हुम्लामा हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न माग

हुम्लामा हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न माग

केन्द्रबिन्दु
0
Shares

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न माग गरिएको छ।

रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना सङ्क्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको हो। गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने “गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदलमार्गबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवस्था गरेको चार हजार क्विन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेका कारण खाद्यान्न अब हवाईमार्गबाट ढुवानी गरेर समस्या समाधान गर्न माग गरेका छौँ।”

सो खाद्यान्न पैदलमार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि सप्लायर्स पनि छनोट भइसकेको थियो। त्यो खाद्यान्न हालसम्म पनि ढुवानी हुन सकेको छैन। ४५ मा प्रतिकिलो खाद्यान्न ढुवानी गर्न सकिने भएपछि सो गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न उक्त मार्गबाट ढुवानी गर्ने गरेको थियो। 

उत्पादन कम हुने सो गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनुपर्नेमा कोरोनापछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामग्री एक वर्ष यतादेखि ढुवानी भएको छैन। ढुवानी बन्द हुँदा खाद्यान्न समस्या हुने अवस्था आएको बताइएको छ।

केरुङबाट ढुवानी हुने अवस्था नरहेकाले गाउँपालिकाको कोटाको खाद्यान्न समयमै हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न गाउँपालिकाका अध्यक्ष लामाले लिमिटेडसँग माग गरेका हुन्। सो खाद्यान्न पैदलमार्गबाट ढुवानी हुन सक्ने अवस्था नभएपछि जिल्ला खाद्य व्यवस्था कार्यालयले समेत निर्णय गरेर हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न निर्णय गरेर केन्द्रमा पठाइसकेको लिमिटेडको हुम्ला शाखाका प्रमुख निर्मलकुमार थापाले बताए। लामो समयसम्म चार हजार क्वीन्टल खाद्यान्न आइ नपुगेछि नाम्खाका नागरिक खाद्यान्न भोकमारीको चपेटामा पर्न सक्ने बताइएको छ।रासस

Skip This
Skip This
Logo