कोरोनाका कारण बैंकहरुमा तरलता स्थिर, नयाँ कर्जा प्रभावित

कोरोनाका कारण बैंकहरुमा तरलता स्थिर, नयाँ कर्जा प्रभावित

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र बन्दै गएको छ। संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब एक महिनादेखि देशैभरका जिल्लाहरूमा निषेधाज्ञा गरेको छ।

निषेधाज्ञा जारी रहे पनि संक्रमणदर बढ्दै गएको भन्दै विभिन्न जिल्लाहरुमा  निषेधाज्ञा थप गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहेका छन्। कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको असर वित्तीय प्रणालीमा पनि देखिन थालेको छ ।

महामारीको प्रभाव परेसँगै पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह त्यति धेरै नघटे पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको बैंकरहरूले जनाएका छन्।

निषेधाज्ञाका कारण उद्योग व्यवसाय बन्द रहेका र संक्रमण जोखिम बढ्दै गएकाले व्यवसायीहरुले नयाँ क्षेत्रमा लगानी गर्न छाडेको तथा लगानीकर्ताले दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव आँकलन गरेर बसेकाले अन्य समय जस्तो नयाँ कर्जा माग आउन छाडेको बैंकहरूले जनाएका छन्।

गत वर्ष कोरोना महामारी नेपालमा फैलिएसँगै लकडाउन भएको चार महिना अर्थात असारसम्म बैंकहरूमा तरलता सहजै रहेको तर असारपछि मात्रै बैंकहरूमा तरलता थुप्रिएको नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।

उनका अनुसार अहिले कोरोना महामारीका कारण निषेधाज्ञा लागू भए पनि कर्जा माग त्यति धेरै नघटेकाले बैंकहरूमा तरलता स्थिर रहेको छ। अध्यक्ष दाहालले भने,‘गत वर्षको जस्तो अहिले निषेधाज्ञा भए पनि तरलता धेरै बढ्दैन। तरलता सहजै हुने अपेक्षा गरिएको छ।’

कर्जाको नयाँ माग आएको छैन। तर शेयर कर्जा लगायतका कर्जाहरू विस्तार, स्वास्थ्य सामाग्री खरिदले गर्दा तरलता बढ्ने भन्दा पनि कम हुँदै जाने दाहालको भनाइ छ।

त्यस्तै, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अहिले बैंकहरुमा तरलता बढ्ने भन्दा पनि घट्दै गएको बताएका छन्। उनका अनुसार सरकारले एक सय अर्ब ऋण उठाउदै यसअघि जारी गरेको २० अर्बको ट्रेजरी एक सातापछि जारी हुने तथा सरकारले तत्काल विकास खर्च पनि कम गरिरहेको, निषेधाज्ञाका कारण विकास निर्माणको काम रोकिएका छन्।

उनले भने, ‘सरकारले अहिले नै सरकारी खर्च बढाएर बजारमा जाने सम्भावना कम भएको र अहिले राष्ट्र बैकको सिस्टममा ५२ अर्ब मात्रै तरलता रहेकाले तत्काल तरलता बढ्ने सम्भावना छैन । बरु घट्ने संकेत देखिएको छ।’

राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा ५२ अर्ब रुपैयाँ अधिक तरलता छ । आइतबारसम्म ६२ अर्ब रहेको अधिक तरलता घटेर ५२ अर्बमा झरेकाले तरलता बढ्ने संकेत नभएकाले तत्कालै उत्साहजनकरुपमा तरलता वद्धि हुने अवस्था नदेखिएको प्रवक्ता ढकालको भनाइ छ।

तर तरलता नबढे पनि बैंकहरूबीचको अन्तर बैकिङ ब्याजदर भने सोमबारको भन्दा केही अंकले बढेर २.१४ प्रतिशत रहेको छ। बैशाख तेस्रो हप्तासम्म अन्तर बैंकदर ५ प्रतिशतभन्दा माथि रहेको थियोे । अन्तर बैंक ब्याजदर १ देखि ५ प्रतिशतसम्म हुनु भनेको तरलता सामान्य अवस्थामा भएको र त्योभन्दा माथि गयो भने तरलता अभाव भएको भन्ने बुझ्नु पर्ने दाहालले बताए । यसअघि तरलता अधिक हुँदा लामो समयसम्म अल्पकालीन ब्याजदर (अन्तर बैंक दर) १ प्रतिशतभन्दा कम थियो। 

पहिलो लहरको कोरोना संक्रमणको असर कम हुँदै गएपछि कर्जा प्रवाह ह्वात्तै बढेको थियो । त्यसपछि अन्तर बैंकदर पनि बढेर ५ प्रतिशत नजिक पुगेको थियो । गत वर्षको लकडाउन हुँदा वित्तीय प्रणालीमा सवा २ खर्ब रुपैयाँसम्म अधिक तरलता थुप्रिएको थियो । त्यतिबेला भारित औसत अन्तर बैंकदर ०.२ प्रतिशत थियो । तरलता घट्दै गएपछि अन्तर बैंकदर पनि बढ्न थालेको थियो।

त्यस्तै, चैतसम्म बैंकहरूको वित्तीय अवस्था सन्तोषजनक नै रहे पनि संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागूपछि बैंकहरुमा पनि त्यसको असर परेको छ। अधिक तरलता सामान्य अवस्थामै रहेकाले तत्काल कर्जाको ब्याजदर नबढ्ने पनि अध्यक्ष दाहालले स्पष्ट पारे ।

गतवर्ष लकडाउनका कारण २०७६ चैतदेखि गत साउनसम्म कर्जा प्रवाह ठप्पजस्तै भएको  थियो । त्यसपछि बैंकहरुमा तरलता बढेको थियो।

बैशाख महिनामा बैंकहरुको निक्षेप ११ अर्ब ४२ करोड रुपैयाँले बढ्दा कर्जा ३७ अर्ब २ करोड रुपैयाँले बढेको छ । बैशाख मसान्तसम्ममा बैंकहरुको निक्षेप ३९ खर्ब ५५ अर्ब रुपैयाँमा पुगेको छ । कर्जा भने ३६ खर्ब १० अर्ब रुपैयाँ रहेको छ।

Logo