतिमा फर्किन्छिन्, ‘टेबलटेनिस, हाइजम्प, लङजम्प, रिले, ज्याब्लिङलगायत सबै खेलमा मेरो उपस्थिति थियो। मेरा लागि खेलकुद प्रिय थियो अनि, अध्ययन अतिरिक्तजस्तै।’ 

अनुपमा खुञ्जेली अर्थात् नेपालको बैंकिङ क्षेत्रको पहिलो र एकमात्र महिला सिइओ। भनिन्छ नि, हरेक मानिस जन्मिँदै आफ्नो कर्म लिएर आउँछ। त्यसैगरी, खुञ्जेली ३ वर्षयता मेगा बैंकको सिइओका रुपमा कार्यरत छिन्। नेपाली बैंकरहरूका बीचमा महिलाको एक्लो प्रतिनिधि पात्र बनेर सेवारत छिन्।

बुबा पूर्व कृषिसचिव अंकुर नरसिंह राणा र आमा ओपल राणा थापाकी छोरी हुन् खुञ्जेली । उनले उमेरसँगसँगै औपचारिक अध्ययन बढाउँदै लगिन् । तर, बढ्दो करिअर ग्राफमा कुनै दिन ‘ड्राफ्ट’ कोर्नुपर्छ भन्ने हेक्का भने राखिनन् । अर्थात् म भविष्यमा यस्तै बन्नु पर्छ भनेर उनले सपना दखेकै थिइनन् । ‘जे भयो करिअरको सुरुआतमा अकस्मात हुँदै गयो र, मैले त्यसैलाई स्वीकार गर्दै आएँ,’ खुञ्जेली अकल्पनीय तर स्वभाविक जीवन यात्रालाई पल्टाउन थाल्छिन्।

‘बुबा सरकारी कर्मचारी हुनुको नाताले मैले कहिल्यै व्यापार, व्यवसायको सपना देखिनँ। तर, सेवा क्षेत्रमा भने आकर्षित थिएँ। घरमा यो–त्यो विषय लिएर पढ्नुपर्छ भन्ने छनोटको कुनै मापदण्ड तय गरिएको थिएन। तर, रुचि भएर होला, प्रविणता प्रमाणपत्र तह व्यवस्थापन संकायमा गरेँ। त्यो पनि भारतको नयाँदिल्लीस्थित ‘रोटरी पब्लिक स्कुल’मा।’

नेपाल फर्किएपछि उनले शंकरदेव क्याम्पस, बागबजारबाट व्यवस्थापन संकायमै स्नातक तह पूरा गरिन्। ‘सबैले भन्ने गर्थे, डाक्टर, इन्जिनियर, पाइलट बन्नुपर्छ। तर, त्यसतर्फ कुनै रुचि बढेन। योजनाबिनै व्यवस्थापन रोजेँ र, त्यसैको परिणामस्वरुप आज यो स्थानमा छु,’आफूले छनोट गरेको विषयले नै नेतृत्व तहमा पुर्‍याएकोमा उनी खुसी छन्। आफ्नो मिहनेत, लगनशीलतासँगै ‘अपवार्डेड करिअर ग्राफ’प्रति आभारी छन्। 

०००      ०००       ०००
हुनत नेपालमा यतिबेला थुप्रै नेतृत्व तहमा महिलाहरूको उपस्थिति बलियो बन्दै गएको छ। राजनीतिक, आर्थिक, सामाजिक सबै हिसाबले महिलाको उपस्थिति र नेतृत्वदायी भूमिका दिन–प्रतिदिन सुधारोन्मुख छ। यद्यपि, तल्लो तहमा पुरुषको तुलनामा महिलाको उपस्थिति अझै न्यून नै छ।

