काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारलाई ऋणको आवश्यकता नपरेकाले आन्तरिक ऋण उठाएको थिएन । अब विस्तारै सरकारलाई विभिन्न क्षेत्रमा लगानी तथा विकास निर्माणका कामका लागि ऋणको आवश्यकता परेकाले सरकारले ऋण उठाउन सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकमार्फत सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने स्वीकृति दिएको छ । सोहीअनुसार राष्ट्र बैंकले ऋण उठाउन सुरु गरेको हो । यहि असोज ११ गते राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको थियो । यसको ब्याज दर बोलकबोलबाट निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार कात्तिकसम्म सरकारले ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ । पछिल्लो समय कोरोना भाइरसका कारण लगानी प्रभावित हुँदा बैंकिङ प्रणालीमा २ खर्बभन्दा बढी लगानी योग्य रकम (तरलता) थुप्रिएको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त रकम भएकाले ब्याजदर पनि सस्तो भएको छ । यस्तो अवस्थामा ऋण उठाउँदा सरकारलाई सस्तो पनि पर्न जानेछ । कात्तिकसम्म ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल तथा ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र उठाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार मंसिरदेखि फागुनसम्म ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने भएको छ । जसमा १३ अर्ब ५० करोड ट्रेजरी बिल र ४० अर्ब रुपैयाँ विकास ऋणपत्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र रहेको राष्ट्र बैंकको तालिकाले देखाएको छ । बाँकी ऋण असार मसान्तसम्म उठाउने राष्ट्र बैंकले जनाएको छ । त्यसबेलासम्म १ खर्ब १२ अर्ब उठाउने सरकारी योजना रहेको छ । साथै तेस्रो चौमासिकसम्मा ४९ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँको विकास ऋणपत्र, २ अर्बको नागरिक बचत पत्र तथा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गरिने राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र १० वर्ष अवधिसम्मको जारी गरिने छ । राष्ट्र बैंककाअनुसार ४० अर्ब रुपैयाँ बरारको नौ वर्ष समयावधिको तथा अर्को ४० अर्ब रुपैयाँ बराबरको १० वर्ष समयावधिको ऋणपत्र जारी गरिनेछ ।






























प्रतिक्रिया