‘उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ’ : पूर्वमन्त्री डा. महत

‘उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ’ : पूर्वमन्त्री डा. महत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् । नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहुँको दमौलीमा आयोजित नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताएका हुन् । 

उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुर्याउने डा महतले बताए। “देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन”, उनले भने, “सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नु पर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।”

पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । “सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नु पर्छ”, उनले भने, “स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नु पर्छ ।”

स्वदेशी पूँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गरे । उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा महतले व्यवसायीले पनि सही ढङ्गबाट कर तिर्नुपर्ने धारणा व्यक्त गरे। 

नेपाल वितरक महासङ्घका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीले वितरक महासङ्घलाई सरकारले अन्य व्यवसायीसरह हेर्न नहुने बताए । साधारणसभामा ४४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करीब ५०० जना सहभागी छन् । कार्यक्रममा व्यवसायीले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको बताउँदै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्क हुने स्थिति नरहेको गुनासो गरे। 

भलिबल खेल्ने क्रममा झडप 

तनहुँको भीमाद नगरपालिका–१ डुम्रीवेंसीमा भलिबल खेल्ने क्रममा विवाद हुँदा शुक्रबार दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । शिवरात्रिको पर्वका अवसरमा आयोजना गरिएको भलिबलमा विवाद हुँदा छुट्याउन जाने क्रममा दुई प्रहरी र अन्य एक सर्वसाधारण घाइते भएका हुन् । 

मोटरसाइकलको चेन स्पकेटको प्रहारबाट डुमीवेंसी प्रहरी चौकीका इञ्चार्ज सुरेन्द्र गुरुङ र प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। “भलिबलमा युवाबीच विवाद भएपछि छुट्याउन जाँदा प्रहरीमाथि पनि आक्रमण भयो”, प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भने, “उहाँहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य छ ।” प्रहरीका अनुसार आक्रमणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ ।रासस

Skip This
Skip This
Logo