मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ। देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले सामान्यदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँमा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौँको आकाशलाई पूर्णरुपमा बादलले ढाकेको छ।
प्रतिकूल मौसमका बाबजुद पनि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ। अन्तरराष्ट्रियतर्फ कुनै पनि उडान अवरोध नभएको विमानस्थल कार्यालयले जनाएको छ। आन्तरिकतर्फ केही गन्तव्यको उडान सामान्य प्रभावित भएको छ।
निरन्तरको वर्षा र बदलीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक उडानमा केही असहजता आए पनि अहिले क्रमशः सुधारोन्मुख छ। अन्तर्राष्ट्रिय उडानको भिजिबिलिटी दुई हजार ५०० रहेको छ । त्यो उडानका लागि उपयुक्त हुन्छ। अन्तर्राष्ट्रिय उडानतर्फ अधिकांश बिहानीको समयमा भएका छन् । काठमाडौँ अवतरण गर्ने जहाज बिहानै आइसकेका र साँझपखका उडान मात्र भएकाले कुनै अवरोध नभएको विमानस्थलले जनाएको छ। आन्तरिकतर्फ सीमित सङ्ख्यामा चार्टर्ड र उद्धार उडान मात्रै भइरहेको छ ।
सरकारले यही असार १७ देखि मुलुकको आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ। अन्तर्राष्ट्रिय उडानमा पनि असार १० गते बिहीबारदेखि कतिपय गन्तव्यमा केही उडान सङ्ख्या थप गरिएको छ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। आन्तरिक उडान वैशाख २० र अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि स्थगन गरिएको थियो।रासस





























प्रतिक्रिया