नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट सुरु, भारतीय शहरहरुका टुर अपरेटहरुको पनि सहभागिता

नेपालगञ्जमा वेष्टर्न ट्राभल मार्ट सुरु, भारतीय शहरहरुका टुर अपरेटहरुको पनि सहभागिता

केन्द्रबिन्दु
0
Shares

नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूल आयोजनामा बाँकेको नेपालगञ्जमा ३ दिने वेष्टर्न ट्राभल मार्ट बिहीबारदेखि सुरु भएको छ ।

नेपालगञ्ज शहर र यस वरपरका क्षेत्रहरुका साथै कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गरी पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्टको आयोजना गरिएको हो। बिहान बागेश्वरी मन्दिर परिसरदेखि साँस्कृतिक झाँकीहरुसहित र्यालीमा सहभागीता पश्चात् जंगलमा वास गर्ने लोपोन्मुख जाती राउटेका मुखियाले पानसमा दीप प्रज्वलन गरी सिद्धार्थ होटल परिसरमा मार्टको उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानरपालिकाका मेयर डा. धवल शमशेर राणाले नेपालगञ्ज र यस वरपरका क्षेत्रहरुको पर्यटन प्रवर्द्धनका लागि मार्टको आयोजना गरिएको र यस मार्टले नेपालगञ्जलाई आतिथ्यताको क्षेत्रमा थप स्थापित गर्ने विश्वास व्यक्त गरे। 

त्यसैगरी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालका लागि भारत सबैभन्दा ठूलो बजार भएकोले बोर्डले भारतीय सिमावर्ती शहरहरुलाई लक्षित गरी त्यहाँका टुर अपरेटहरुलाई मार्टमा आमन्त्रण गरेको बताए । उनले नेपालगञ्ज हुँदै बर्दिया र पहाडी क्षेत्रहरुको भ्रमण प्याकेजहरुको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। यस मार्टमा नेपालगञ्ज शहरलाई पश्चिम नेपालका साथै गेट वे अफ कर्णालीको रुपमा प्रवर्द्धन गरिएको छ। नाट्टा च्याप्टर बाँके यस मार्टको स्थानीय आयोजकको रुपमा रहेको छ भने पर्यटन सम्बद्ध अन्य संस्थाहरु सहआयोजकको रुपमा रहेका छन् ।

पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवर्द्धन गरी भारतीय बजारमा बजारीकरण गर्न लखनउ, दिल्ली लगायत भारतीय सिमावर्ती शहरहरुबाट करिब ५० जना टुर अपरेटर र सञ्चारकर्मीहरुलाई नेपाल पर्यटन बोर्डले मार्टमा आमन्त्रण गरी सहभागी गराएको छ। मार्टस्थलमा करिब ३५ टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले स्टलहरु राखी प्याकेजहरुको प्रवर्द्धन गरेका छन् । 

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षणहरु समावेश गरी स्टलहरु निर्माण गरिएका छन् । मार्टको पहिलो दिन भारतबाट सहभागी भएका टुर अपरेटरहरु र स्थानीय पर्यटन व्यवसायीहरु बीच व्यवसायिक अन्तर्क्रिया गराई यस क्षेत्रका टुर प्याकेजहरुको बिक्री प्रवद्र्धन गरिएको छ। मार्टको आयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुन गई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएकोे छ ।

Logo