काठमाडौं ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको छ। सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि चार महिना लामो लकडाउन गरे पनि संक्रमणको दर कम भएको छैन । कोरोना संक्रमणको संख्या बृद्वि भइरहेको तथा पूर्वतयारी विना नै सरकारले गत साउन ७ गते लकडाउनको अन्त्य गरेको थियो । यसरी सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेसँगै लकडाउन लागू गरेपछि गाउँ गएका नागरिकहरु व्यापार व्यवसाय सञ्चालन गर्नका लागि वा कोही बाध्यताले त कोही बाहाना बनाएर काठमाडौं उपत्यका लगायत देशैभर आवातजावात गरिरहे ।
यसले गर्दा लकडाउन खुकुलो तथा अन्त्य भए पछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण धेरै भएका जिल्लाबाट पनि मानिसहरु प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको थियो । यसरी उपत्यका आएर १४ दिन क्वारेन्टाइनमा समेत नबसि व्यवसाय सञ्चालन गरी चहलपहल बढेसँगै कोभिड १९ संक्रमणको ग्राफ पनि बढदो क्रममा रहेको छ।
संक्रमण व्यापक रुपमा बढेर दैनिक २०० सयको हाराहारीमा देखिन थाले पछि उपत्यकामा संक्रमण नियन्त्रण बाहिर जाने भन्दै उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गत भदौ ३ गतेदेखि निषेधाज्ञा गरियो। एक साताका लागि गरिएको निषेधाज्ञामा पनि संक्रमण नघटेकाले सरकारले पुनः एक हप्ता (भदौ १७) सम्मका लागि निषेधाज्ञा थप गरेको छ।
तर, संक्रमण कम गर्न भन्दै लगाएको निषेधाज्ञापछिको ९ दिन अर्थात शुक्रबारसम्म मात्रै ३ हजार ६४ सय ७१ जना संक्रमित उपत्यकामा थपिएका छन् । शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ४१५ जना संक्रमित थपिएका छन् । अब काठमाडौंमा मात्रै ३८०५ , भक्तपुरमा ४१९ र ललितपुरमा ५८७ जना गरि उपत्यकामा संक्रमितको संख्या ४,८११ पुगेको छ ।
निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा झण्डै दैनिक ३ सयको हाराहारीमा संक्रमित थपिइरहेका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा संक्रमित थपिने दर उच्च भईरहेको छ।गत बुधवार रातिदेखि गरिएको निषेधाज्ञाको पहिलो दिन बिहीवार उपत्यकामा २ सय जना संक्रमित थपिएका थिए भने दोस्रो दिन अर्थात शुक्रवार १ सय ८२ र शनिवार १ सय ६० जना संक्रमति थपिएका थिए । त्यस्तै, आइतवार १ सय ६६, सोमवार २ सय ४४ , मंगलवार २ सय ३२, बुधवार ३ सय १, विहिबार ३ सय ७७ र शुक्रबार अहिलेसम्मकै धेरै ४ सय १५ जना थपिएका छन् । यसरी निषेधाज्ञाले पनि दिनप्रतिदिन उपत्यकामा संक्रमण बढ्दै गरेको छ । शुक्रबार देशभर ९ सय २७ जना थप भएर हाल सम्म देशभर संक्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६,४५६ पुगेको छ भने मुत्यु हुनेको सख्या पनि बढेर १ सय ९५ जनाको मृत्यु भएको छ।
दिनप्रतिदिन किन बढिरहेको छ संक्रमण ?
नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै जानुको प्रमुख कारण लकडाउन अन्त्य पश्चात् मुलुक भर मानिसहरूको भिडभाड बढ्नु तथा हेलचेक्राई प्रवृतिले र सरकारले परिक्षणको दायरा नबढाउँदा तथा निषेधाज्ञा लागू गरे पनि भित्री सडकमा कुनै पनि सरकारी निकाय नपुगेकाले भिडभाड पहिले कै अवस्था रहेकाले अहिले पनि संक्रमण बढ्दै गएको जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे बताए ।
उनका अनुसार नेपालमा संक्रमितको संख्या धेरै रहेको तर परिक्षणको दर कम भएकाले तथा सरकारले मुख्य सडक तथा चोक मात्रै निगरानी गरेको तर भित्री गल्लिमा मानिसहरु निर्वाध रुपमा होटलमा चिया, रक्सि खाँदै मज्जाले गफ गरेर बसि रहेकाले पनि संक्रमण बढ्दै गरेको छ । यसो गर्न दिंदा संक्रमण बढ्ने देखिन्छ । त्यसैले अब सरकारले निषेधाज्ञाको अवधिमा नै ट्र्याकिङ र ट्रेसिङलाई व्यापक बनाउन जरुरी रहेको छ । उनले भने, सरकारले पहिलेको लकडाउनलाई पनि समीक्षा गरेर परिक्षणलाई बढाउनु पर्छ । काठमाडौंमा परिक्षण नपुगेकाले कम संक्रमित देखिएका हुन् । काठमाडौंमा दैनिक ३ हजारको परिक्षणले पुग्दैन, कम्तिमा पनि १० हजारको परिक्षण गर्नु पर्छ अनि मात्रै संक्रमण बढ्दै जान्छ कि घट्दै भन्ने एकिन हुन्छ । अब यो अहिलेको निषेधाज्ञा प्रभावकारी भए नभएको कम्तीमा पनि दुई हप्तापछि मात्रै थाहा हुने पाण्डेको भनाई छ।
त्यस्तै, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिले देखिरहेको संक्रमित निषेधाज्ञा अघि नै संक्रमण भएको ब्यक्तिहरु हुन सक्ने बताएका छन् । लकडाउन खोलेपछि देशभरका सहरहरूमा मानिसहरुको चहलपहल बढेको तथा कोरोना हटेको जस्तै गरि मानिसहरु संक्रमित भएको जिल्लाबाट उपत्यका लगायतका सहरहरुमा कुनै परिक्षण विना भित्रिरहेका र उनीहरु १४ दिन क्वारेन्टाइनमा समेत नबसेर व्यवसायमा लागेकाले अरुमा समेत सरेको हो । अहिले निषेधाज्ञा लागू भए पनि मुख्य व्यापारीक केन्द्रहरु मात्रै कडाइका साथ लागू गरेको र मुख्य व्यपारी केन्द्रमा बन्दा पनि मानिसहरूको चाप भित्री गल्लीमा रहेको तर त्यहाँ सरोकारवालाको ध्यान नगएकाले संक्रमित संख्या बढ्दै गरेको उनले बताए ।
लकडाउन खोल्ने बितिकै मानिसहरु एकै पटक बाहिर आए। त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन, उनले भने, यसरी जनस्वास्थ्यका मापदण्ड पालना नभएकाले यो अवस्था आएको र अब पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे फेरि पिकमा पुग्ने खतरा हुन सक्छ ।
सरकारले लगाएको चार महिना लामो लकडाउन अन्त्य गर्दा जनस्वास्थ्यका कुनै पनि मापदण्ड पालनाबारे समीक्षा नभएको उनले बताए । निषेधाज्ञा भनेर सरोकारवाला निकाय ढुक्कसँग बस्न हुँदैन । यहि अवस्थामा परिक्षण बढाएर कहाँ संक्रमण बढेको छ त्यहाँ ट्र्याकिङ र ट्रेसिङ गरि जति सक्दो धेरै जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि कडाइ गरेमा मात्रै निषेधाज्ञा सफल हुने उनले बताए।
संक्रमण घट्न लकडाउन र निषेधाज्ञा मात्रै विकल्प होइन
जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले कोरोना संक्रमण घट्ने लकडाउन र निषेधाज्ञा मात्रै मुख्य विकल्प नभएको बताएका छन । उनका अनुसार सरकारले लकडाउनको अन्त्य पछि गर्नै पर्ने काम गर्न नसक्दा पनि संक्रमण बढिरहेको छ। अब सरकारले जनस्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गरी, परिक्षणलाई व्यापाक बनाउनु पर्ने, ट्र्याकिङ र ट्रेसिङमा जोड दिनु पर्ने र संक्रमितको व्यवस्थापन गर्न नसकेमा लकडाउन र निषेधाज्ञाको भरमा संक्रमण नरोकिने उनको भनाइ छ ।
