लकडाउनले जन्माएको ‘ट्वाक्क अचार’, अनलाइनबाटै मासिक साढे ३ लाखको कारोबार

लकडाउनले जन्माएको ‘ट्वाक्क अचार’, अनलाइनबाटै मासिक साढे ३ लाखको कारोबार


कोरोना महामारीका कारण सन् २०१९ मा विश्व आक्रान्त थियो । अझैं पनि महामारीले छाडेको छैन। ओमिक्रोनको त्रास कम हुँदै गएपनि फेरि डेल्टाक्रोन माहामारीको भय सुरु भइसकेको छ । कोरोना महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित बनायो । महिनौंसम्म बजारपसल, शैक्षिक संस्था, उद्योगधन्दा सबै बन्द भए। सर्वसाधारणको दिनचर्या नै प्रभावित भयो । कार्यालयहरुसमेत बन्द भए । मासिकरुपमा तलब बुझ्नेको तलब कटौती भयो । व्यापार गर्नेको कारोबार ठप्प भयो । सकसपूर्ण बसाईबाट वाक्क भएर धेरैले काठमाडौं छाडे । तर शर्मिला बरालले काठमाडौं छाडिनन् । कोरोना महामारी र लकडाउनले दिएको आँटले अहिले उनलाई काठमाडौंमा स्थापित गराएको छ । शर्मिला अहिले ट्वाक्क अचार दिदीका नामले सामाजिक सञ्जालमा परिचित छन्। 

लकडाउनको समयमा धेरैजना भोकभोकै मर्नुपर्यो । दिनभरी काम गरेर बिहान बेलुकाको छाक टार्नेहरुका लागि त झन् यस्तो समस्या हुने नै भयो । जागिर हुनेहरुको पनि लकडाउनले कामै ठप्प बन्यो । तर मानिसका काम गर्न जोश जाँगर भए केही बाधा अवरोधले छेक्दैन । लकडाउनका समयमा पनि जाँगरका साथ घरमै काम गरेर देश तथा विदेश चिनिन सफल भएकी छिन् २३ वर्षिया शर्मिला बराल । 

काठमाडौँको चाबहिल चोकको गोपीकृष्ण हलको भित्रपट्टि बस्दै आएकी उनी कुनै स्टोर भाडामा लिएर हैन, आफ्नै घरभित्र अचार बनाउँछिन् । 

करिब ६ वर्ष अगाडि अध्ययनका लागि काठमाडौँ आएकी शर्मिलाले पढ्दै फाइनान्समा काम सुरु गरिन् । फाइनान्समा काम गर्दै गर्दा लकडाउन भयो र उनी अब के गर्ने भनेर सोच्न थालिन् । त्यसपछि अरुले के गरिरहेका छन् भनेर सामाजिक सञ्जालमा कसले के गर्र्दै गरेको, कसैले केही गर्दै गरेको भेटिन् । तर उनले सधैं नै हेर्ने भिडियोमा एकजना दिदीले इन्डियाबाट अचार बनाउने र भिडियो बनाएर हालेको देखेर उनमा पनि त्यही काम गर्ने सोच आयो । त्यसपछि उनले ३ परिकारबाट अचार बनाउन सुरुवात गरिन् । 

शर्मिला भन्छिन्,“काठमाडाैं आएर पहिला पहिला त काम नपाएर धेरै नै भौंतारिएँ त्यसपछि एउटा फाइनान्समा काम पाएँ र गर्न थालेँ । काम गर्दै थिएँ । केही समयपछि कोरोना भाइरस सुरु भएर लकडाउन भयो । त्यसपछि घरमा बसेर के गर्ने भनेर सोचेँ । अनि इन्डियामा एकजना दिदी हुनुहुन्थ्यो, उहाँले पनि यसरी नै अचार बनाएर बेच्नु हुन्थ्यो। अनि मलाई पनि त्यस्तै बनाउने सोच आयो । कसरी अचार विग्रिँदैन, कसरी ढुसी लाग्छ, भनेर केहीँ नसोची मुला, लप्सी र मिक्स ३ वटा आइटम बनाएर चिनेको ठाउँमा बेच्न सुरु गरेँ ।”

उनले अब आफैँले बनाएर अचार बेच्न सुरु गरिन् । उनको अचारको सबैले प्रशंसा गरे । उनलाई झन् हौसला बढाइदिए । उनी खुशी हुँदै भन्छिन्, “मैले अचार जहाँ जहाँ लगिदिएँ, उहाँहरु सबैले मलाई झन् हौसला दिनुभयो । त्यसरी पनि मलाई सजिलो भयो । म अचार बनाउँदा केमिकल प्रयोग गर्दिनँ । त्यसो गर्दा पछिसम्म पनि बिग्रिँदैन ।”

उनी आफैँ गुन्द्रुक बनाएर अचार बनाउँछिन् । त्यस्तै, उनले बनाउने मिक्स अचार पनि अरुभन्दा फरक तरिकाले बनाउँछिन् । अरुले सिधै बनाउँछन् भने उनी उसिनेर बनाउँछिन् । उनको ट्वाक्क अचार एकपटक लगेपछि फेरि पनि मगाउँछन् ।

