ऊर्जा दक्षताका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्नेमा विज्ञहरूको जोड

ऊर्जा दक्षताका लागि तत्काल कानुनी व्यवस्था गर्नुपर्नेमा विज्ञहरूको जोड

केन्द्रबिन्दु
0
Shares

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले ऊर्जा क्षेत्रमा भइरहेको गलत अभ्यासलाई रोक्न र सही अभ्यासलाई अघि बढाउन पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा दक्षता तथा त्यसको संरक्षण सम्बन्धी कानुन तत्काल ल्याउनुपर्ने बताएका हुन् । 

 

केन्द्रको रजत महोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धि राष्ट्रिय गोष्ठीमा बोल्दै उहाँले कम खपत गरेर ऊर्जा दक्षता अभिवृद्धि गरी ऊर्जा क्षेत्रको प्रवर्द्धनमा लाग्न सरोकारवाला सबै निकायलाई आह्वान पनि गरे । उनले भने, ‘कम खपत गरेर ऊर्जा दक्षता वृद्धि गर्न सो सम्बन्धी कानुन सरकारले तत्काल ल्याउनु पर्दछ । र यस क्षेत्रका कार्यरत संघ, संस्था, विज्ञ तथा नीति निर्माताहरुले पनि आफ्नो क्षेत्रबाट ऊर्जाको दक्षता वृद्धिका लागि आवश्यक प्रबन्ध गर्न ढिलाइ गर्न हुन्न ।’

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विगत ३ वर्षयता ऊर्जा दक्षताको क्षेत्रमा काम गरिरहेको छ । कोभिडका बिरामीहरूको उपचारमा समस्या नआउने गरी ऊर्जा खपत गर्ने गरी राष्ट्रिय स्तरका विभिन्न अस्पतालमा केन्द्रित भएर ऊर्जा दक्षता सम्बन्धी कामलाई अघि बढाएको पनि केन्द्रका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए । त्यसै गरी उद्योग क्षेत्रमा पनि ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक प्रविधिको विकासमा केन्द्रले काम गरिरहेको छ ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरू र ऊर्जा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरू, सम्बन्धित संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी भएका छन् ।  

Logo