प्रत्येक प्रदेशमा जलाशययुक्त आयोजना बनाइनेः पम्फा भुसाल, ऊर्जा मन्त्री

प्रत्येक प्रदेशमा जलाशययुक्त आयोजना बनाइनेः पम्फा भुसाल, ऊर्जा मन्त्री

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने जानकारी दिएकी छन्।

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले प्रदेश नं. १ मा दुधकोशी र तमोर आयोजना अघि बढाउन लागेको जनाइन्। प्रदेश नं. २ मा ऊर्जाबाट विद्युत उत्पादन तयारी गरिएको, बागमतीमा कुलेखानी र सुनकोसी– ३, गण्डकी प्रदेशमा बुढीगण्डकी, लुम्बिनी प्रदेशमा नौमुरे, माडी, कर्णालीमा नलगाड र सुदुरपश्चिममा सेती जलविद्युत आयोजना उत्पादनको काम अगाडी बढाउने उनले जानकारी दिइन्। 

निर्माणाधिन प्रसारण लाइनहरु तोकिएको समयमा सम्पन्न गर्न आवश्यक संयन्त्र बनाएर अनुगमनको कामलाई अगाडी बढाएर समयमै त्यसलाई सम्पन्न गर्ने र समयमै गुणस्तरीय काम गर्नेलाई पुरस्कार तथा नगर्नेलाई दण्ड गर्ने कार्ययोजना रहेको पनि मन्त्री भुसालको भनाइ थियो।

मन्त्री भुसालले कालीगण्डकी, मस्र्याङ्दी, कोशी, दोर्दी, चिलिमे, खिम्ति–काठमाडौं, मस्र्याङदी–काठमाडौं आदि करिडोरका प्रशारण लाइनहरु सम्पन्न गर्ने, इनरुवा–ढल्केवर–हेटौँडा ४०० केभि लाइन निर्माण सम्पन्न गर्ने, बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेती कोरिडोर, कोशी कोरिडोरको ४०० केभि प्रसारण लाइन निर्माणका लागि अगाडि बढाउने पनि बताइन् । 

त्यस्तै सबै जिल्लामा २ वर्षभित्र पूर्ण रुपमा विद्युतीकरण गर्ने, राष्ट्रिय प्रसारण लाइन भौगोलिक कारणले पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जाद्वारा विद्युतीकरण गर्ने मन्त्री भुसालले जानकारी दिइन् । 

हाल १६.९३ प्रतिशत चुहावट रहेको, त्यसलाई १४ प्रतिशतमा झार्ने, २० युनिटसम्म बत्ति बाल्ने विपन्नलाई निःशुल्क विद्युत दिने, त्यस्तै किसानलाई सिँचाइमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ । 

यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभी ड्युटीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहका कार्यालयले विद्यतीय गाडी खरिद गर्ने पनि मन्त्री भुसालले जानकारी दिइन्।
 

Logo