रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाममा खर्च गर्न सरकारलाई निर्देशन

रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाममा खर्च गर्न सरकारलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि कोभिड संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहभागि भएका सांसदहरुले बजेट रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन्। नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भएपनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे। सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको बताए। 

राज्यले अहिले विभिन्न क्षेत्रमा बजेट रकमान्तर गरिरहेको तर त्यस्तो पैसा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने भन्दै प्रश्न गरे। अर्थ मन्त्रालयले अर्बौं रुपैयाँ रकमान्तर गरेको तर औषधि र अस्पतालको व्यवस्थाका लागि रकम उपलब्ध गराउन नसकेको पनि बताए। कोभिड विरुद्धको खोप आफै सुरक्षित नभएको र देश नै आक्रान्त भएको अवस्थामा बजेट रकमान्तर गरेर भएपनि विरामीको उपचारमा ध्यान दिन सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताए। 

नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरुमा भयावह स्थिति आइसकेको बताए। सीमावर्ती जिल्लाहरुका स्वास्थ्यकर्मीहरुले हात उठाइसकेको अवस्थामा समितिले सरकारलाई आफैंले गरेका निर्णयहरु कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए। यस्तै कोभिडलाई केन्द्रमा राखेर सरकारले बजेट निर्माण गर्छ की गर्दैन भन्ने सम्बन्धमा पनि समितिले विशेष चासो दिनुपर्ने बताए। 

जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय प्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरिरहेको बताए। राज्यले आफैं मापदण्ड बनाई नागरिक र विभिन्न निकायहरुलाई कार्यान्वयन गर्न निर्देशन दिने तर आफैंले विभिन्न मेला गर्ने, भिडभाड गर्ने, उद्घाटनको नाउँमा भिड गराउने काम गरिरहेको बताए। 

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले सरकारको मातहतमा रहका अक्सिजन प्लान्टहरुलाई मर्मत गरेर सञ्चालन गर्न तर्फ सरकारको ध्यान नगएको बताए। कोभिड संक्रमित विरामीलाई अक्सिजन अत्यावश्यक छ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले ध्यान नदिएको बताए। सरकारसँग भएका प्लान्टहरु बिगारेर कमिसनको खोजिमा हिंड्ने र जनतालाई हाहाकार बनाएर सहुलियतको कुरा गरिरहेको पनि बताए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिण्डर खरिदका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिराखेको बताए। यसमा संलग्न उद्योगी व्यवसायीहरु को को हुन नामावली संकलन गरेर जनतालाई थाहा दिनुपर्ने बताए। अहिले सहुलियत दिएर २० हजार थान अक्सिजन सिलिण्डर ल्याउन खोजिएको पनि बताए।

बैठकले कोरोना रोकथाम र नियन्त्रण तथा संक्रमित विरामीको उपचारका लागि के कस्तो काम भइराखेको छ भन्ने समबन्धमा विभिन्न ठाउँमा पुगेर अनुगमन गर्ने निर्णय पनि गरेको छ। कोभिडको बाहानामा सुशासनका विषयहरुमा कमजोरी हुन सक्ने भन्दै समितिले अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको हो।

Logo