यही परिवेशको सामीप्यमा रहेर सोच्दा उनलाई आफ्नो ३० वर्षे बैंकिङ करिअर अकल्पनीय लाग्छ। ९० को दशकमा नेपाली महिलाको अवस्था अनि आफ्नो पेसाबीचको दूरी सम्झिँदै उनी असामान्य हुन्छिन्, ‘ओहो! ‘थ्री डिकेड, इट्स नट अ जोक।’

घर–परिवार समाज, साथीसंगत सबैलाई एक किनारामा छाडेर दिन–साँझ उनले  बैंकमा जागिर खाइन्। महिनाको ८ सय तलब पाउँदा उनी मक्ख थिइन् रे! अझ दुई/चार महिना आफ्नै बैंकमा तलब बचत हुँदै जाँदा त उनलाई संसार जितेझैं लाग्थ्यो। 

जागिरका कारण पढाइलाई निरन्तरता दिन सजिलो भएन। केही समय उनको स्नातकोत्तर तहको पढाइ अधुरै रह्यो। निकै पछिमात्रै उनले पूरा गरिन्।

‘शनिबार घरपरिवारसँग बित्थ्यो, अरु बेला दिन–साँझ अफिसमै, पैसा खर्च हुने ठाउँ नै थिएन। पछि–पछि ८ सयको दरले बढ्दै गएको बचत हेर्दा त क्या खुसी हुन्थेँ,’ ती दिन सम्झँदा उनलाई छुट्टै अनुभूति हुन्छ।

०००
स्टान्डर्ड चार्टर्ड (ग्रीनलेज) बैंकबाट करिअर सुरु

बैंकिङ क्षेत्रमा रहेर सिइओ खुञ्जेलीले काम गरेको ३० वर्ष बितिसकेको छ। भारतबाट स्वदेश फर्किएपछि बुबा–आमासँग बैंकिङ कारोबारका लागि बैंकमा जाँदा स्थापना हुन लागेको अन्तराष्ट्रिय स्तरको ग्रीनलेज बैंकमा जागिर खाने अवसर आएको थियो। आफूलाई भावना राणाले बैंक स्थापना हुन लागेकाले जागिरका लागि आवेदन दिन आग्रह गरेको कुरा उनी सम्झिन्छिन्। 

त्यतिबेला उनी शंकरदेव क्यापसमा स्नातकोत्तर अध्ययन गर्दै थिइन्। यही क्रममा उनले २०४८ सालमा अध्ययन जारी राख्ने सोचका साथ हालको स्टान्डर्ड चार्टर्ड बैंकमा सहायक पदबाट करिअर सुरु गरिन्।

जागिरका कारण पढाइलाई निरन्तरता दिन सजिलो भएन। केही समय उनको स्नातकोत्तर तहको पढाइ अधुरै रह्यो। निकै पछिमात्रै उनले पूरा गरिन्।

अनुपमाले ग्रिनलेज बैंकमा १३ वर्ष काम गरिन्। सहायक पदबाट जागिर सुरु गरेकी उनी बढुवा हुँदै त्यही बैंकमा म्यानेजर बनिन्। म्यानेजर भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको बैंकमा काम गरेको अनुभव लिएकाले अन्य बैंकमा काम गर्ने इच्छा हुँदै गर्दा उनलाई नबिल बैंकमा अवसर आयो।

त्यसपछि उनले स्टान्डर्ड चार्टर्डबाट राजीनामा दिएर म्यानेजर पदमै नबिलमा काम गर्न सुरु गरिन्। उनी भन्छिन् ‘अन्तर्राष्ट्रिय स्तरको बैंकमा १३ वर्ष काम गरेको अनुभवलाई नेपालीहरूको लगानी भएको बैंकमा सदुपयोग गरौं भन्ने लागेर नबिलमा गएकी थिएँ।’

उनले नबिलमा म्यानेजर भएर ६ वर्ष काम गरिन्। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय स्तरको र नेपाली लगानीमा सञ्चालन भएको बैंकमा काम गरेको अनुभव नयाँ स्थापना हुन लागेको मेगा बैंकमा पोख्न मन लाग्यो।

