गत फागुन मसान्तसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगी वित्तीय पहुँच विस्तार भएको छ । अब मात्रै तीन वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ ।
चालु आवको फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि भई रु ४२ खर्ब ६० अर्ब ४७ करोड र कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई रु ३८ खर्ब ४६ अर्ब ३१ करोड पुगेको अर्थमन्त्रालयले जनाएको छ ।
कोभिड–१९ का कारण सिर्जित प्रतिकूलता तथा नकारात्मक प्रभावबाट अर्थतन्त्र तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न सरकारले कार्यान्वयन गरेका नीतिको कार्यान्वयन भइरहेको जानकारी दिँदै मन्त्रालयले महामारी प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि मात्रै रु २० करोड ८८ लाख प्रवाह गरिएको जनाएको छ ।
महामारीमा पनि आर्थिक गतिविधि चलायमान बनाउन कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ । ऋणीहरूलाई चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गत फागुन मसान्तसम्म रु एक खर्ब दुई अर्ब ४० करोड बीमाशुल्क सङ्कलन भएको छ ।
त्यस्तै बाह्य क्षेत्रतर्फ समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कूल वस्तु पैठारी २.१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ । यस्तै कूल वस्तु निकासी ७.८ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ७८ करोड पुगेका छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा वस्तु निर्यात रु ७४ अर्ब ९१ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
पूँजी खाता र वित्तीय खाता बचतमा रहेका कारण शोधनान्तर स्थितिमा सुधार आएको छ । चालु आवको फागुनसम्म शोधनान्तर स्थिति रु ६८ अर्बले बचतमा रहेको छ भने चालु खाता रु एक खर्ब ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ । गत आवाको सोही अवधिमा शोधनान्तर स्थिति रु ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो भने चालु खाता रु एक खर्ब १९ अर्ब ७० करोडले घाटामा थियो ।































प्रतिक्रिया