खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत १ पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज वर्षा सुरुसँगै झिकिएको हो ।
गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले ९ जेठदेखि १५ जेठसम्म लगाएर बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रज हाल्ने र झिक्ने ठेक्का लिएको थियो ।
दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तर्गत पर्ने फोक्सिङटारमा ‘आर्क’ डिजाईनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ। ३ वर्षअघि मोटरेबल पुल बनिसक्नु पर्ने फोक्सिङटारमा हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी अस्थायी बेलिब्रिज राख्ने गरिएको छ। निर्धारित समयमा पुलको काम सम्पन्न नहुँदा फोक्सिङटारमा बेलिब्रिज राख्ने र हटाउने शिर्षकमै नेपाल सरकारको करोडौं खर्च भइरहेको छ। निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दुई पटक म्याद गुज्रदा समेत १२० मिटर लम्बाई हुने पुलको काम पुरा हुन सकेको छैन ।
दिक्तेल–गाईघाट सिधा यातायात बन्द
५० मिटर लम्बाई भएको सो बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ। बेलिब्रिज नहुँदा कम्तीमा ६ महिनाका लागि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो बन्द भएको हो। बेलिब्रिज हटाइएसँगै जिल्लावासी दिक्तेलबाट घुर्मी कटारी हुँदै पूर्वी शहर आउन र जान थालेका छन्। उपभोग्यवस्तु पूर्वी तराईबाट गाईघाट हुँदै भित्रिने गरेकामा पुनः कटारी–घुर्मीको बाटो हुँदै भित्र्याउन थालिएको छ।
फोक्सिङटारमा २०७३ सालदेखि निर्माण सुरु गरिएको पक्की पुल निर्माण भए बार्हैमास दिक्तेलबाट पुर्वी शहर आउ–जाउ गर्ने छोटो र स्थायी मार्ग खुल्नेछ। पुल निर्माणमा भएको ढिलासुस्ती अशर अन्य विकास निर्माणमा समेत परेको छ। २२ चैत २०७३ सम्ममा सम्पन्न गर्नेगरी २३ चैत २०६९ मा सम्झौता भएको पुलको २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरेर काम अघि बढाइएको थियो ।
प्रतिक्रिया