‘कृषि’ देशको अर्थतन्त्र उकास्ने भरपर्दो आधार हो: कृषिमन्त्री नेम्वाङ

‘कृषि’ देशको अर्थतन्त्र उकास्ने भरपर्दो आधार हो: कृषिमन्त्री नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपंक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन्।

मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशमा समृद्धि हासिल हुने बताएका हुन्। कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने उनको भनाइ थियो । 

देशको समृद्धिको मुल आधार कृषि क्षेत्र भएको उनले बताए। मन्त्री नेम्वाङले नेपालको खाद्य तथा पोषण सुरक्षामा धान बालीको व्यापकता र आवश्यकतालाई ध्यान दिनु आवश्यक रहेको बताए। सरकार धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनको लागि स्पष्ट नीति बनाइरहेको उनले उल्लेख गरे।  धान बालीको विकासका लागि कुनै नीतिगत कुरा बनाउनु पर्ने भए मन्त्रालय तयार रहेको पनि उनले बताए। 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गरे। मौसमले साथ दिएको र रासायनिक मल पनि समयमा नै उपलब्ध भएको भन्दै उनले आगामी वर्ष ६० लाख मेट्रिक टन धान फलाउनु पर्ने बताए। उनले कृषकको खेतबारीमै पुगेर धान सम्बन्धी अध्ययन, अनुसन्धान तथा कृषि सम्बन्धी शिक्षा पुर्याउनु पर्नेमा जोड दिए।

सरकारले रासायनिक मलको कारखाना खोल्ने कामलाई अगाडि बढाएको उनले बताए। कृषिको विकास तथा विस्तारका लागि स्थानीय तहले कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने पनि उनले बताए।

Logo