सामाजिक सुरक्षा कोषमा जान दबाब दिएको भन्दै वित्तीय संस्था कर्मचारी संघको विरोध

सामाजिक सुरक्षा कोषमा जान दबाब दिएको भन्दै वित्तीय संस्था कर्मचारी संघको विरोध

केन्द्रबिन्दु
0
Shares

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ। 

सामाजिक सुरक्षा कोषले एक सुचना जारी गरि ०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचिकृत हुनका लागि निजी तथा संगठित संस्थाहरुलाई आग्रह गरेको थियो। तर सरकारको नीति नियम अनुरुप व्यवसायिक, पारदर्शी र अनुशासितरुपमा सञ्चालित बैंक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीहरुलाई उनीहरुको खाईपाई आएका सेवासुविधाहरु कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आकर्षक हुनेगरी योजना नल्याई षड्यन्त्रमूलक र दुरासयपूर्ण किसिमले कर्मचारीहरुलाई मर्का पर्ने किसिमले सामाजिक सुरक्षा योजनामा लैजान खोजिएकोले आफूहरु बिरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए।

कोभिड महामारीका कारणले बैंक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो बेला कोषमा सूचिकृत हुन नसकिने संघले जनाएको छ। विद्यमान व्यवस्थाहरु परिमार्जन गर्नुपर्ने संघको ठम्याई रहेको अध्यक्ष रेग्मीले बताए। सामाजिक सुरक्षा कोषमा जर्बजस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले बताए।

बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका कर्मचारीका परिवारका सदस्यहरुलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ।

Logo