२०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ। फागुन १ गतेदेखि बिना यात्रु (ड्राई रन) हुँदै आएको कुर्था–जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
शनिबार दुई देशका प्रधानमन्त्री उद्घाटन गरे पनि रेल सेवा नियमितरुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए।
महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ बजे भारतको जयनगरस्थित नेपाली स्टेशनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ। जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन् । मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ। जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने कार्यक्रम छ।
सर्वसाधारणलाई रेलमा चढ्न आइतबारदेखि मात्रै खुल्ला हुने महाप्रबन्धक झाले जानाकारी दिए। उनले अगाडि भने, 'शनिबार टिकट काटिने छैन, आइतबारदेखि मात्रै टिकट काटने व्यवस्था मिलाएका छौं। ‘टिकट काटने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रबार नै जिम्मेवारी तोकिएको स्टेसन तथा हल्टहरुमा खटिसकेका छन्। तर शनिबारदेखि यात्री बोकेर चलाउन प्राविधिक समस्या भएकोले आइतबारदेखि नियमित संचालन गर्ने योजना बनाएका छौं।’
भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको महाप्रबन्धक झाले बताए।
रेल सञ्चालनका लागि चालकसहितका प्रविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटुजी सम्झौता भएको महाप्रन्धक झाले बताए। विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरु लगाईसकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भईसकेको उनले बताए।
०७७ साल असोजमा नेपाल सरकारले भारतीय रेल्वे कोकंण कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा बोगिसहितको दुई वटा रेल खरिद गरेको थियो। तर, कानुन, कर्मचारी र वजेटको अभावमा रेल संचालन हुन सकिरहेको थिएन। रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन दुई पटक फेल भएपछि केही दिनअघि तेस्रो पटक अध्यादेशबाट ल्याएको कानुन अनुसार रेल सञ्चालन हुन लागेको हो।































प्रतिक्रिया