काठमाडौं ।
दसैं नेपालीहरुको महान चार्ड हो । विशेषतः हिन्दु धर्मालम्बीले मनाउने यो चार्ड आफन्तसँगको भेटघाट र रमाइलोको अवसर मात्र होइन, नयाँ सामान किन्ने बाहानाका रुपमा पनि रही आएको छ ।
परिवारका सबैले नयाँ लुगा किन्ने चलन रहेको दसैंमा अन्य सामान जोड्ने चलन पनि छ । पछिल्लो समय दसैंमा नयाँ मोटरसाइकल, स्कुटर वा गाडी किन्ने प्रचलन बढ्दो छ । यसैलाई मध्यनजर गर्दै सबै अटो कम्पनीले दसैंको अवसरमा विशेष छुट र विभिन्न ‘स्किम’ ल्याउने गरेका छन् ।
तर, सवारीसाधन भनेको सधैं किनिरहने चिज होइन । एकपटक किनेपछि वर्षौं प्रयोग हुने साधन हो । त्यसैले हामी धेरै पक्ष विचार गरेर मात्र किन्ने गर्छौं । मूल्य, माइलेज, कम्पनी, सीसी, डिजाइन लगायत आफ्नो आवश्यकता अनुसार धेरै पक्ष हेरी तुलना गरेर मात्र एउटा निर्णयमा पुग्ने गरेका छौं ।
यसरी विभिन्न पक्षको तुलना गर्नु जति आवश्यक छ त्यति नै झण्झटिलो पनि छ । नेपालमा अहिले एक दर्जन बढी ब्राण्डले सयभन्दा बढी भेरिएसनका मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएका छन् । नेपालीहरूको महान चार्ड दशैंतिहार नजिकिँदै गर्दा मोटरसाइकल बिक्रेता कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै अटोमोबाइल क्षेत्र निकै प्रभावित भएको थियो ।
तर, सरकारले पछिल्लो दुई महिनादेखि लकडाउन खुकुलो बनाएसँगै अटोमोबाइल कम्पनीहरूले ग्राहकहरूको आकर्षणको लागि विभिन्न अफर सार्वजनिक गरेका थिए । यसरी कम्पनीहरुले अफरहरु सार्वजनिक गरेपछि कोरोना महामारीकै बिचमा पनि मोटरसाइकल बिक्री सामान्य अवस्थाको भन्दा करिव ३५ देखि ४० प्रतिशतले बढेको थियो ।
सरकारले १२० दिन लामो लकडाउन अन्त्य गरेसँगै काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमणको संख्या बढको र रोकथाम तथा नियन्त्रणका लागि भदौ ३ गतेदेखि तीन साता लामो निषेधाज्ञा गर्नाले लकडाउनपछि सामान्य अवस्थामा फर्कदैं गरेको व्यवसाय पूर्णरुपमा बन्द भएको थियो । अहिले सबै व्यवसाय खुल्ला रहेका छन् । तर पनि अटोमोबाइल्सको बजारमा चहलपहल कम रहेको व्यवसायीहरूले बताएका छन् ।
यसरी बजार चहलपहल कम भएता पनि दसैं तिहार जस्ता नेपालीहरुको महान् पर्व नजिकिंदै गएकाले अटोमोबाइल कम्पनीहरुले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ग्राहकलाई आकर्षित गर्नका लागि दसैं अफर सार्वजनिक गरेका छन् । नेपालमा सबैभन्दा बढी बिक्री हुने दुईपाङ्ग्रे सवारी साधन सुजुकी, बजाज, हिरो, होण्डा, यामाहा, टिभीएस लगायत अन्य कम्पनीले बजारमा ग्राहकहरूका लागि छुट योजना सार्वजनिक गरेका छन् ।
यस्ता छन्, कम्पनीका दसैं अफर :
१.सुजुकी
सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोवाईल्स प्रालिले दसैंतिहार तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरूलाई स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने व्यवस्था गरेको छ । त्यस्तै, सुजुकीका बाइक खरिदमा १ वर्षको सडक दस्तुर छुट, एक्सचेन्ज र सरल फाईनान्सको सुविधा पनि उपलब्ध गराएको छ । हाल देशको विषम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकवर्गहरुलाई सुरक्षित र सजक भएर चाडपर्व मनाउन तथा सुजुकी दसैं तिहार अफरको भरपुर फाईदा लिन आह्वान समेत गरेकोे छ ।
२.बजाज
बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले बाइक खरिद गर्ने ग्राहकरुका लागि दसैं लक्षित ‘खुशी खोज्ने होइन रोज्ने’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले बजाजका कुनै पनि मोडलका मोटरसाईकल खरिदमा १० हजार छुट पाउनेछन् । साथै, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर वा २० प्रतिशत मात्र डाउनपेमेन्ट गर्न पाउने व्यवस्था पनि रहेको छ । यो योजना दसैंतिहार तथा छठसम्मका लागि रहने कम्पनीले जनाएको छ ।