 मेगा बैंकमा ९ वर्ष काम गरेपछि २०७५ साल वैशाखदेखि अहिलेसम्म उनले बैंकको कार्यकारी नेतृत्व सम्हालिरहेकी छिन्। बैंकमा जागिर सुरु गर्दा सिइओ भइन्छ होला भन्ने कल्पना समेत नगरेको उनी बताउँछिन्। 

अवसर र चुनौती

सिइओ खुञ्जेली बैंकिङ करिअरमा अवसर र चुनौती दुवै भएको बताउँछिन्। बाहिरबाट हेर्दा बैंकिङ करिअर माथि गएको देखिन्छ। तर, उनी यो यात्रामा दुवै किसिमको भोगाइ रहेको अनुभव सुनाउँछिन्। अनुपमाको बैंकिङ करिअरमा सधैँ राम्रो मात्रै भएन, कहिलेकाही जागिरै छाड्ने मनस्थितिमा समेत पनि पुगेको उनको अनुभव छ। ‘पछि एउटा बैंक अर्को बैंकमा मर्ज हँुदा विभिन्न समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढेँ,’उनी सुनाउँछिन्। 

बैंकिङ जागिर सुरु गरेको ६ महिनामै अल्सर भएपछि एकपटक उनलाई जागिर छाड्न मन लागेको थियो। तनाव महसुस हुँदा पटक–पटक राजीनामा दिनसमेत खोजेको उनले बताइन्। 

‘जीवनमा आएका अवसर र चुनौतीलाई कसरी लिने भनी त्यसलाई फर्किएर हेर्नुपर्छ। आफूलाई कसको, कस्तो सहयोग रह्यो? आफूले के गर्नुपर्ने थियो भनी सोच्नुपर्दछ, अनि मात्रै सफलतामा पुग्न सकिन्छ,’ उनको अनुभवले यही भन्छ।

मेगा बैंकमा सिइओको जिम्मेवारी
 
विभिन्न व्यक्तिहरुको सानो–सानो लगानीमा स्थापना भएको बैंक हो मेगा बैंक। सिइओ खुञ्जेली मेगा बैंकमा स्थापना कालदेखि नै कार्यरत रहेकी छन्। 

मेगा बैंक स्थापना हुँदा बैंकको प्रमुख कार्यकारी अधिकृत बैंकर अनिलकेशरी शाह रहेका थिए। खुञ्जेली ग्रीनलेजमा कार्यरत रहँदा अनिल पनि ग्रीनलेजमै थिए। यता नबिलमा पनि शाह र खुञ्जेलीले सँगै थिए भने त्यसपछि  मेगामा पनि सँगै काम गरेका थिए। शाह प्रमुख हुँदा अनुपमा सहायक कार्यकारी रहेकी थिइन्।

अनिलले मेगा बैंकमा आठवर्षे कार्यकाल पूरा गरेर छाडेका थिए। उनले मेगा बैंक छाडेपछि दोस्रो वरियतामा रहेकी खुञ्जेली बैंकको कार्यकारी प्रमुख भएकी थिइन्।

बैंकमा अनिल शाहले अगाडि बढाएको कार्ययोजनालाई नै निरन्तरता दिएको अनुपमाले बताइन्। अहिले मेगा बैंक निजी क्षेत्रका २६ वाणिज्य बैंक मध्ये टपमै रहेको छ।

मेगाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको खुञ्जेलीको दाबी छ । मेगा यस अवधिमा निक्षेप संकलनमा १३ औं स्थान, कर्जा लगानीमा नवौं स्थान र नाफामा ११ औं स्थानमा रहेको छ। 

बैंकिङ क्षेत्रमा अहिले ५० प्रतिशत महिला कार्यरत रहेका सिइओ खुञ्जेलीले जानकारी दिइन्। यो उपस्थिति बढाउन महिलाले अझै जागरुक भएर काम गर्नुपर्ने उनको सुझाव छ। 

