हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान खुला गर्ने र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या बढाउने निर्णय गरेको छ। कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ देखि खुला गरिएको थियो। खुल्ला भएसँगै विमानस्थलमा भीड बढ्नका साथै प्राधिकरणलाई समेत काम गर्न असहज भएका उडान खुल्ला गर्ने तयारी भएको हो। अब, उडान सामान्य अवस्थामा फर्किए दैनिक आन्तरिक उडान सङ्ख्या १०० पुग्ने र अन्तर्राष्ट्रिय उडान सङ्ख्या भने १५ देखि २० बीच रहनेछ।
तीन दिनदेखि निरन्तर संवादमा सक्रिय नेकपा एमाले विवाद समाधान कार्यदलले विवाद समाधानको नजिक पुगेको प्रतिक्रिया दिएका छन्। बुधबार अर्थ मन्त्रालयमा बसेको एमाले कार्यदलको बैठकपछि पार्टीभित्रको विवाद समाधान हुनेतर्फ अगाडि बढेको नेताहरुले बताएका हुन् । कार्यदल सदस्य सुवास चन्द्र नेम्बाङले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरुलाई ध्यानमा राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको बताएका हुन्।
अवैध’ रुपमा नेपाल भित्रिएका मोबाइल साउन १ गतेदेखि नचल्ने भएका छन्। यस नियमका कारण विदेशबाट निजी प्रयोगका रुपमा वा उपहार पाएर मोबाइल भित्र्र्याउनेहरु पनि त्रसित छन्। तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरुले डराउनु नपर्ने जनाएको छ। आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको तथा विदेशबाट उपहार आएका र पर्यटकका मोबाइलका लागि नयाँ नियमबाट अनुगमन गर्ने तयारी पनि प्राधिकरणको छ।
जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन्। जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा पानीको मात्रा बढ्ने र यसको असर समग्र मानव जीवनमा गम्भिरहुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
१६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेम्बली स्टेडियममा इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड र डेनमार्क फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ।





























प्रतिक्रिया