यसकारण बढ्दै छ उपत्यकामा तरकारीको मूल्य : अधिकांश तरकारीको मूल्य प्रतिकेजी एक सयभन्दा बढी

यसकारण बढ्दै छ उपत्यकामा तरकारीको मूल्य : अधिकांश तरकारीको मूल्य प्रतिकेजी एक सयभन्दा बढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

६ महिनादेखि नेपालमा कोरोना भाइरसको संक्रमण महामारीको रुपमा नै फैलिरहेको छ । सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर गत चैत ११ गतेदेखि १२० दिन लामो लकडाउन गरेको थियो ।

पछिल्लो दुई महिनादेखि लगातार रुपमा बजारमा तरकारीको मूल्यबृद्धि भइरहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखापरे पश्चात बजारमा तरकारीको खपत कम भएपछि मूल्य ह्वातै घटेको थियो । लकडाउनको अवधिमा तरकारी किसानले बजार नपाएर उत्पादन गरेको तरकारी खाल्डो खनेर गाड्नु परेको थियो । लकडाउनले गर्दा आयात गर्ने समस्या भएकाले तरकारीले मूल्य नपाउँदा यस्तो भएको त्यतिबेला व्यवसायीहरुले बताएका थिए ।

तर लकडाउन भएको चार महिनापछि केही खुकुलो भएसँगै बजारमा तरकारीको मूल्य निरन्तररुपमा बढिरहेको छ । यसरी दैनिक उपभोग्य बस्तु तरकारीको मूल्य निरन्तर रुपमा बढी रहँदा कोरोनाको असरले रोजगारी गुमाएर बसेका सर्वसाधारणलाई बढी मार परिरहेको छ । कोरोना महामारीको चपेटाले आर्थिक मार खेपिरहेका तथा दिनभरी काम गरेर विहान बेलुका छाक टार्ने नागरिकको त अझ ढाडनै सेक्ने गरी मूल्य बढी रहेको छ ।

यसरी मूल्य बढ्नुका कारण मध्ये बजारमा तरकारीको अभाव तथा आयातमा कमीले भएकाले व्यवसायीहरुको भनाइ छ । हरियो तरकारीको मौसमको समयमा तरकारीको मूल्य घट्नु पर्नेमा मौसमको समयमा समेत दोब्बरले बृद्धी भइरहेको छ । व्यवसायीहरुका अनुसार बजारमा तरकारीको माग उच्च भएको तर तरकारी बजारमा तरकारीको नै कमि भएको तथा होलसेल बजारमा नै मूल्य बढेर आउने गरेकाले खुद्रा बजारमा तरकारीको मूल्य बढी भएको उनीहरुको भनाइ छ ।

केही महिनादेखि उपभोक्ताको भान्सा महंगो हुन थालेको छ । सबैभन्दा धेरै भान्सामा खपत हुने तरकारी नै हो । यसैको मूल्य छोइनसक्नु भएकाले उपभोक्ताको भान्सा महंगो हुँदै गएको छ । अहिले बजारमा अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँ भन्दा कममा पाउनै छोडेको छ ।

बजारमा यसरी तरकारीको मूल्य निरन्तर रुपमा बढ्दै जानुको मूख्य कारण केही समय अगाडि एक सातासम्म निरन्तर देशैभर वर्षा भएपछि बाढी पहिरोको कारण उपत्यकामा तरकारी आउन नपाएकाले दोब्बर भन्दा बढीले मूल्य बृद्धी भएको थियो । त्यसपछि किसानले उत्पादन गरेको तरकारी सकिंदै जानु तथा आयात कम हुनाले तरकारीको मूल्य पहिलेको तुलनामा बढ्दै गएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

