करदातालाई जागरुक बनाउन ‘सडक नाटक’ अभियान

करदातालाई जागरुक बनाउन ‘सडक नाटक’ अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गर्ने भएको छ। पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने तयारी भएको काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिए।
 
‘करदातालाई दबाब दिएर होइन सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण सिर्जना होस् भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गर्न लागेको हो,’ अधिकारीले भने, ‘पहिलो चरणमा हामी काठमाडौँ क्षेत्र भित्रका वसन्तपुर, कालीमाटी, कलंकी, चावहिल, गौशाला, नयाँबानेश्वर लगायतका विभिन्न १० स्थानमा सचेतनासहित सडक नाटक गर्छौं। प्रभावकारी भयो भने स्थानहरु थप गर्ने तयारी छ ।’ 

अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए। ‘यस्तो महामारीका बेला करदातालाई दबाब दिने भन्दा पनि सचेतनामुलक अभियान सञ्चालन गरेर राजश्व असुली गर्ने उद्देश्य अनुरुप यसो गरेका हौँ,’ उनले भने, ‘हामीले यस अघि पनि आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारको अनुगमन गरेका थियौँ। कर तिर्नेलाई धन्यवादपत्र र नतिर्नेलाई के–कारणले कर तिर्न सम्भव भएन भनी जानकारी गराउन सबै विवरणसहित विभागमा हाजिर हुने पत्र थमाएका थियौँ।’ 

विभागका प्रमुख अधिकारीले करदातालाई जागरुक बनाउन काठमाडौँ महानगरपालिकाले इतिहासमै पहिलो पटक ‘सडक नाटक’ अभियान सञ्चालन गरेको जानकारी दिए। ‘नाटक करीब २० मिनेटको हुन्छ। पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाउछौँ,’ उनले भने, ‘हामीले नाटकमा करदातालाई जागरुक गराउन र तपाईँहरुले राज्यलाई तिर्ने करको सदुपयोग कसरी हुन्छ भन्ने देखाउन प्रहशनको पनि व्यवस्था गरेका छौँ।’ 

उनले कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी दिए। ‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ,’ उनले भने, ‘सम्पत्ति करमा १० प्रतिशत छुट दिएका छौँ। त्यो चैत मसान्तसम्म मात्रै हो। सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएका छौँ।’ 

उनले बहाल करमा कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको पनि जानकारी दिए।

Logo