दशैंको मुखमा पनि मूख्य बजार सुनसान, अनुगमनमा कडाई (भिडियोसहित)

दशैंको मुखमा पनि मूख्य बजार सुनसान, अनुगमनमा कडाई (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चाडपर्व नजिकिदै गर्दा काठमाडौंका मूख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । मंगलार साँझ न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारमा पुग्दा सुनसान देखिएको हो ।

केही पसलहरु खुलेको देखिए पनि अधिकांश पसलहरु बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका थिए । खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लगायतका बजारमा सुनसान देखिएको छ । विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरु पनि निरास बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसैपनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् ।

त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारीहरुको गुनासो छ । ठमेल क्षेत्र आन्तरिक ग्राहक भन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकिय क्षेत्र भएपनि यसवर्ष पर्यटकहरु नै देख्न पाइदैन । त्यसैले पर्यटकलाई लक्षित गरि खोलिएका पसलहरु पनि प्राय बन्द हुने गरेको देखिएको छ । कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएका छैनन् यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ ।

त्यस्तै यता काठमाडौं महानगरपालिकाले चाडपर्व नजिकिंदै गर्दा उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिन थालेको छ । महानगरले दशैं तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिदै अनुगमनलाई तिब्रता दिएको हो । महानगरले बुधबार काठमाडौंको नक्साल, कालो पुल लगायतका ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नक्साल स्थित बिगमार्टमा केही कमिकमजोरी पाइएकाले सचेत गराइएको अनुगमनमा रहेका महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए । त्यसबाहेक कालोपुल स्थित एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको सामानहरु राखिएको अवस्थामा फेला परेको उनले बताए । उक्त मार्टलाई दुई महिना पहिले पनि सोही सामान राखेको भनि वाणिज्य विभागले कारबाही गरेको पाइएकोले एक साताभित्र विस्तृत विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उनले बताए । उक्त सामग्रीको व्यवस्थापन छिटो गर्न नसके पुनः कारबाहीको प्रक्रियामा जाने पनि उनको भनाइ छ ।

यस्तै अनुगमनमा रहेका उपभोक्ताकर्मी माधव तिमल्सिनाले दशैं तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु विक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तिब्रता दिनुपर्ने बताए । जहाँ म्याद सकिएका सामग्री फेला पर्छन् त्यहिं नै नष्ट गर्ने गरी बजार अनुगमन गरिनुपर्ने उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारबाहीका लागि सिफारिस गर्दै आएको छ । तर निकट भविष्यमै आफ्नै कार्यविधि, निर्देशिका र नियमावली ल्याई बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताए ।

Skip This
Skip This
Logo