काठमाडौं । कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ । जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले गत चैत यता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न समेत गाह्रो भएको बताए । अन्य क्षेत्रमाभन्दा ठमेल क्षेत्रमा घरभाडा पनि महँगो भएको र लामो समय व्यापार व्यवसाय ठप्प भएकाले अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको उनको भनाइ छ । उनले ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिएपनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको बताए ।
त्यस्तै ठमेलभित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशतसम्म घरभाडा छुट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगर्दा त्यस्ता व्यवसायीहरु विस्थापित भइसकेको बताए । उपत्यकामा फेरि निषेधाज्ञा जारी भएपछि भने अझै लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरु पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माको भनाइ छ ।
काठमाडौंमा अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ । त्यसैपनि ठमेल क्षेत्र पूर्ण रुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो । अहिले अन्तर्राष्ट्रिय उठान बन्द भएका कारण पर्यटकहरु आउने अवस्था पनि छैन् । पर्यटक नआउँदासम्म ठमेलको व्यापार शुन्य नै हुन्छ । नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन । त्यसैले ठमेलको व्यापार पूर्णरुपमा पर्यटनमा आधारित छ ।
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले लगानी पनि बढाएका थिए । उपाध्यक्ष शर्माले घरजग्गा बिक्री गरेर अथवा बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरु यतिबेला सबैभन्दा बढी समस्यामा रहेको बताए । सरकारले पर्यटन व्यवसायीहरुलाई पुर्नकर्जा उपलब्ध गराउने भनेपनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेको बताए । त्यस्तै अझै एक वर्ष यस्तै अवस्था रहे बैंकबाट ऋण लिएर व्यापार गरेका व्यवसायीहरुलाई बैंक ऋण तिर्नसक्ने क्षमता पनि नरहने उनको भनाइ छ । यस्तो समस्या आउन नदिन सरकारले बेलैमा व्यवसायीलाई सहज वातावरण निर्माण गरिदिनुपर्नेमा उनको जोड छ ।
त्यस्तैगरी ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजारभन्दा बढी व्यवसायीहरु रहेका छन् । व्यवसायीहरुले भाडाबापत मासिक ३० करोड रुपैयाँभन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्कले देखाउँछ । ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकला, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसायहरु रहेका छन् ।































प्रतिक्रिया