काभ्रेका करदाता भन्छन्, ‘करदाता शिक्षाविना नै कर तिरिरहेका छौँ’

काभ्रेका करदाता भन्छन्, ‘करदाता शिक्षाविना नै कर तिरिरहेका छौँ’

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–११ का होमस्टे (घरबास) व्यवसाय सञ्चालन गर्दै आएका गोविन्द हुमागाईंले होमस्टे भनेको नै के हो भन्ने विषयमा कर कार्यालयका कर्मचारीलाई नै थाहा नहुँदा व्यवसाय दर्ता गर्ने बेलामा धेरै दुःख पाएको बताए ।

होमस्टे व्यवसाय बागमती प्रदेशका अध्यक्षसमेत रहेका उनले घरमा बसेर पाहुनालाई दिने सेवाका रुपमा घरका आमा, दिदीबहिनीले सेवा प्रदान गरेबापत फाइदा लिने गरेको पछिल्लो समयमा पर्यटन विकासको माध्यम बनेको यो व्यवसाय दर्ता गरी सञ्चालन गर्ने क्रममा त्यसबारेमा राम्रोसँग बुझ्ने कर्मचारी नहुँदा व्यवसायीले समस्या झेल्नु परेको बताए ।

“हामी होमस्टे दर्ता गर्न जान्छौँ, कार्यालयमा पुग्दा कसैले लज हो भनेका छन्, कसैले गेष्ट हाउस हो भनेका छन्”, उनले भने, “त्यसरी सञ्चालन गर्दै आएको साना व्यवसायलाई बढी मात्रामा राज्यले कर लिने गरेको छ ।” विदेश जाने छोराछोरीलाई घरतिर नै अल्मलाएर घरको आमाले सञ्चालन गरेको घरबास व्यवसाय जसले परिवारको आयआर्जन बढाएको छ, आमाको चुलोबाट दिएको व्यवसायलाई करको दायरामा जान त तयार छौँ, तर दर्ता प्रक्रियामा जाँदा धेरै दुःख खेप्नुपर्ने अवस्था भएकाले त्यसलाई व्यवस्थापन गर्न उनले आग्रह गरे । “दर्ताको प्रक्रियामा जाँदा कुनै पनि विधि प्रक्रिया थाहा नहुने र व्यवसाय सञ्चालन गर्नेहरुले दर्ता गर्न जाँदा कन्सल्टेन्सीको माध्यमबाट जानुपर्दा धेरै रकम बुझाउनुपर्ने झन्झट भएका कारण त्यसलाई राज्यको निकायबाट दिने सेवालाई सहज बनाउन आवश्यक छ”, उनले भने ।

कार्यालय जाँदा कुरा पनि राम्रोसँग नबुझाउने र धेरै लाइन बस्नुपर्ने समस्याका कारण पनि अर्को दुःख पाउने गरेको गुनासो उनको छ । नमस्ते सामुदायिक होमस्टे पनौतीका सञ्चालक सङ्गीता श्रेष्ठले नगरपालिकाले अझै पनि होमस्टेका बारेमा नबुझेको र फरक÷फरक व्यवहार गरेको बताइन् । एउटै प्रकृतिको होमस्टेलाई पाँच सयदेखि दुई हजार ५०० सम्म लिने गरेको भन्दै सबैलाई एकरुपतामा ल्याएर समान व्यवहार नगरेको उनको आरोप छ । “यसै आर्थिक वर्षमा तिरेको करमा कसैलाई रु ५०० देखि रु दुई हजार ५०० सम्म लिएको पाएँ”, उनले भने, “मैले दुई हजार एक सय तिरेँ ।” त्यसरी फरकफरक गरी लिनेभन्दा पनि एकरुपता ल्याउन नगरपालिकाको नीति बनाउन आवश्यक रहेको उनले सुझाए ।

अर्का व्यवसायी रमेशचन्द्र कर्माचार्यले व्यवसायीहरुको पसलमा छापा मारेर जरिवाना गर्नुको सट्टा गल्ती गर्नेलाई तालीम दिन आग्रह गरे । “कतिपयले नजानेर, नियम थाहा नभएर वा प्रक्रिया नबुझेर गल्ती गरिरहेको हुनसक्छ”, उनले भने, “बरु शुरुमा एक÷दुईपटक गल्ती गरेको भेट्नेहरुलाई तालीम दिनुस् ।”

