शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न छन् । उनी बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध सङ्कलन गरी बिक्री गर्दै आएको छ । दूध बिक्री गरी आएको आम्दानीले बोहराको परिवारको खर्च चल्दै आएको छ ।
गर्मी मौसममा ३०० र चिसोमा २६० लिटर दूध सङ्कलन हुने गरेको छ । सङ्कलित दूधका क्यान मोटरसाइकलमा राखेर झलारी बजारबाट महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । दूध बिक्री गरेर मासिकरूपमा बोहराले ३० हजार आम्दानी हात पार्ने गरेको बताए ।
उनी सङ्कलित दूध ११ बजेसम्म बजार लगेर बिक्री गरी घर फिर्ता हुने गरेको छ । दिउँसोको बाँकी समय घरमै खोलिएको किराना पसलमा उनले बिताउने गरेको छ । गाईको दूध ४० र भैँसीको दूध ४५ प्रतिलिटरमा पशुपालकबाट खरिद गरी बजारमा ५० प्रतिलिटरका दरले बिक्री गर्ने गरेको छ ।
दूध बिक्रीबाट आएको पैसाले तीन कठ्ठा जग्गा, पाँचकोठे पक्की घर निर्माणसँगै सहकारीको सेयरमा बोहराले लगानी गरेको छ । उनले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन् । दूधको कारोबारमा लागेका बोहरा यसमै भविष्यका सपना बुन्नमा लागेका छन् । आफ्नै दुग्ध उद्योग खोलेर आम्दानीलाई बढाउने उनको योजना छ ।
शुक्लाफाँटा नगरपालिका क्षेत्रमा १० जनाले घरघरमा पुगेर उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री गर्दै आएका छन् । दैनिक नगरपालिका क्षेत्रबाट तीन हजार ५०० लिटर दूध सङ्कलन हुने गरेको छ । नगरपालिकामा भने झण्डै आठ हजार लिटर दूध उत्पादन हुने गरेको अनुमान छ ।































प्रतिक्रिया