राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताएकी छिन्।
मेलम्चीको पानी औपचारिक रुपमा वितरण सुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा उनले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन्। मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उनले बताइन्। मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदूषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन्।
“प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ, पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ”, उनले भनिन्।
केही जनसङ्ख्या स्वच्छ खानेपानीको सेवाबाट अझै बञ्चित रहेकाले त्यसको व्यवस्थापनमा पनि सरोकार भएका निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो। मेलम्चीको पानी राजधानी आएसँगै जमिनमुनि पानी पुनर्भरणमा समेत ध्यान दिन पनि उनले सरोकार भएका निकायलाई निर्देशन दिइन्। पानीका विषयमा आवश्यक अध्ययन अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालय लगायत शैक्षिक संस्थालाई प्रोत्साहन गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन्।
चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार राजधानीमा चार करोड लिटर पानी हालेर परीक्षण सुरु गरिएको थियो। परीक्षण सफल भएपछि आजदेखि साढे आठ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो। पानी वितरण गर्न उपत्यकामा नौ वटा पोखरी निर्माण सम्पन्न भएका छन्। एक पोखरी हाल निर्माण भइरहेको छ।
गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६.५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो। पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो। महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ। केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ। दोस्रो चरणको कामसमेत सुरु भइसकेको आयोजनाले जनाएको छ।रासस































प्रतिक्रिया