एक वर्षमा खानेतेलको मूल्य लिटरमै १ सय ७५ रुपैयाँले बढ्यो

एक वर्षमा खानेतेलको मूल्य लिटरमै १ सय ७५ रुपैयाँले बढ्यो


विगत एक वर्षमा उपभोक्ताले बजारमा चर्को मूल्यवृद्धको मार खेप्नु परेको छ। कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन तथा निषेधाज्ञाको कारण रोजगारी गुमाउनु परेका नागरिकले मूल्यवृद्धिको थप संकट झेल्दै आएका छन्।

बजारमा दिनप्रतिदिन खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा मूल्य बढ्दै जाँदा नेपालीको भान्सा पनि महँगिँदै गएको छ। कोरोना महामारीकै बीच बजारमा खाद्यान्नदेखि माछा–मासुसमेतको मूल्य अत्यधिक बढेको छ। 

अहिले बजारमा खाद्यान्न, तरकारी, गेडागुडी, फलफूललगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। कोरोना महामारीका कारण रोजगारी गुमाएका आर्थिक अवस्था कमजोर भएका उपभोक्ताको दैनिकी कष्टकर बन्दै गइरहेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ ) सम्म ४.१९ प्रतिशतले मूल्यवृद्धि भएको देखिएको छ। अघिल्लो वर्ष सोही महिनामा मूल्यवृद्धि ४.५४ प्रतिशत रहेको थियो।

नेपालमा एक वर्षको अवधिमा सबैभन्दा बढी मूल्यवृद्धि हुने वस्तुमा खानेतेल रहेको छ। पछिल्लो महिनामा पाम आयल भारतमा निर्यात गर्न पाउने भएपछि खानेतेलको मूल्यमा थोरै गिरावट आएको छ ।

बजारमा कच्चा पदार्थ आयात, उत्पादन र आपूर्तिमा सहजता हुँदासमेत बजारमा खानेतेलको मूल्यवृद्धि भएको थियो। यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै  खानेतेल मूल्यवृद्धि हुँदै आएको थियो।

एक वर्षमै एक सय ६५ रुपैयाँले बढ्यो 
गत वैशाखमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएको भन्दै खानेतेलको मूल्य लिटरमा १५ देखि २५ रुपैयाँले बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको थियो। असार लागेसँगै लिटरमा २ सय ७५ रुपैयाँसम्म पुगेको खानेतेलको मूल्य २५ रुपैयाँ घटेर २ सय ५० रुपैयाँसम्म आएको छ।

अहिले बजारमा सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँ रहेको छ। ब्रान्ड अनुसार कतिपय खानेतेलको मूल्य २ सय ५० रुपैयाँसम्म पुगेको छ। त्यस्तै, भटमासको तेलको मूल्य २ सय १० रुपैयाँ रहेको छ। 

बजारमा सबैभन्दा महँगो धारा तोरीको तेलको मूल्य प्रतिलिटर २ सय ६० रुपैयाँबाट ३ सय १० रुपैयाँसम्म पुगेको थियो। पछिल्लो समय यसको मूल्यमा थोरै गिरावट आएको छ। 

एक वर्षअघि सूर्यमुखी तेलको मूल्य प्रतिलिटर १ सय ८५ रुपैयाँ, भटमासको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ र धारा तेलको मूल्य २ सय ६० रुपैयाँ रहेको थियो। गत माघमा पनि सूर्यमुखी तेलको मूल्य प्रतिलिटर २ सय २० रुपैयाँ र भटमासको मूल्य २ सय १० रुपैयाँ पुगेको थियो। 

खानेतेलको मूल्य एक वर्षमा एक सय रुपैंयाँले महँगो भएको छ। यस अवधिमा सबैभन्दा बढी भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको मूल्य १ सय ७५ रुपैयाँसम्म महँगो भएको छ। 

