नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ देखि आयोजना गर्न तयारी थालेको अटो शो सर्न सक्ने देखिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताएका छन् ।
सवारीसाधन आयातमाथिको प्रतिबन्ध कायमै रहेको समयमा अटो शो आयोजना गर्ने घोषणा गरेको नाडाले पहिलो चरणको प्रतिबन्ध हटेर आजदेखि आयात सुचारु हुने अपेक्षा राखेको संघका अध्यक्ष थापाले बताए । तर सरकारले मोटरसाइकलसहित विलासी वस्तुको आयातमा थप कडाई गर्दै पहिलेको प्रतिबन्धलाई भदौ १४ सम्म लागु गर्ने निर्णय लिएपछि उक्त शो सर्न सक्ने आँकलन गरिएको हो ।
अब प्रतिवन्धका विषयलाई अटो शोसँग जोडेर छलफल गरेपछि उचित निर्णय लिइने अध्यक्ष थापाको भनाई छ । उनले साउनदेखि आयात खुल्नेमा हामी अटोमोबाइल व्यवसायी ढुक्क थियौं । उद्योग वाणिज्य मन्त्रिसँगको भेटमा पनि उहाँले साउन १ गतेबाट आयात खुल्छ भन्नुभएको थियो । तर अचानक मध्यराती राजपत्रमा सूचना प्रकाशन गरेर प्रतिबन्ध थपियो । यसले हामीलाई एकदमै अप्ठ्यारो स्थितिमा पुर्याइदिएको छ । सरकारको यो निर्णयले अटो शो तोकिएकै समयमा आयोजना गर्ने वा पछि सार्ने भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको छ । सवैजना व्यवसायीसँग सल्लाह गरेर यस विषयमा छिट्टै निर्णय लिनेछौ ।’
आयतमाथिको प्रतिबन्ध जारी रहेकै समयमा अटो शो गर्न नहुने व्यवसायीको समेत राय रहँदै आएको छ । अटो शो र लगत्तै सुरु हुने फेस्टिभल सिजनमा वर्षभरी बिक्री हुने कुल सवारीको झन्डै ४० प्रतिशत हाराहारी बिक्री हुँदै आएको अध्यक्ष थापाको भनाइ छ । सुन र सुपारीलाई आवश्यक ठान्ने सरकारले गाडी र मोटरसाइललाई विलासी वर्गमा राखेर आयात रोकेकोमा गुनासो गर्दै यो भन्दा ठूलो विडम्बना अरु नहुने उनले बताए ।
यसले आम नागरिकको मोबिलिटीमा असर त गर्छ नै राजस्व संकलन प्रभावित हुँदा देशको अर्थतन्त्रमै गम्भीर धक्का दिने उनको बुझाई छ । अटो शो तोकिएकै समयमा आयोजना गर्ने तयारी गर्दै नाडाले स्टल वुक समेत गराइसकेको छ ।































प्रतिक्रिया