चीनबाट आउँछ बर्सेनी ५० लाखभन्दा बढीको जनै

चीनबाट आउँछ बर्सेनी ५० लाखभन्दा बढीको जनै


केही वर्षयता चीनबाट बर्सेनी ठूलो परिमाणमा जनै आयात हुन थालेको छ। 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंका अनुसार पछिल्लो समय हरेक वर्ष करिब ५० लाखको जनै चीनबाट आयात हुने गरेको छ। ‘नेपालमा एक वर्षमा कम्तीमा पनि  १० लाख पूजा हुने गरेको छ,’ बजगाईंले भने, ‘ एउटा पूजामा ५ रूपैयाँ बराबरको जनै प्रयोग हुँदा चीनबाट वार्षिक रूपमा ५० लाख रुपैयाँको जनै आउँछ।’

चीनबाट नेपालमा आएको जनै मानिसले लगाउनेभन्दा पनि पूजाआजाका लागि मात्रै प्रयोग हुने गरेको छ। चीनले जैन बनाउँदा विधि पुर्याएको हुदैन। तर, पूजाआजाका लागि  दुई रुपैयाँसम्ममा पाइने हुँदा चाइनीज जनैको माग बढ्दै गएको बजगाईंको भनाइ छ।

तर, विदेशमा मेसिनमा बनेका जनैलाई निरुत्साहित गरेर नेपाल जनैमा आफै आत्मनिर्भर बन्नुपर्ने सांस्कृतिक अध्येता बताउँछन्। 

जरोकिलो प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीप्रसाद पोखरेल भन्छन्, ‘चीनले आफ्नो लागि भन्दा पनि अन्य मुलुकमा केको माग बढी छ भनेर त्यहीअनुसार व्यापार गर्छ, त्यही हेरेर चीनले नेपालमा जैन निर्यात बढाउन लागेको छ।’

जरोकिलो प्रतिष्ठानले जनै तथा रक्षाबन्धन समेत भारत तथा चीनबाट आयात हुन थालेको र नेपालको मौलिक जनै लोप हुने भन्दै जनै परम्परागत ढंगबाट यहीँ व्यावसायिक रूपमा उत्पादन हुनुपर्ने बताउँदै आएको छ। 

पछिल्लो समय एकदेखि दुई रुपैयाँसम्ममा बजारमा चिनियाँ जनै पाइन थालेको छ। बजारमा सस्तो जनैको माग बढेको भक्तपुरमा पूजा पसल गर्दै आएका सन्तोष घिमिरे बताउँछन्।

उनले वार्षिक जनैको मात्रै १० देखि २० लाखसम्म व्यापार गर्दै आएका छन्। नेवारी समुदायले पनि जनै बनाएर बजारमा ल्याउने गरेका छन्। त्यस्ता जनैको पनि बजारमा माग रहेको छ। 

त्यस्तै, भक्तपुर कौशलटारमा पूजा पसल गर्दै आएकका चित्रबहादुर घिमिरेले पछिल्लो समय विधिभन्दा पनि फेसन बढेकाले साना जनै आउने गरेका बताए। बजारमा भारत तथा चीनबाट समेत जनै आउने भएकाले नेपाल आफै जनैमा आत्मानिर्भर बन्नुपर्ने उनको धारणा छ।

अहिले जनै मात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धन अर्थात् डोरो पनि भारत र चीनबाट रेडिमेड नै आउने गरेको छ। पछिल्लो समय धार्मिक कर्मकाण्ड गर्नेले पनि काँचो धागो किनेर रक्षाबन्धन बनाउने झन्झट गर्न छाडेर विदेशबाट रंग्याएर आयात गरिएको डोरो किनेर जजमानको हातमा लगाइदिने गरेका छन्। 

काँचो धागोलाई रातो वा पहेलो रंगमा रंगाएपछि नारायण कवचसमेत पाठ गरेर रक्षाबन्धन पूजा गरिन्छ। त्यसपछि विवाह, ब्रतबन्ध र पूजामा गुरु–पुरोहित वा जजमानको हातबाट डोरो बाँध्ने नेपाली चलन रहेको छ।

यद्यपि, यो विधि पूरा गर्नुपर्ने रक्षाबन्धनसमेत विदेशबाट आयात भइरहेको छ। धेरैले विदेशबाट आयातित धागो नाडीमा बाँधेर रक्षाबन्धनको औपचारिकता पूरा गरे पनि त्यो शास्त्रसम्मत नहुने र त्यसबाट फल पनि प्राप्त नहुने जरोकिलो प्रतिष्ठानका कार्यवाहक अध्यक्ष पोखरेल बताउँछन्।

जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बी सबैले दाहिने हातमा डोरो लगाउँछन्। रक्षाबन्धन मानव जाति सबैले लगाउनुपर्ने शास्त्रीय मान्यता छ। रक्षाबन्धन जनैपूर्णिमाको दिन मात्र होइन, विवाह, व्रतबन्ध, नामकरण, होम, आदि कर्ममा वैदिक मन्त्रोच्चारणसहित विधिपूर्वक लगाइन्छ।

Logo