अब बैकिङ क्षेत्र कता जान्छ, भन्न सकिने अवस्था छैन-अनिल केशरी शाह

अब बैकिङ क्षेत्र कता जान्छ, भन्न सकिने अवस्था छैन-अनिल केशरी शाह

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ को दोस्रो लहर नेपाल तीब्र रुपमा फैलिँदै गएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जेठ १३ गतेसम्म काठमाडौं उपत्यकालगायत मुलुका प्रायःजसो सबै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। 

निषेधाज्ञा जारी हुँदा अत्यावश्यकबाहेक सबै सेवा बन्द अवस्थामा रहेका छन्। सबै क्षेत्र ठप्प भएकाले अर्थतन्त्र चलायमान हुन सकेको छैन। 

अर्कोतर्फ, यो कोभिड-१९ को नयाँ भेरियन्ट अहिलेसम्म रहन्छ भन्ने यकिन छैन। यसले गर्दा अब बैकिङ प्रणाली र मुलुकको अर्थतन्त्र कता जान्छ र, के हुन्छ? भन्न सकिने अवस्था छैन।

स्वास्थ्य विज्ञ, सरकारलगायत कसैले पनि अब यो कोभिड-१९ को दोस्रो लहर के हुन्छ भनी आँकलन गर्न सकिरहेको  अवस्था  छैन। संस्थागत तथा व्यक्तिगत रुपमा भोलि के होला  भन्दा पनि आज कसरी सुरक्षित भएर बस्ने भन्ने विषय प्रमुख भएको छ।

त्यसैले, महामारीमा पहिलो प्राथमिकता भनेको ज्यान जोगाउनु हो। ज्यान जोगियो भने त  बैकिङ क्षेत्र र मुलुकको अर्थतन्त्र विस्तारै रिकभर हुँदै जानेछ। हामी  सुरक्षित भएर कोभिड महामारीलाई परास्त गर्नुपर्ने हुन्छ। 

महामारीको असर मानिसको जनजीवनदेखि समग्र क्षेत्रमा परेको छ। महामारी नियन्त्रणमा आएपछि यसको लेखाजोखा हुनेछ। तर, अहिले जीवन जोगाउनु पहिलो प्राथमिकता हो। 

निषेधाज्ञा जारी भए पनि अत्यावश्यक सेवा भएकाले बैंकहरुले २५ प्रतिशत कर्मचारी राखेर आधा शाखामात्रै  सञ्चालन गरिरहेका छन्। आधा शाखा सञ्चालन हुँदा बैंकमा मानिसको भिड बढेको छ। 

बैंकमा मानिसको भिड बढ्दै जाँदा बैंकिङ क्षेत्रमै कारोनाको जोखिम बढ्दै गएको छ। बैंकहरुले डिजिटल कारोबारमा जोड दिए पनि त्यहाँ भिड लाग्ने गरेको छ। 

गत वर्षदेखि कोभिडले हामी सबैलाई बैकिङदेखि सबैखाले काम विद्युतीय माध्यमबाट गर्न सिकाएको छ। त्यसैले, अब व्यक्तिगत वा संस्थागत खाता भए पनि बैकिङ कारोबार डिजिटल गर्नु जरुरी देखिएको छ। 

अहिलेको परिस्थितिमा अधिकांश मानिस अस्पतालमा जानुपरेको छ। अस्पतालमा औषधि किन्दा पैसा आवश्यकता पर्छ। तर, हामी पैसाका लागि बैंक गइरहेका हुन्छौं। 

हामीले अस्पतालमा औषधि किन्न जाँदा, तरकारी किन्न जाँदा, पैसा बोक्न नपर्ने मोबाइल फोन भए पुग्ने क्युआर कोडमार्फत् कारोबार गर्न पाए कस्तो आनन्द हुन्थ्यो। यसरी कारोबार गर्दा कोरोना पनि नसर्ने अनि खल्तीमा पैसा नबोक्दा पनि हुन्थ्यो।

सबै कारोबार डिजिटलाइज्ड  भएको भए मानिस बैंकसम्म पनि जानुपर्ने थिएन।  हामीले बैंक पनि खोल्नु पर्दैन थियो। तरकारी किन्नेदेखि अस्पतालमा औषधी किन्नेलगायत अधिकांश कारोबार डिजिटल हुन्छ भन्ने विश्वास जनमानसमा जगाउन सबै क्षेत्र लाग्नुपर्ने देखिएको छ। त्यसका लागि सरकारले आवश्यक पूर्वाधार विकास गर्न सहयोगी भूमिका निर्वाह गर्नु जरुरी छ। 

