कोरोनामा बैंकर्सको दशैं : ‘डिजिटल माध्यमबाट टिका, आर्शिवाद र पुस्तक अध्ययन’

कोरोनामा बैंकर्सको दशैं : ‘डिजिटल माध्यमबाट टिका, आर्शिवाद र पुस्तक अध्ययन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यसपालीको दशैं इतिहासकै संकटपूर्ण हुने भएको छ । यस वर्षको दशैं कसरी मनाउँदै हुनुहुन्छ भनी विभिन्न बैंकर्ससँग हामीले जान्ने प्रयास गरेका थियौँ । प्रस्तुत छ , उहाँहरुसँगको कुराकानीः

भुवन दाहाल, अध्यक्ष, नेपाल बैंकर्स संघ
यसपालीको दशैं पहिलेको तुलनामा विल्कुलै फरक हुन्छ भन्ने मलाई लाग्छ । कोरोना भाइरसका कारण परिवारका सबै सदस्य तथा आफन्तहरुसँग टिका थाप्ने, आशिर्वाद लिने अवस्था छैन । यसपाली आफ्ना घरमा सदस्य मात्रै बसेर टिका लगाउने र दशैं मनाउने गर्नुपर्छ । विगतका वर्षहरुमा जस्तै आफन्तका जाने टिका थाप्ने, आशिर्वाद लिने अवस्था छैन । जतिसक्यो कोरोनाबाट बच्ने उपाय गर्नुपर्छ । कतै घुम्न जाने अवस्था पनि छैन ।

मेरो परिवारको कुरा गर्दा आफ्नै घरमै बसेर दशैं मनाउने योजना छ । यसपाली अध्ययन गरेर दशैं मनाउनु पर्छ भन्ने योजनामा छु म त । मेरो घरमा ८० वर्षका आमा बुवा हुनुहुन्छ । धेरै मान्छेहरुको हेलमेल हुँदा उहाँहरुसहित सबैलाई संक्रमण हुन सक्छ । त्यसकारण आफ्नो घरमा पनि कोही नबोलाउने र आफू पनि अरु कोही आफन्तकोमा टिका थाप्न नजाने योजनामा छु । हाम्रो परिवार संयुक्त परिवार हो । आमा बुवा, दाई, भाउजु तथा मेरो परिवार सँगै छौँ । त्यसकारण खासै नरमाइलो पनि हुँदैन । आफन्तहरुसँग भेटघाट भएन भन्ने मात्रै हो । भेट हुन नपाए पनि टिका पनि डिजिटल र आर्शिवाद पनि डिजिटल माध्यमबाटै दिने योजनामा छौँ । दिदी भिनाजु तथा भान्जा भान्जीहरुलाई डिजिटलको माध्यमबाट टिका लगाउने सोचमा छु म त । मलाई विशेष गरी बौद्ध दर्शन्, यात्रा संस्मरण लगायतका पुस्तक मन पर्ने भएकाले यस्तै प्रकारका पुस्तक पढ्छु होला । कुन कुन पुस्तक पढ्ने भन्ने निश्चित त भएको छैन । तर खाली समयमा चाहीं पुस्तक पढेर नै समय बिताउने हो ।

किरणकुमार श्रेष्ठ, सिइओ, राष्ट्रिय वाणिज्य बैंक
यसपालीको दशैं भर्चुअल दशैं हो । भर्चुअलको माध्यमबाटै यसपालीको दशैं मनाउने भन्ने विशेष योजना हामीले बनाएका छौँ । किनकी हामी सबैलाई थाहा छ, अहिले कोरोना भाइरसको संक्रमणका कारण सामाजिक दुरी कायम गर्नुका साथै स्वास्थ्य सम्बन्धी कडा मापदण्ड अपनाउनु पर्ने अवस्था छ । यस्तो अवस्थामा आफन्तहरुको घरमा जाने टिका लगाउने, आर्शिवाद थाप्ने कुरा भएन । आफ्नै घरमा बस्ने मनाउने गर्नु पर्छ । अनि मात्रै कोरोनाबाट केही हदसम्म भए पनि बच्न सकिएला । सामाजिक संजालको माध्यमबाट शुभकामना आदानप्रदान गर्ने भन्ने कार्यक्रम छ । अहिले जुमले पनि निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ । त्यसैले जुमका माध्यमबाट टिकाको कार्यक्रम गर्ने भन्ने योजनामा छौँ । दशैंका बेला आफन्तहरुसँग भेटघाट नहुँदा समय पनि खाली हुन्छ । त्यो खाली समयमा पुस्तक पढ्ने र गीत र कविता लेख्ने योजना बनाइरहेको छु ।

