भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्नेमा अर्थमन्त्रीको जोड

भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्नेमा अर्थमन्त्रीको जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून विजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् ।

यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि बताए । निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुई मध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने बताए । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे। यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्न समेत माग गरे। भन्सार प्रणालीलाई सधुार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिन समेत आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए। त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन माग गरे।

भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा वस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यस्तै भ्याटको दर, आयकरको दर लगायतका करका दरहरु घटाउन समेत माग गरे।

Logo