लकडाउन हुँदैन, स्वास्थ्य मापदण्डमा कडाइ हुन्छ : अर्थमन्त्री पौडेल

लकडाउन हुँदैन, स्वास्थ्य मापदण्डमा कडाइ हुन्छ : अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्।

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनु पर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन्। अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्। 

उनले भने,  ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नु पर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्नेछ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको बताए। कोभिड पछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रीत भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए। 

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन्। उनले भने, ‘अहिले हामी दुई वटा कुरामा केन्द्रीत हुन चाहिरहेका छौं। बजेटले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ। राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ । दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ। दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौं। आजको हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढी होसियार हुन्छौं। बजेट सार्वजनिक गरेर मात्रै हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय हो । त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ। यी दुई वटा चिजमा हामी केन्द्रीत हुन्छौं।’

कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन्। 

Logo