जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ।
बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए। सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले जनाए। अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको उनले बताए।
जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनेटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ। केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणामा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सीधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए।































प्रतिक्रिया