लकडाउनपछि जे गर्नु पर्ने हो त्यो नभएपछि संक्रमण बढेको हो। ३ हप्तासम्म लकडाउन या निषेधाज्ञा ठीकै हो। त्यसपछि के गर्ने भन्ने प्लान नै सरकारसँग छैन । त्यस्तै, डा. पुनले पनि लकडाउन र निषेधाज्ञा नै यसको औषधि नभएर निषेधाज्ञा भनेको मानिसहरुको चापलाई घटाएर एक अर्कामा रोग सर्न नदिनु हो । त्यसैले अब स्वास्थ्य मापदण्ड पालना गरेर सुरक्षित रुपमा जीवन निर्वाह गर्नु पर्ने बताए ।
सरुवा रोग विशेषज्ञ पुनले लकडाउन र निषेधाज्ञा गर्न सरकार अग्रसर भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गराउनमा भने चुकिरहेको बताए । लकडाउन गर्ने र ह्वातै खोल्ने सरकारको निर्णय आत्मघाती भइरहेको उनको भनाइ छ। अब सरकारले यसअघिको जस्तो चार महिना लामो लकडाउन अन्त्य गर्दा जस्तो अबको यो निषेधाज्ञा हटाउँदा पनि सबै मानिसहरु एकैपल्ट बाहिर आउने र भिडभाड गर्ने काम गर्न नहुने बताएका छन् ।
समुदायमा संक्रमण गइसकेकाले आइसीयू, भेन्टिलेटरको व्यवस्था गर्नु पर्छ । अबको मुख्य चुनौती भनेको बुढापाका र दीर्घरोगीलाई बचाउनु पर्छ । राम्रोसँग ट्रेसिङ नहुँदा नै अहिले संक्रमणको दर बढिरहेकोले ट्र्याकिङ र ट्रेसिङमै सरकारले व्यापक रुपमा काम गर्नु पर्छ । यसमा सरकार चुकिरहेको छ अब चुक्नु हुँदैन ।
परिक्षणको रिपोर्ट ढिला हुँदा मानिसहरू परिक्षण गरेर निर्वाध घुमफिर गरिरहेका हुन्छन् त्यसलाई अनिवार्य होम आईशोलेशन अर्थात क्वारेन्टाइनमा बस्न लगाउनु पर्छ । समुदायमा संक्रमण गइसकेकाले अब मृत्युदर बढ्न सक्ने र सरकारले तत्कालै स्वास्थ्य संस्थाहरुको क्षमता बढाउनु पर्ने पुनले बताएका छन् ।
त्यस्तै, जनस्वास्थ्य विज्ञ पाण्डेले अहिलेको परिक्षण अपर्याप्त भएको बताए । १० हजारको हाराहारीमा मात्रै परीक्षण गरेर संक्रमणको अवस्था पत्ता लगाउन नसकिने उनले बताएका छन्। अरु देशमा दैनिक लाखौंको संख्यामा परीक्षण भइरहेको छ। भारतमै पनि दैनिक १० लाख भन्दा धेरै छ। परीक्षण जति धेरै भयो त्यति नै हामीले संक्रमणको अवस्था थाह पाउन सकिने उनको भनाइ छ।
लकडाउन र निषेधाज्ञा जति लब्याए पनि परीक्षण नबढाउँदा संक्रमण फैलिने सम्भावना कायमै रहेकाले परीक्षण बढाएर निगरानी गर्नुको विकल्प नभएको उनको तर्क छ । परीक्षण नबढाएमा सधैंभरी लकडाउनमै बस्ने स्थिति रहने तर लकडाउन रहिरहे सरकारले नागरिक तथा व्यवसायीलाई राहतको उचित व्यवस्था गर्नु पर्ने उनले बताए ।
हामी चार महिना अगाडि नै लकडाउनमा बसेका छौं । यसरी लकडाउनमा नै कति बसिरहने ? दिनमा कमाएर बिहान बेलुका दुई छाक टार्ने वर्ग भोकभोकै मर्ने स्थिति आउने र सरकारले थप महामारी भोग्नु पर्ने हुन्छ ।
तरकारी बजारमा जोखिम बढ्दै
तरकारी बजार तथा खुद्रा पसलका व्यापारी र उपभोक्ता दुवैले कोरोना संक्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ । व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । यसअघि नै कालीमाटीका तरकारी व्यापारीमा कोरोना भाइरस देखिसकेको अवस्था भए पनि सावधानी भने छैन ।
आफ्नो नजिकको बजारमाभन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजारमा भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ । कोभिड महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि आयात घटेर मूल्य बढेको भन्दै महानगरमा गुनासो आएपछि कामपाले अनुगमन शुरु गरेको हो ।
अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको अवलोकन गरिएको थियो । त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्र लगायत सूचकका आधारमा अनुगमन गरिएको थियो ।































प्रतिक्रिया