निगम महाप्रवन्धक पौडेललाई तत्काल बर्खास्त गर्न कर्मचारीद्वारा प्रधानमन्त्रीसँग माग

निगम महाप्रवन्धक पौडेललाई तत्काल बर्खास्त गर्न कर्मचारीद्वारा प्रधानमन्त्रीसँग माग

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमको कर्मचारी संघ तथा आधिकारिक ट्रेड युनियनले निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । 

बिहीबार ट्रेड युनियन तथा कर्मचारी संघले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै बर्खास्तको माग गरेका हुन् । त्यस्तै,उनीहरुले निगममा सरकारी लगानी बढाउनसमेत माग गरेका छन्। 

निगमका कर्मचारी संघ तथा ट्रेड युनियन विगत ३४ दिनदेखि सञ्चालक समितिले तयार गरेको निगमलाई कम्पनी मोडलमा लैजाने प्रबन्धपत्रको खारेजी र महाप्रबन्धकको राजीनामाको माग गर्दै आन्दोलनरत छन् । 

त्यस्तै विश्वका अन्य देशहरूले आफ्नो ध्वजावाहकलाई विशेष प्राथमिकतामा राख्दै आर्थिक सहयोग उपलब्ध गराएझैं निगमलाई पनि सरकारले आर्थिक सहायता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । 

आन्दोलनको महिना दिन बितिसक्दा पनि तालुकदार मन्त्रालय बेखबर र उदासीन हुनुले निगम सरकारबाटै उपेक्षित भएको उक्त ज्ञापनपत्रमा जनाइएको छ । 

कर्मचारी संघ र ट्रेड युनियनले निगम निजीकरण गर्ने निर्णय खारेज गर्नुपर्ने, महाप्रबन्धकलाई बर्खास्त गर्नुपर्ने, महाप्रबन्धकको ३ सय प्रतिशत तलब वृद्धि खारेज गर्नुपर्ने र सञ्चालक समितिमा निगमको व्यवसायिक स्वार्थ बाझिने संस्थासँग आबद्ध व्यक्तिको नियुक्ति पनि खारेजीको माग गरेका छन् । 

खर्च कटौती गर्ने भन्दै अरु कर्मचारीको तलब कटौती गरेका महाप्रबन्धकले आफ्नो तलब भने ४ लाख पुर्याउने प्रस्ताव गरेका थिए । निगम सञ्चालक समितिले कर्मचारीसँगको छलफल बिना नै कम्पनीकरणको प्रबन्धपत्र तालुकदार मन्त्रालय पठाएको उनीहरुको आरोप छ । 

कर्मचारीहरूले महाप्रबन्धक पौडेललाई हवाई माफियासँगको संगठनबाट निगमलाई कम्पनीकरण गर्ने नियोजित मनसाय भएको आरोप लगाउँदै आएका छन् । 
 

Logo