नाडाद्वारा ट्राफिक प्रहरीलाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

नाडाद्वारा ट्राफिक प्रहरीलाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले महानगरिय ट्राफिक प्रहरी महाशाखालाई ५०० सय थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ ।

नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्याम अधिकारीसँग भेटी राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्याहरु र त्यसको निराकरण बारे विस्तृत छलफल समेत गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले आफ्नो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गरेका थिए । भेटघाट तथा छलफलमा महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक श्याम अधिकारीले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै ट्राफिक व्यवस्थापनमा सजह हुने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताए ।

छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुँदै आएको सहकार्य बारे चर्चा गरे । उनले महानगरिय ट्राफिक प्रहरी महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंसा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।

छलफलपछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता श्याम अधिकारीलाई ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुन ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेका छन् ।

विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल, कुर्सी, ट्राफिक चिन्ह बोर्ड प्रदान गर्दै आएको नाडाले जानकारी दिएको छ । नाडाले २०६७ सालदेखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्रसहित प्रोत्साहन स्वरुप जनही २५,०००/-पच्चिस हजार रुपियाँ प्रदान गर्दे आएको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत नाडाका उपाध्यक्ष करण चौधरी, उपाध्यक्ष आकाश गोल्छा महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानियासमेतको उपस्थिति रहेको थियो ।

Logo