नेपालमा हालसम्म साढे ८ लाखले गरे कोरोना बीमा

नेपालमा हालसम्म साढे ८ लाखले गरे कोरोना बीमा


काठमाडौं ।

हालसम्म ८ लाख ४७ हजार नेपालीको कोरोना बीमा भएको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमालेख जारी भएको चार महिनामा ८ लाख ४७ हजार नेपाली नागरिकको कोरोना बीमा भएको बताए । त्यसबापत अहिले सम्म ४७ करोड रुपैयाँ बीमा प्रिमियम संकलन भएको छ । समितिले वैशाख ४ गतेदेखि कोरोना भाइरस (कोभिड–१९) बीमालेख जारी गरेको थियो । जसमा सबै निर्जीवन बीमा कम्पनीको बीमा पुल मार्फत बीमालेख जारी गर्ने व्यवस्था भएकोे थियो । समितिले दुई श्रेणीको बीमाङ्क रकम कायम गरी बीमालेख जारी गरेको थियो ।

जसमध्ये एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको थियो । जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको थियो । त्यसमा पनि सरकारले ५० प्रतिशत अनुदान दिंदा अहिले १ लाख रुपैंयाँको बीमा ३ सय रुपैंयाँमा र ५० हजार रुपैयाँको बीमा १ सय ५० रुपैयाँमा हुन्छ । सरकारले अनुदान दिन थालेसँगै ५० हजार रुपैयाँ बीमाङ्क रहेको बीमालेख विक्री नभई एक लाख रुपैयाँ बीमाङ्क भएको बीमालेख मात्रै विक्री भएको समितिका अध्यक्ष चापागाईंले बताए । त्यस्तै अहिलेसम्म ९५ जना कोभिड १९ संक्रमित व्यक्तिले दावी भुक्तानी पाइसकेको पनि उनले बताए । त्यसबाहेक अहिले करिब २ सय ५० जनाको दावी परेको र त्यसको फरफारक हुन बाँकी रहेको अध्यक्ष चापागाईंले बताए ।

अहिलेको कोरोना बीमालेख एक पटकका लागि मात्रै भएको पनि बताए । एकपटक दावी भुक्तानी भएका व्यक्तिले कोरोना निको भएपछि फेरी कोरोना बीमा गर्न भने सक्दैनन् । तर त्यस्ता व्यक्तिबाट बीमालेखको माग हुन आएमा समितिको सञ्चालक समितिको बैठक बसेर मापदण्डमा परिमार्जन गरी बीमा गर्न दिने व्यवस्था गर्न सकिने पनि उनले बताए । एकपटक संक्रमण भई निको भएका व्यक्तिमा फेरि संक्रमण देखा पर्दैन भन्ने मान्यता अनुरुप कोरोना बीमाको मापदण्ड बनाइएकाले दावी भुक्तानी लिएपछि संक्रमण निको भएमा पुनः बीमा गर्न नसकिने अध्यक्ष चापागाईंले बताए ।

अहिलेको व्यवस्था अनुसार बीमा कम्पनीलाई कोरोना बीमाको कुनै पनि दायित्व पर्दैन । बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँसम्म दायित्व लिनु पर्नेमा अहिले नेपाल सरकारले सबै कर्मचारीको बीमा गर्दा एक अर्ब प्रिमियम पुग्ने भएकाले बीमा कम्पनीहरुमाथि कुनै दायित्व नपर्ने अध्यक्ष चापागाईंले बताए । एक अर्ब भन्दामाथि साढे ३ अर्बसम्म पुनर्बीमा कम्पनी र बीमा समितिले व्यहोर्ने व्यवस्था छ । साढे ३ अर्ब भन्दामाथिको बीमा दावी भुक्तानी भने नेपाल सरकारले गर्नेछ । एकपटक कोरोना बीमा गरेपछि २०७८ असार मसान्तसम्म कोरोना संक्रमण पुष्टि भएमा बीमाङ्क रकम दावी गर्न पाइनेछ ।

Logo