कोरोनाले तयारी पोशाक निर्यातमा समस्या, छैन जोखिम मोल्ने जाँगर

कोरोनाले तयारी पोशाक निर्यातमा समस्या, छैन जोखिम मोल्ने जाँगर

केन्द्रबिन्दु
0
Shares

कोरोनाका कारण सुनसरीका तयारी पोशाक उद्योग समस्यामा परेका छन्।

तेस्रो मुलुकबाट पर्याप्त मात्रामा अर्डर नआउने र आएपनि कोरोनाका कारण असहज परिस्थितिले निर्यातमा समस्या देखिएको उद्योगले जनाएको छ ।  पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसन प्रालि खनारले पहिलो चरणको लकडाउन सुरु भएयता कम्पनीको उत्पादन क्रमशः घट्दो क्रममा रहेको जनाएको छ । 

उद्योगका एक्सपोर्ट डिभिजन म्यानेजिङ डाइरेक्टर निमेश प्रधानका अनुसार कोरोनाका कारण उद्योगले कच्चा पदार्थ आयातमा समेत कठिनाईको सामना गरिरहनु परेको छ । तेस्रो मुलुकबाट अर्डर निकै कम मात्रामा आउने गरेकाले समेत उद्योग संचालनमा चुनौती बढेको प्रधानको भनाई छ । 

तयारी पोशाक उद्योगसँगै सुनसरीको खनारमै रहेको बिस्कुट उद्योगले समेत कोरोनाका कारण राम्रो बजार पाउन नसकेको जनाएको छ । बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्दै आएको एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिले  विद्यालय, कलेज बन्द रहँदा उत्पादन कटौतीको सामना गर्नु परिरहेको जनाएको छ । कोरोनाका कारण माग कम हुँदा उद्योग पूर्ववत अवस्थामा सञ्चालनमा आउनै नसकेको उसले जनाएको छ । 

पटक–पटकको लकडाउन झेलेका उद्योगले पछिल्लो समय तेस्रो लहरको जोखिम बढेकाले समेत उत्पादन बढाएर जोखिम मोल्ने अवस्थामा छैनन् । रासस

Logo