सरकारले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने

सरकारले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने


ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताएकी छिन्।

सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिवीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारीसमेत दिइन् । मन्त्री भुसालले गरिवीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारेपनि निर्णय भने भइनसकेको स्पष्ट पारिन्। “यो मेरो निर्णय नभई अवधारणा हो।” उनले भनिन्, “निर्णय गरेपछि यहाँहरुलाई फेरी बोलाउनेछु।” मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारिन् । आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत महसुल सस्तो गरेर जान उपयुक्त हुने उनको भनाइ थियो।

मन्त्री भुसालले विद्युत उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताइन्। त्यसैगरी उनले ट्रान्समिसन लाईन निर्माणको काममा तीव्रता दिने पनि बताइन्। मन्त्री भुसालले कृषियोग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुको विकल्प नरहेको पनि उनले बताइन्। मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतका आधारभूत बस्तुको सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोच बनाएको स्पष्ट पारिन्।

मन्त्री भुसालले जलविद्युत आयोजना प्रभावित क्षेत्रमा देखिएको जग्गाको मुआब्जा लगायतका समस्या समाधान गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीसमेत दिइन्। जलविद्युत आयोजनाहरु जग्गाको मुआब्जाका कारण अघि बढ्न नसकेको अवस्थाको अन्त्य गर्न आफू लागि पर्ने उनले बताइन्। 

Logo