झापामा पाँच प्रतिशत धानमा पूर्णरूपमा क्षति, गत वर्षको तुलनामा उत्पादन भने नघट्ने

झापामा पाँच प्रतिशत धानमा पूर्णरूपमा क्षति, गत वर्षको तुलनामा उत्पादन भने नघट्ने

केन्द्रबिन्दु
0
Shares

झापामा बेमौसमी वर्षाले पाँच प्रतिशत धानमा पूर्ण क्षति पुर्‍याएकाे छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा कुल धान खेतीको पाँच प्रतिशत क्षति भएको हो। 

झापामा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइएको थियो। जसमध्ये चार हजार ३५० हेक्टर क्षेत्रफलको धान पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए। ‘यो गौरीगञ्ज–१ मा धेरै छ। धान खेतीमा बालुवा छ अहिले,’ उनले भने, ‘माई नदी बगिरहेको छ।’ 

यस्तै, झापामा पूर्ण क्षति पाँच प्रतिशत, मध्यम आठ प्रतिशत, आंशिक पाँच प्रतिशत गरी १६ प्रतिशत बालीमा क्षति भएको उनले बताए। यद्यपि धान उत्पादनमा भने गत वर्षको तुलनामा कमी नआउने कृषि ज्ञान केन्द्रको अनुमान छ। गत वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चार लाख २० हजार मेट्रिक्टन धान उत्पादन भएको थियो। 

यसपटक पनि यो परिमाणमा खासै तलमाथि नआउने ज्ञान केन्द्र प्रमुख सिंहले जानकारी दिए। ‘यसपटक लगाएको धानको १८ प्रतिशतमा बेमौसमी वर्षाले असर गरे पनि उत्पादन खासै घट्दैन। गत वर्ष प्रति हेक्टर चार दशमलव आठ मेट्रिक्टन उत्पादकत्व थियो। यसपटक प्रति हेक्टर पाँच मेट्रिक्टन हुने अनुमान छ,’ उनले भने, ‘मैले सबै फिल्ड आफैँ हेरेको छु। धान राम्रो फलेको छ। एक दुई प्रतिशत कम भए पनि उत्पादनमा खासै कमी आउँदैन।’  तर, क्षति भएका किसानलाई भने मर्का परेको छ।

गौरीगञ्ज–१ हुकलबारीका कृषक हरि थेबेले पाँच विगाहा क्षेत्रफलमा धान, आलुलगायत बाली लगाएका थिए। तर, उनको खेतमा अहिले माई नदीको एउटा भंगालो कुदिरहेको छ। ‘हाम्रो त मुख्य पेसा नै कृषि हो। यहाँका एक सय परिवार कृषिमै निर्भर छन्,’ उनी भन्छन्, ‘हाम्रो त जागिर भनेकै यही खेती हो। तर, सबै माई नदीले बगायो। अब एक वर्ष के खाएर बस्ने? खेती गर्दाको ऋण कसरी तिर्ने ?’

जिल्लाको उत्पादनमा ठूलो क्षति नभए पनि बाढीले क्षति पुर्‍याएको क्षेत्रका धानबाली लगाउने व्यक्तिलाई भने ठूलो क्षति भएको ज्ञान केन्द्र प्रमुख सिंहले बताए। ‘गत वर्षको भन्दा उत्पादनमा त फरक नआउला। तर, व्यक्तिगत रूपमा चार हजार ३५० हेक्टर क्षेत्रफलमा खेती गर्ने किसानलाई ठूलो क्षति भएको छ,’ उनले भने, ‘हामीले लगत संकलन गरेका छौँ। केन्द्र सरकारको प्रतिनिधि कर्मचारीसँग बसेर नै यो डाटा बनाएका हौँ। हामी केन्द्र र प्रदेश दुवै सरकारसमक्ष पुर्‍याउने छौँ।’

धान उत्पादनमा झापा प्रदेश-१ मै पहिलो हो। यो जिल्ला धान उत्पादनमा आत्मनिर्भर रहेको ज्ञान केन्द्र प्रमुख सिंह बताउँछन्। ‘यहाँ उत्पादनले झापाबासीलाई खान पुग्छ । हामी धान उत्पादनमा आत्मनिर्भर छौँ,’ उनले भने, ‘यहाँबाट काठमाडौं, पोखरालगायत जिल्लामा धान जाने गरेको छ।’

Logo