‘हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौं’

‘हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा जुटेका छौं’

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका छन्।

ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका अवसरमा बुधबार उनले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने बताए। 

उनले भने, ‘विदेशी मुलुकले उद्योग तथा व्यापारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै तङ्ग्रिँदै जानुमा निजी क्षेत्रले सकारात्मक सोचका साथ आफ्नो कामलाई अघि बढ्नुलाई लिइन्छ।’ मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उनले औंल्याए। 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण व्यवसायमा घाटाको सामना गर्न बाध्य महानगरवासी उद्योगी तथा व्यापारीको हितमा आफूहरुले केही कर छुट गरेको बताए। उनले भने, ‘अब आउँदा दिनमा हामी सङ्घसँग मिलेर छिट्टै रात्रिकालिन बजार शुरु गर्नाका साथै प्रत्येक शनिबार मच्छिन्द्रनाथ जात्राको नरिवल खसाल्ने ठाउँ लगनखेलमा हरेक किसिमको बजार राख्न दिने योजना बनाइरहेका छौं।’ 

सङ्घका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले व्यवसायीले तिर्नुपर्ने दण्ड तथा जरिवानालाई सङ्घले संशोधन गर्न जरुरी भएको गुनासो गरे। ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले जिल्लाको व्यावसायिक वातावरण उच्च बिन्दुमा राख्ने काम गर्दै जाने मत व्यक्त गरे। उनले भने, ‘हामीले यहाँको उद्योग अनि व्यापार क्षेत्रलाई बढवा दिन म्यानमार, थाइल्याण्ड, चीनलगायतका केही विदेशी मुलुकसँग भगिनी सम्बन्ध राख्दै आइरहेका छौं।’

सङ्घका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा उत्पादन हुने सबै वस्तुको गुणस्तरमा ध्यान दिइने भनाइ राखे। सङ्घको स्थापना वि.सं. २०२३ साल चैत ४ गते भएको थियो। कार्यक्रममा आफ्नो स्थापना कालदेखि नै सङ्घले जिल्लाका उद्योगी एवं व्यवसायीको हकहित तथा व्यवसाय प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आइरहेको बताइयो। 

यसैगरी सङ्घले आफूसँग २५ वर्षअघिदेखि अविरलरुपमा सदस्य रहेका ३६ उद्योगी तथा व्यापारीलाई सम्मान गर्नाका साथै चित्रकलामा पारङ्गत अर्का एक व्यक्ति वत्य गोपाल वैद्यलाई श्रष्टा सम्मानपत्रसमेत प्रदान गरेको थियो । 

Logo