३.टिभीएस
टिभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकका लागि दसैं लक्षित ‘टिभिएस दसैंको आशा’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूले नगद ९ हजारसम्म छुट पाउनेछन् । नगद छुटका साथै कम्पनीले शून्य प्रतिशत ब्याजदरसहित किने पनि नकिने पनि बम्पर मूल्य आरआर ३१० योजना पनि सार्वजनिक गरेको छ ।
४.यामाहा
यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैं लक्षित मोटरसाइकल र स्कुटरमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत मोटरसाइकल किन्ने ग्राहकलाई ८ हजार, स्कुटर किन्ने ग्राहकलाई ६ हजारसम्म छुटको व्यवस्था गरेको छ । यसका साथै, ६० प्रतिशत डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरसहित पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गरेमा १५ हजार छुट हुने कम्पनीले जनाएको छ ।
५.हिरो
नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नेपालीको महान् चाडपर्व दसैंतिहार लक्षित ‘दसैंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरूले ५ हजार पक्का डिस्काउण्ट पाउनेछन् । यसका साथै लक्की ड्रमार्फत १ जनाले एक लाख नगद पाउनेछन् भने स्क्रर्याच कार्डमार्फत १ लाखसम्म क्यास पाउने कम्पनीले जनाएको छ ।
६. होण्डा
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले नेपालीहरुको महान् चाड दसैंलाई लक्षित गरी “हर एक नेपालीलाई १ रुपैयाँमा होण्डा” नामक योजना ग्राहकवर्ग माझ ल्याएको छ । कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको यस अवसरमा होण्डाले ग्राहकहरु माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई ल्याएको कम्पनीले जनाएको छ । योजना अविधिभर ग्राहकहरुले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् । स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपनबाट १ लाखसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टसमा ७ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
७.भेस्पा र अप्रिलिया
नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्सले दसैं तिहारलाई लक्षित गरि बडा दसैं तिहार योजना सार्वजनिक गरेको छ । भेस्पा र अप्रिलियाले सुरक्षित यात्राका लागि सुरु गरेको यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरुले स्क्रयाच कार्डमार्फत पाँच हजारदेखि ५० हजारसम्मको नगद छुट र शुन्य प्रतिशत व्याजदरमा खरिद गर्न सकिने भएको छ । भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फूटम्याट, स्कुटर कभर र किरिङका साथै १ आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सिसी भेस्पाको खरिदमा १० हजार बराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ ।
कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ्ग गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरी समेत गराउने कम्पनीले जनाएको छ । कोरोना भाइरस महामारीका कारण अटोमोबाइल्स क्षेत्र निकै प्रभावित भएकाले विगतका वर्षहरुको तुलनामा सामान्य रुपमा योजना तथा अफर सार्वजनिक भएको छ । विगतका वर्षहरुमा नाडा ‘अटो शो’ मा नै दसैंका सबै अफर सार्वजनिक हुने गरेको थियो । तर यस वर्ष कोरोना महामारीका कारण अटो शो हुन सकेन । त्यसैले अहिले कम्पनीहरुले ग्राहकहरुलाई आकर्षण बढाउनको लागि थोरै भएपनि अफर योजना सार्वजनिक गरेका छन् ।





























प्रतिक्रिया