स्याउ बगैंचा व्यवस्थापनमा जुम्लाका किसान, ‘स्याउ कम फले आम्दानीको स्रोत नै हुँदैन’

स्याउ बगैंचा व्यवस्थापनमा जुम्लाका किसान, ‘स्याउ कम फले आम्दानीको स्रोत नै हुँदैन’

केन्द्रबिन्दु
0
Shares

जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । चन्दननाथ नगरपालिका-५ का  स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।  

'स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ। स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,' उनले  भने, 'यतिबेलाको समयमा स्याउको स्याहार नगरे गुणस्तर फल दिँदैन। रोगसमेत लाग्ने डर हुन्छ ।'

जसका कारण समयमै स्याउ काँटछाट गर्न लागेको उनको भनाइ छ। उनले आफ्नो बगैँचामा तीन हजार २०० स्याउका बिरुवा लगाएका छन् । यसपटक १० टन जति स्याउ उत्पादन भएको थियो।  

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैंचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए। उनले भने, 'जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ।'

यति बेला बगैँचा व्यवस्थापन मात्र नभई स्याउका गुणस्तर बिरुवा किनेर बगैंचा लगाउने समय हो। बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्। 

खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि बिकास कार्यालय  जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले  बताए। उनले भने , 'एक एक मिटर लम्बाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ।'

उनका अनुसार स्याउको बगैंचा व्यवस्थापन गर्ने  समय भएकाले कृषि प्राविधिकहरू गाउँगाउँमा गएका छन्। नयाँ बिरुवा लगाउने किसानका लागि गुणस्तरिय बिरुवाको पहल भइरहेको छ। 

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरिय फल र बगैँचा राम्रो देखिने कृषि प्राविधिकहरूको भनाइ छ।   

त्यस्तै जुम्लामा यस वर्ष ६ हजार १०० मेट्रिक टन भन्दा बढी स्याउ उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष एक प्रतिशत घटेको छ। कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष ६ हजार १६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ। 

Logo