निषेधाज्ञाको अवधिलाई शुन्य समय मानेर सहुलियत दिन यातायात व्यवसायीद्वारा सरकारसँग माग

निषेधाज्ञाको अवधिलाई शुन्य समय मानेर सहुलियत दिन यातायात व्यवसायीद्वारा सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवसायीहरुले सरकारसँग निषेधाज्ञाको अवधिलाई ‘शुन्य’ समय मानेर सहुलियत दिन माग गरेका छन्।

बुधबार अर्थसचिव शिशिरकुमार ढुंगानासँग भेटेर राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीहरुले निषेधाज्ञाको अवधिलाई शून्य समय मानेर बैंकको किस्ता तिर्न सहजीकरण गरिदिनु पर्ने माग राखेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले केन्द्रबिन्दुलाई बताए।

उनका अनुसार महासंघले बजेटमा भएका व्यवस्थाहरुलाई मौद्रिक नीतिमार्फत समेटेर प्रभावकारी ढंगबाट पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

उनले भने, यातायात क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेर बीमा प्रिमियम छुट, पुनर्कर्जा, नवीकरण छुट लगायत कुरालाई कार्यान्वयन गर्न माग गरेका छौँ।

गतवर्ष पनि यातायात व्यवसायलाई अति प्रभावित व्यवसायको सूचीमा राखेर बजेट व्यवस्था गरिएको तर कार्यान्वयन नभएको भन्दै व्यवसायीहरुले यो पटक सरकारलाई समयमै सचेत गराएको सिटौलाको भनाइ छ।

गतवर्ष सरकारले उपलब्ध गराएको पुनर्कर्जा लगायत सुविधा केही ठूला व्यवसायीहरुले मात्रै पाएकाले यो पटक साना व्यवसायीहरुको समस्या पनि सम्बोधन हुनुपर्ने भन्दै यातायात व्यवसायीहरु दौडधुपमा लागेका छन्।

Logo