खुल्लामञ्चमा रहेको सिटी (पुरानो) बसपार्क बैशाख १५ गतेदेखि हटने भएको छ। आज काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीवीच सम्पन्न बैठकले बैशाख १५ गतेदेखि बसपार्क हटाउने निर्णय गरेको हो।
खुल्लामञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ। यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ । ज्ञवालीले निर्णयका बारेमा जानकारी दिँदै भने, ‘टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक)हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।’
त्यहाँको बसपार्क सारेर बैशाख १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउने छ। हामीले यस प्रयोजनका लागि धेरैपटक, सरोकारवालासँग छलफल गरेका छौँ। सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्लेले भने,‘ हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरुलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ।’
आजको बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजंग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटासहित अधिकारीहरु रहेका थिए। साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि निश्चित अवधिका लागि त्यसठाउँबाट चल्ने सवारी साधनलाई खुल्ला मञ्चको आदि भाग बारेर बसपार्क सञ्चालन ल्याइएको थियो।





























प्रतिक्रिया