मेगाले पुस मसान्तसम्म ३७.२८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ। यस अवधिमा बैंकले १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा कमाएको छ। गत वर्ष यसै अवधिसम्म बैंकले ९५ करोड २ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकले पुस मसान्तसम्म १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

बैंकिङ क्षेत्रमा महिलाको उपस्थिती

बैंकिङ क्षेत्रमा अहिले ५० प्रतिशत महिला कार्यरत रहेका सिइओ खुञ्जेलीले जानकारी दिइन्। यो उपस्थिति बढाउन महिलाले अझै जागरुक भएर काम गर्नुपर्ने उनको सुझाव छ। 

कामको दौरानमा आइपर्ने अप्ठ्यारा परिस्थिति सामना गर्दै विगतमा भएका अप्ठ्यारा चिरेर अगाडि जानु जरुरी रहेको छ। मेगा बैंक ६० प्रतिशत महिला कर्मचारीबाट सुरु गरिएको उनले सुनाइन्। अहिले मेगा बैंकमा सेनियर म्यानेजर प्रायः सबै महिला रहेका छन्। 

हेरक क्षेत्रमा कामका हिसाबले होस् वा अन्य हिंसामा महिला पर्ने गरेको उनले बताइन् । तर, महिलाले यसलाई परास्त गर्नसक्ने क्षमता विकास गर्न जरुरी  रहेको उनी ठान्छिन्। उनी भन्छिन्,‘म महिला, पुरुषभन्दा पनि काममा विश्वास गर्दछु। आफूले गरेको काममा अरुले औंला उठाउन नसक्ने गरी काम गर्नु पर्दछ। यसरी काम गरेर देखाएपछि कसैले औंला ठड्याउन सक्दैन।’

महिलाको फेरिएको अवस्था

अनुपमाको अनुभवमा ३० वर्षपहिले महिला जागिरका लागि सहजै बाहिर निस्कने अवस्था थिएन। यसरी घरबाट निस्किएर जागिर खाने महिलाको संख्या एकदमै कम रहेको थियो। तर, अहिले विभिन्न सञ्चार माध्यमदेखि सामाजिक सञ्जालको प्रभावले परिवारमै छोरीलाई हर्ने दृष्टिकोण परिर्वतन भएको छ। यसले गर्दा बुबाआमामा छोरीलाई पनि आफ्नो खुट्टामा उभ्याउनसक्ने बनाउनुपर्छ भन्ने भावना जागृत भएको छ। 

अहिलेसम्म पनि महिला अगाडि आउन नसक्नुको प्रमुख कारण शिक्षाको कमी रहेको उनी ठान्छिन् । त्यसले गर्दा मेगा बैंकले एजुकेसन इन्लाइटेन्मेन्ट कार्यक्रम अन्तर्गत वर्षमा दुईजना छात्रालाई प्लस टुसम्म पढाउने नीतिसमेत लिएको छ। ‘पहिले एकजना छात्रालाई थियो, अहिले दुईजना बनाएका छौ। अब विस्तारै बढाउँदै लैजाने योजना छ,’ उनले भनिन्।

महिलाको प्रगतिमाथि इष्र्या गर्नेहरु धेरै रहेका उनको भनाइ छ। ‘यसलाई सामना  गरेर अगाडि बढ्नसक्ने क्षमता हुनुपर्दछ। खुट्टा तान्न खोज्नेहरुमाथि सजक भएर निरन्तर आफ्नो लिडरसिपलाई अघि बढाउनुपर्छ,’ उनी सुनाउँछिन्, ‘हरेक महिलाले यस्ता खालका समस्या सामना गरेर अघि बढ्नुपर्छ, यसबाट महिलाको स्वाभाव परिवर्तन हुँदै जान्छ।’ 

Logo