काठमाडौं ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मुलुक भरको लकडाउन र निषेधाज्ञाले सम्पूर्ण व्यापार व्यावसाय ध्वस्त बनाएको छ । तर, दुध तथा डेरी उद्योेगहरु अत्यावश्यक भित्र परेकाले सञ्चालनमा नै रहेका छन् । सञ्चालनमा रहे पनि बजारमा दुधको माग भने अत्यन्तै कम हुँदै गएकाले किसानले दुध सडकमा बगाएर यसको विरोध पनि जनाए ।
लकडाउनका अवधीमा दुधको बिक्री ५० प्रतिशत रहेकोमा हाल आएर थप २० प्रतिशतले घटेर ३० प्रतिशत मात्र कारोबार भइरहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
लकडाउन अन्त्य भए पश्चात् मानिसहरुको चहलपहल बढ्दै जाँदा दूध र दुग्धजन्य पदार्थको व्यापार ७० प्रतिशत हुन थालिसकेको थियो । तर तीन साता अगाडिदेखि काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढ्दै गएकाले पुनः काठमाडौं उपत्यकाका तीन जिल्लामा समेत भदौ ३ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाले बजार ठप्प हुँदा दूधको बिक्रीमा ७० प्रतिशतले गिरावट आएको छ । यसरी दुधको बिक्रीमा गिरावट आएकाले डेरी उद्योगहरूले दुधलाई पाउडर बनाउन सुरु गरका छन् । विभिन्न स्थानका किसानबाट संकलित दूधलाई उद्योगमा प्रशोधन र प्याकेजिङपछि बजारमा पठाउने गरिन्छ । तर निषेधाज्ञाले बजारमा अपेक्षित परिमाणमा बिक्री हुन छाडेपछि दुधको विकल्पका रुपमा पाउडर बनाउन थालिएको हो ।
देशभर संकलन र कारोबार हुनेमा दूध र दुग्धजन्य पदार्थको मुख्य बजार काठमाडौं उपत्यका रहेको छ । डेरी उद्योगहरूको वार्षिक कारोबारमा ६० प्रतिशत हिस्सा काठमाडौं उपत्यकाको छ । दुई साता अघि पशुपालकबाट दूधको उत्पादन कम हुँदा नेपाल डेरी एसोसिएसनले स्टकमा रहेको पाउडर र बटर टोनिङ गरेर बजारको माग पूरा गरेको थियो । लकडाउन पश्चात् टोनिङ गरेर पठाउँदा पनि माग उच्च भइरहेको थियो । निषेधाज्ञा पछि भने बजार घटेको छ । आपूर्तिको परिमाण नघटाउँदा पनि बिक्री घटेपछि डेरीहरूले विकल्प खोजेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए ।
उनका अनुसार निषेधाज्ञा लागू भएदेखि दुधको बिक्री घटेको घटेकै भएकाले यसको विकल्पमा फ्रेस दूधलाई पाउडर बनाउन पठाइएको हो । किसानहरुलाई पनि सकभर बजारमा पठाउने फ्रेस दूधको परिमाण घटाउन आग्रह गरिएको दाहालले जानकारी गराए ।
अहिले डेरी एसोसिएसन सम्बद्ध उद्योगहरूले किसानबाट सामान्य समयमा दैनिक ३१ लाख लिटर दूध उठाउँछन् । गत महिनासम्म २४ लाख लिटर संकलन हुँदै आएको थियो । यतिबेला बढी भएको दूधलाई पाउडर बनाउनका लागि पोखरा पठाउने गरेको उनले बताए ।
यतिबेला बजारमा मागकै अनुपातमा आपूर्ति गरिरहँदा पनि बिक्री घटेर कारोबार प्रभावित भएको डेरी उद्योगहरूले जनाएका छन् । अहिले दुधको कारोबार घट्दा उद्योगहरूले दुध किसानलाई दिने भुक्तानी पनि प्रभावित भएको छ । फ्रेस दूध पर्याप्त नपाइँदाको विकल्पमा डेरीहरूका पाउडर र बटर टोनिङ गरेर बजारमा पठाउने दूध बनाउन काम लाग्ने गर्छ । त्यसैले पाउडर बनाउन थालेका हुन् । निषेधाज्ञा अघि दैनिक ८२ हजारदेखि ८५ हजार लिटरसम्म कारोबार गर्दै आएको डीडीसीको बिक्री घट्दै ७६ हजार लिटरको हाराहारीमा आइपुगेको डिडिसीले जनाएको छ ।
कोरोनाको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि विहानको समय मात्र अतिआवश्यक सेवाहरु संचालनमा छन् । स्थानीय प्रशासनले केही समय डेरी खोल्न दिए पनि संकलन भइरहेको अनुपातमा बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान र नेपाल डेरी एसोसिएनले बढी हुने दूधलाई पाउडर बनाउन थालेका हुन् ।





























प्रतिक्रिया