सबैले हौसला दिएपछि उनले पनि राम्रै होला भनेर अनलाइन दर्ता गरिन् । नाम राखिन् बराल होम मेड ट्वाक्क अचार । उनले पहिला पहिला २ देखि ३ परिकारको मात्र अचार बनाएर बेच्न थालिन् । विस्तारै मानिसको माग बढ्दै गएपछि अरु पनि बनाउने सोच राखिन् । अहिले उनी आँप, अकबरे खुर्सानी, मुला, भटमास, टिमुर, रायो/तोरीको गुन्द्रुक, चिकेन, बफ, पोर्क, मिक्स तथा अन्य धेरै थरिका अचार बनाउँछिन् । पहिले एउटा मात्र कोठामा आफू मात्र बस्थिन् । तर पछि उनले काम गर्न र सबै कुरा भ्याउन गाह्रो भएपछि घरबाट बुबालाई बोलाइन् । १ वर्षसम्म आफैँले चलाइन् । त्यसपछि एउटा छुट्टै फ्लाट नै भाडामा लिएर ७ जना कामदार राखिन् । 

उनी भन्छिन्,“एक बर्षसम्म आफैँले बनाएँ । १ वर्षपछि ६ जना कामदार राखेँ । त्यसपछि आफैँ पनि गर्न सक्ने भएको अनुभव भएपछि कामदार घटाउँदै लगेँ । अहिले एकजना दिदी मात्र हुनुहुन्छ । हामी आफैं गर्छौं । म विहान १० बजेदेखि बाहिर हिँड्छु र एकैचोटी बेलुका मात्र आउँछु । अर्डर लिनको लागि र डेलिभरी गर्नको लागि ।”

शर्मिलाले बनाएको अचार सुरुबाटै राम्रो बिक्री भयो । अचारमा धेरै फाइदा भएको उनी बताउँछिन् । अचार बेचेर उनी महिनाको कम्तिमा पनि १ लाख ५० हजार र धेरै हुँदा ३ लाखभन्दा बढी हुनेसमेत बताउँछिन् । सबै कर्मचारीलाई दिएर, कोठा भाडा तिरेर, अचारको लागि सामान किनेर तथा अन्य खर्च सबै गरेर महिनामा ४० हजारदेखि ६० हजारसम्म बचत गर्छिन् । उनी भन्छिन्, “व्यवसायमा कहिले घाटा कहिले नाफा हुन्छ, कहिले त्यो भन्दा बढी हुन्छ, कहिले त्यो भन्दा कम हुन्छ । यति बचाएर राख्नु भनेको पनि ठूलै कला हो ।”

उनले बनाएको अचार नेपालमा मात्र नभएर विदेशमा पनि पुग्छ । उनले अहिलेसम्म जापानमा ४ पटक पठाएकी छन् भने हङकङ र अष्ट्रेलियामा समेत उनको अचार माग हुने गरेको छ । सबैभन्दा बढि वफ, टिमुर, अकबरे, गुन्द्रुकको अचार माग हुनेसमेत उनी बताउँछिन् । 

त्यस्तै, नेपालमा काठमाडौँमा मात्र नभएर अन्य ठाउँमा पनि अनलाइनबाट अर्डर आइरहेको छ । उनी भन्छिन्, “मैले बनाएको अचार काठमाडौँ मात्र नभएर अन्य जिल्ला मोरङ र झापाबाट पनि माग आइरहेको छ । थोरै अर्डर आयो भने त पठाउँदिनँ धेरै भयो भने मात्र पठाउँछु । १० हजारदेखि १५ हजारसम्मको आयो भने म यताबाट उता पढाउँछु । उहाँहरुले  पैसा इसेवाबाट ट्रान्फर गरिदिनुहुन्छ भने कसैले खातामा हालिदिनुहुन्छ । मैले बनेपामा पनि ५/६ चोटि पठाइसकेँ।”

उनी आफैँ गुन्द्रुक बनाएर अचार बनाउँछिन् । त्यस्तै, उनले बनाउने मिक्स अचार पनि अरुभन्दा फरक तरिकाले बनाउँछिन् । अरुले सिधै बनाउँछन् भने उनी उसिनेर बनाउँछिन् । उनको ट्वाक्क अचार एकपटक लगेपछि फेरि पनि मगाउँछन् । उनले बनाएको अचारमा अहिलेसम्म कुनै पनि नराम्रो प्रतिक्रिया नआएको शर्मिला बताउँछिन् । उनी भन्छिन्, “मेरो अचारमा अहिलेसम्म कसैले नराम्रो कमेन्ट गर्नुभएको छैन । प्रायः केमिकल प्रयोग गर्दिनँ । त्यसैले पनि होला ।”

काम गर्दै जाँदा हरेक कुरा सिकिने शर्मिलाको अनुभव छ । भन्छिन्, “जति काम गर्दै गयो, त्यति नै काम सिकिने रहेछ। मैले पनि पहिला पहिला केही जानेकी थिइनँ, अहिले सबैको अचार बनाउन आउँछ। जुन काम हामीले धैर्य भएर गर्यो त्यही नै सफलता रहेछ।” 

यसरी लकडाउनमा सुरु भएको उनको अचारले अहिले देश मात्र हैन विदेशमा पनि उनलाई चिनाउन सफल भएको छ । काठमाडौँमा पढ्न आएकी उनले कक्षा ११ मा मात्र पढिन् । उनले लकडाउनको समयमा केही नगरी आफ्नो घर गएकी भए उनी आज सानो उमेरमै आफ्नो परिचय राख्न सफल हुने थिइनन् होला । यसरी नै हाम्रो देशमा खाली भएका महिलाहरुका लागि पनि एक उदाहरण बन्न सफल पक्कै हुन्न थिइन् होला । उनको व्यवसाय अहिले सबैका लागि प्रेरणाको माध्यम बनेको छ ।

Logo