सुनिल के.सी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) एमएमबी बैंक
यसपालीको दशैं अलि फरक हुने भयो । टिका थाप्न आफन्तकोमा जाने अवस्था छैन । कोरोना भाइरसको संक्रमण हरेक दिन जस्तो बढिरहेको छ । त्यसैले धेरै जनासँग हेलमेल गर्न पनि गाह्रै छ । प्रत्यक्ष भेटघाट नभए पनि डिजिटलको माध्यमबाट भेटघाट हुन्छ यसपाली । किनकी आफू पनि सुरक्षित रहनुपर्यो ,अरुलाई पनि सुरक्षित राख्नु पर्यो ।

बोधराज देवकोटा, डेपुटी सिइओ, सिटिजन्स इन्टरनेशनल बैंक
अहिलेको अवस्था निकै जटिल छ । आफन्तहरुसँगको भेटघाट गर्न पनि गाह्रै हुने भयो । हामी कोरोना सुरु भएसँगै स्वास्थ्य सम्बन्धी कडा मापदण्ड अपनाएर काम गरिरहेका छौँ । बैंकिङ सेवा अत्याश्यक सेवामा पर्ने भएकाले कठिन परिस्थितीमा पनि काम गर्नुपर्ने अवस्था हुन्छ । आज कयौँ साथीहरु क्वारेन्टाइनमा छन् भने कयौँ आइसोलेशनमा छन् । यस्तो अवस्थामा हामी आफैं सजक रहनु पर्छ । कयौँ प्रयास गर्दा गर्दै पनि कोरोनाबाट बच्न समस्या भइरहेकाले सकेसम्म सबै नेपालीहरुले यसपालीको दशैं आफ्नै घरमा मनाउनु पर्छ ।

गाउँको मानिस गाउँमै जान रमाइलो लाग्छ । म स्याङ्जाको मानिस । उतै जान रमाइलो लाग्छ । घरमा ७५ वर्षकी आमा मात्रै हुनु हुन्छ । गाउँघरमा वरिपरी कुरा गर्दा सकेसम्म नआइदिए हुन्थ्यो भन्ने मनसाय बुझिन्छ । त्यसैले म घरमा पनि नजाने निर्णय गरेको छु । आफ्नै घरमा बस्ने, दशैंमा खाने कुरा खाने अनि दशैं मनाउने गर्नुपर्छ । घर परिवारलाई पनि हुलमुल नभएका ठाउँमा खुम्न लैजाने र पुनः आफ्नै घरमा आउने तथा अन्य मानिसहरुसँग भेटघाट नगर्ने योजना छ । काठमाडौँमा रहेका आफन्तलाई पनि नआउन भन्ने र आफू पनि नजाने निर्णय गरेको छ । खाली समयमा अर्थशास्त्र र अन्तर्राष्ट्रिय विषयवस्तुहरुसँग सम्बन्धीत पुस्तकहरु पढ्ने पनि योजना बनाएको छु । कोरोनाको संक्रमणसँगै आफूसहित अरुलाई पनि बचाउने प्रयत्न गर्नुपर्छ । त्यसैले गत वर्षहरुको तुलनामा यस वर्षको दशैं विल्कुलै फरक किसिमको हुने भएको छ ।

वसन्त लम्साल, अध्यक्ष लघुवित्त बैंकर्स संघ
यसपाली मेरो गैंडाकोट (नवलपरासी) मा टिका लगाउने योजना भएको छ । हरेक वर्ष घर (काठमाडौँ) मा टिका लगाउने गरेपनि यस वर्ष कोरोना महामारीका कारण हाम्रो परिवार यतै छ । त्यसैले दशैं पनि यतै मनाउँदैछु । हाम्रो कार्यालय (विजय लघुवित्त वित्तीय संस्था) पनि यतै भएकाले मेरो धेरै जस्तो काम यतै हुन्छ । त्यसैले परिवार पनि यतै भएकाले दशैं पनि यतै हुन्छ । यसपाली दशैंमा आफन्तकोमा गइँदैन र घरमा पनि कसैलाई नबोलाउने योजनामा छौँ ।

Logo