नेपाल खुद्रा व्यापार संघका अनुसार २०७५ साल असारदेखि अहिलेसम्म भटमास र सूर्यमुखी तेलको मूल्य प्रतिलिटर क्रमशः १ सय ३५ र १ सय ४५ रुपैयाँ रहेको थियो। २०७७ माघमा सो मूल्य २ सय ३५ रुपैयाँसम्म पुगेको तथ्यांकमा उल्लेख छ। 

२०७५ सालदेखि २०७८ साल असारसम्म भटमास तेलको मूल्य क्रमशः १ सय ३५, १ सय ६०, २ सय ३५ र ३ सय ५० रहेको थियो। अहिले मूल्य घटेर २ सय १० रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ। सोही अवधिमा सनफ्लावर तेलको मूल्य क्रमशः १ सय ४५, १ सय ६० ,२ सय ३५,२ सय ७५ रहेको थियो। अहिले मूल्य घटेर २ सय २० रुपैंयाँमा कारोबार भएको छ।

पछिल्लो एक वर्षमा तोरीको तेल, भटमासको तेल र सनफ्लावर तेलमा एक सय रुपैयाँसम्म मूल्यवृद्धि भएको जनाएको छ। संघले खानेतेलको मूल्य अत्यधिक बढेको भन्दै वाणिज्य विभागमा उजुरी दिएको थियो। उजुरी परेपछि विभागले तेल उत्पादकलाई मूल्यवृद्धि हुनुको कारण पेस गर्न भनेको थियो।

कारण पेस गरेका २० उद्योगमध्ये विभागले ३ उद्योगलाई बिनाकारण तेलको मूल्यवृद्धि गरेको भन्दै कारबाहीसमेत गरेको थियो।

उपभोक्ता अधिकारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकार उपभोक्ताप्रति उत्तरदायी नहुँदा महँगी बढ्दै गएको बताए।

एक वर्षमा खानेतेलमा एक सय ७५ रुपैयाँसम्म मूल्य बढे पनि सरकारले कसैलाई कारबाही नगरेको उनको भनाइ छ।उपभोक्ता मञ्चले खानेतेलको मूल्य बढेपछि  यसबारे पटकपटक आवाज उठाए पनि सरकारले नसुनेको उनले गुनासो गरे।

तरकारीमा चर्को मूल्यवृद्धि
पछिल्लो समय बजारमा तरकारीको मूल्यमा उच्च वृद्घि भएको छ। निषेधाज्ञा अवधिमा केही मूल्य घटेको भए पनि निषेधाज्ञा खुकुलो भएसँगै मूल्य उच्च रुपमा बढेको हो। 

कालीमाटी तरकारी बजारका अनुसार यस साता गोलभेडाको औसत मूल्य ५५ रुपैंयाँ छ। बाहिर बजारमा ७० देखि ८० रुपैँयाँसम्म रहेको छ। ५५ रुपैयाँ रहेको बन्दाकोभीको खुद्रा मूल्य ८० रुपैँयाँसम्म पुगेको छ। स्थानीय काउलीको औसत मूल्य ८५ रुपैँयाँ प्रति केजी छ। तर, बजारमा १ सय ५० रुपैँयामा बिक्री भइरहेको छ। 

मासुको मूल्य चार सयभन्दा बढी 
निषेधाज्ञाको समयमा एक्कासि घटेको कुखुराको मासु निषेधाज्ञा खुकुलो हुँदै जाँदा बढ्न थालेको छ। कुखुरा उत्पादन घटेको र बजारमा खपत बढ्दै गएकाले मूल्य बढेको व्यवसायीले बताएका छन्। 

उनीहरूका अनुसार बजारमा मासुको आपूर्ति कम भएकाले भाउ आकाशिन थालेको छ। अहिले होलसेलमै मासुको मूल्य ३ सय रुपैँयाँभन्दा बढी छ। खुद्रा पसलमा मासुको मूल्य  ४ सय २० रुपैंयाँसम्म पुगिसकेको छ। मासुको मूल्य अझै बढ्नसक्ने अनुमान व्यवसायीको छ।

Logo