करको दायरामा ल्याएर नियमितरुपमा व्यवसाय पनि चल्ने र कर पनि तिरिरहने व्यवस्था गरेको खण्डमा काम गरेर खाने मान्छेलाई पनि सहज वातावरण हुने र राज्यलाई कर लिइरहन पाउने वातावरण निर्माण हुने उनको भनाइ छ । पनौती नगरपालिका–४ का बोर्डिङ स्कुल सञ्चालक पूर्णकुमार श्रेष्ठले कर तिर्न जाने बेलामा बढी भीडभाड भएर असहज हुने गरेको बताए । “लेखा परीक्षकका अनुसार काउन्टरमा पुगेर कर तिर्ने गर्छौं तर शाखामा पुग्दा यो भएन, त्यो भएन भन्दै समस्या थोपरिएको हुन्छ”, उनी थप्छन्, “त्यस्तो किन र कसरी हुन्छ ?” त्यस्ता प्रक्रियाका बारेमा करदातालाई प्रस्ट पार्ने विधि र नीति ल्याएमा सहज हुने उनको भनाइ छ । कन्सल्टेन्सी नभईकन कर तिर्न नसक्ने भएकाले त्यसको अन्त्य र सहजीकरण कहिले हुन्छ भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्नेमा उनले जोड दिए । ठूला व्यवसायले कर नतिर्दा पनि हुने र साना व्यवसायीले चाहिँ अनिवार्यरुपमा तिर्नै पर्ने बाध्यात्मक स्थिति भएको भन्दै सबैलाई एउटै व्यवस्था र व्यवहार गर्नुपर्ने उनले बताए ।

सम्बन्धित निकायले अनुगमन गर्दा शक्तिको खेलमा लागेर कसैलाई कम र कसैलाई बढी जरिवाना गर्ने गरेको गुनासो धेरै पाइएको भन्दै त्यसतर्फ ध्यान दिन उनको आग्रह छ । बेथानचोक गाउँपालिका–३ का दिलबहादुर श्रेष्ठले खरीद गरेको सामान कम दरमा हुने र ज्यालासहित जोडेर बिक्री गर्दा अलि बढी दरमा हुने भएकाले भ्याट बिलमा समस्या देखिने गरेको कारण राजश्व तिरिरहँदा पनि छल गरेकोजस्तो देखिने आरोप आउने गरेको भन्दै त्यसको लागि एकरुपता ल्याउने विधि बनाउने उपाय के हुनसक्छ भन्ने जिज्ञासा राखे ।

पनौती नगरपालिका, पनौती उद्योग वाणिज्य सङ्घ र आन्तरिक राजश्व कार्यालय धुलिखेलको संयुक्त आयोजनामा सोमबार काभ्रेपलाञ्चोकको पनौतीमा आयोजना गरिएको कर सचेतना तथा अभिमुखीकरण कार्यक्रममा करदाताहरुको जिज्ञासा र गुनासोलाई सम्बोधन गर्ने प्रयास गरिएको थियो । सो क्रममा आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले ठूला व्यवसायीहरुलाई कर तिर्न झन्झट नहुने र सानालाई बढी समस्या हुने गरेकामा अब सुधार गर्न सहजीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । “कर तिर्ने विषयमा नबुझेको र थाहा नभएको कुरा भएमा हामीलाई कार्यालयमा आएर सोध्नुस्, हामी त्यसको समाधान गर्दै बुझाउनेछौँ”, उनले भने, “त्यसका लागि सहजीकरणका लागि उद्योग वाणिज्य सङ्घलाई पनि सहयोग गर्न आग्रह गर्छु ।”

व्यवसायीहरुले लिएको स्थायी लेखा नं राख्न आग्रह गर्दै अनुमगनका क्रममा त्यसो नगरेको पाइएमा जरिवाना लाग्ने विषयमा उनले करदाताहरुलाई सचेत गराए । उनले जुनसुकै प्रकारका व्यवसायले आफ्नो कारोबारको हिसाब लिखितरुपमा दुरुस्त राख्नैपर्नेमा जोड दिए ।

पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापाले करदाता शिक्षाको कमीका कारण करदाताहरुले धेरै समस्या झेलिरहेको कारण कर सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले करको दरलाई बढाउनेभन्दा पनि करको दायरालाई बढाउनुपर्ने विषयमा नगरपालिकाले सोचेर कदम चाल्ने बताइन् । उनले भनिन्, “म नगरपालिकाको राजश्व परामर्श समितिको संयोजक भएका कारण नगरभित्र विगतमा भन्दा व्यवसायीहरुलाई व्यवसाय दर्ता गर्ने काममा निकै सहज बनाउँदै लगेको छ ।” रासस

Skip This
Skip This
Logo