उनका अनुसार नेपाल कृषिप्रधान देश भएता पनि लकडाउनको समयमा नेपाली उत्पादनले नै ८० प्रतिशत बजार धानेको भए पनि लकडाउन तथा निषेधाज्ञा अन्त्य भएपछि तथा एक सातादेखि भारतबाट प्याज लगायत अन्य तरकारी पनि आयात नभएकाले बजारमा तरकारीको मूल्यबृद्धि भएको छ । उनले भने,‘कालीमाटी तरकारी बजारमा त्यतिधेरै मूल्य नबढेको तर खुद्रा बजारमा केही मूल्य बढेको हो । अब केही आयात बढ्ने बितिकै मूल्य घट्दै जान्छ ।’

लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेकाले पनि तरकारीको मूल्यवृद्धि भएको उनको भनाइ छ । दैनिक औसतमा ७ सयदेखि ८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञा यता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको समितिका सूचना अधिकारी श्रेष्ठले बताएका छन् ।

१२० दिन लामो लकडाउन र तीन साताको निषेधाज्ञाले नेपाली किसानहरुले सबै तरकारी उत्पादन घटाउदै लगेसँगै तरकारी आपूर्ति नै करिब २ सय टनका दरले घटेका कारण मूल्यमा चाप परेको समितिले जनाएको छ ।

यता, बजार अनुगमन गर्ने जिम्मा पाएका सरकारी निकायहरुले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गरिरहेको जनाएका छन् । अहिले बजारमा तरकारी तथा प्याजको मूल्य जथाभावी आयात प्रतिबन्धको बाहानामा कालोबजारी गरिरहेकाले वाणिज्य तथा काठमाडौं महानगरले समेत बजार अनुगमनलाई तिव्रता दिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा प्याजको कृतिम अभाव गरेर जथाभावी मूल्यबृद्धि गरेको गुनासो आएको तथा विभागले चाडपर्व नजिकिदै गर्दा बजारमा कालोबजारी बढ्न नदिएर उपभोक्तालाई सहज बनाउनका लागि अनुगमनलाई तिव्रता दिएको बताए । उनले आलु, प्याज लुकाउने, बढी मूल्य असुल्ने व्यवसायीलाई उपभोक्ता ऐन अनुसार कारबाही थालिएको बताए ।

नेपालमा प्याज निर्यातमा प्रतिबन्ध भएको एक साता

भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको आज एक साता पुगेको छ । भारतबाट प्याज आयात रोकिएको दुई दिनदेखि नै कालीमाटी बजारमा प्याजको मौज्दात नै सकिएको छ । यसरी गत सोमबारदेखि भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा कृतिम अभाव गरि कालोबजारी सुरु भएको छ । प्याज निर्यात नहुने भएपछि व्यवसायीहरुले आफूखुशी मूल्यबृद्धि गरेर किनबेच गर्न सुरु गरेका छन् ।

कालीमाटी तरकारी बजारको मूल्य अनुसार प्याजको मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ पूगेको छ । प्याजको निर्यात एक सातादेखि नभएकाले बजारमा व्यापारीहरुले आफूखुशी रुपमा मूल्य लिन लागेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ । यसभन्दा अघि बजारमा अन्य हरियो तरकारी तथा गुन्द्रुकको मूल्य भन्दा कुखुराको मासु सस्तो भएको थियो ।
गत सोमबारसम्म बजारमा ७६ रुपैयाँ प्रतिकिलो मूल्य रहेको प्याज एकैदिनमा ५४ रुपैयाँले बढेर बजारमा १३० रुपैयाँसम्म पूगेको थियो । तर व्यवसायीले जथाभावी मूल्य बढाउन थालेकाले समितिले नै ११० रुपैयाँ मूल्य तोकेको छ ।

कालीमाटी तरकारी बजारमा आज गोलभेंडा १०० रुपैयाँ प्रतिकेजी पुगेको छ । त्यस्तै, आलु प्रतिकेजी ८० रुपैयाँ, काउली १००, मूला ५०, बन्दा ६५, काउली १००, घिउसिमी १००, तनेबोडी ८० रुपैयाँमा खुद्रा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ । यो मूल्यमा एक सातादेखि खासै परिर्वतन भएको छैन ।

Skip This
Skip This
Logo