हामीले अस्पतालमा औषधि किन्न जाँदा, तरकारी किन्न जाँदा, पैसा बोक्न नपर्ने मोबाइल फोन भए पुग्ने क्युआर कोडमार्फत् कारोबार गर्न पाए कस्तो आनन्द हुन्थ्यो। यसरी कारोबार गर्दा कोरोना पनि नसर्ने अनि खल्तीमा पैसा नबोक्दा पनि हुन्थ्यो।

हुन त विगतभन्दा अहिले डिजिटल कारोबार बढ्दै गएको छ। तर, जति हुनुपर्ने हो त्यति भएको छैन। बैंकहरुमा पहिले डेबिट तथा क्रेडिट कार्ड आउँदा डिजिटल कारोबार बढ्दै गएको थियो। अब समग्र कारोबारमा पनि त्यही तरिकाले विस्तार गर्दै जानुपर्छ। अबको भुक्तानी कारोबार प्रणाली डिजिटल क्रान्तिका रुपमा अघि बढाउनुपर्छ।

गत वर्ष कारोना महामारी नियन्त्रणका लागि लकडाउन भयो। त्यतिबेला कारोनादेखि कति डर–त्रास थियो, अब के हुन्छ भन्ने अन्योल थियो।

हामी सबै विस्तारै काेरोनासँगै जिउन थाल्यौं। हामीलाई सबै नर्मल लाग्न थालिसकेको थियो भने हामीले काेरोना भयानक छ भनेर सायद बिर्सन थालेका थियौँ जस्तो लाग्छ ।

गएको एक वर्ष हामी सबै गफ गरेर मात्रै बस्यौं। नेपालभन्दा पनि अमेरिका, जापान, कोरिया, बेलायत, अस्ट्रेलिया र भारतमा के भइरहेको छ भनेर कुरा गर्याैं।  केही गर्ने समयमा  गफ मात्र गरेर बितायौं। अहिले फेरि हामी भन्दैछौं–त्यो समयमा यस्तो गरेको भए हुनेथियो। 

 अब हामीले यस्तो गरेको भए हुन्थ्यो भनेर बस्नेभन्दा पनि तत्काल के गर्ने भनेर ध्यानकेन्द्रित गर्नुपर्छ। अहिले कतिपय कारोना संक्रमितले आइसियु, बेड र अक्सिजन सिलिन्डर खोज्नुपरेको छ। कतिपय बिरामीले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ।

निषेधाज्ञामा घर बसेकाहरुलाई के गर्ने, कसो गर्ने भन्ने लागेको हुनसक्छ। अब घरमै बस्नेहरुले परिवारलाई कसरी सुरक्षित राख्ने भनी सतर्क हुनु जरुरी छ। बिरामी भएर अस्पतालमा बेड, भेन्टिलेटर, अक्सिजन सिलिन्डर खोजेर हिँड्नुपर्ने  दिन नआओस् भनी सतर्क रहनुपर्छ।

अहिले हामी बैकिङ क्षेत्रमा काम गर्नेहरु अरुलाई पैसाको  समस्या पर्छ भनेर काममा आउनु परेको छ। तर, त्यस्तो अवस्था अरुसँग छैन, बाहिर जानु उपयुक्त हुँदैन।

कोरोना भाइरसले मानिसको जीवनलाई नयाँ तरीकाले जिउन सकिने गरी परिवर्तन ल्याएको छ। हामीले पनि सुरक्षित भएर नयाँ तरीकाले जीवन चलाउनका लागि तथा कुनै पनि व्यवसाय गरिरहेका व्यवसायीले सुरक्षा अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ।

अब कोरोना महामारीपछि कसरी अगाडि बढ्ने, आर्थिक रुपमा कसरी मजबुत रहने भनी नयाँ मोडालिटीमा काम गरिरहेका छौं। व्यवसायी कसरी सुरक्षित रहने भनी काम गरिरहेकाले आर्थिक अवस्था केही मात्रामा सुचारु रहने छ भन्ने मलाई लाग्छ।

(नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहसँग केन्द्रबिन्दुकर्मी अनिस मिजारले गरेको कुराकानीमा आधारित)

Logo