द्रुतमार्ग निर्माणको अनियमितताबारे अध्ययन गर्न उपसमिति गठन

द्रुतमार्ग निर्माणको अनियमितताबारे अध्ययन गर्न उपसमिति गठन

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौँ तराई द्रुतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको  छ । 

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन् । उपसमितिलाई दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनोट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमीकमजोरी र समयमै निर्माण सम्पन्न हुने नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ ।

काठमाडौँ–तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोश्रो चरणमा ठेकेदार कम्पनी छनोट गर्दा अनियमितता भएको उजुरीपछि समितिले त्यसतर्फ चासो देखाएको हो ।
छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गरेका थिए । उनले २ बर्षपछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वईन्ट भेन्चरमा नेपाली कम्पनीहरु पनि सहभागी भएको स्पष्ट पारे ।

उनले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समूहहरु धेरै भएको र नसकेपछि उनीहरुले अरु ठाउँमा प्रयास गरेको बताए ।

छलफलका क्रममा सांसदहरुले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले द्रुतमार्गको विषयमा बुंङमती खोकनाको विषय मिलाउनुपर्नेमा पनि जोड दिएका थिए । त्यसैगरी समयमै निर्माण सम्पन्न नहुनुको एउटा कारण निर्माण सामाग्रीको रुपमा प्रयोग हुने गिट्टी बालुवामाथि लगाइएको प्रतिबन्ध पनि भएकाले प्रतिबन्ध हटाएर काम गर्ने वातावरण मिलाउनुपर्ने उनीहरुको धारणा थियो ।

काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको क्रममा दोश्रो चरणको ठेक्का प्रक्रिया ठेकेदार चयन लगायतबारे अध्ययन गर्न बनाइएको उपसमितिलाई अध्ययन प्रतिवेदन बुझाउनका लागि २ महिनाको समय दिइएको छ ।

Logo