कोरोनाको असरः पर्यटन क्षेत्र सुनसान, १२ लाख मजदुरको रोजगारी गुम्दै

कोरोनाको असरः पर्यटन क्षेत्र सुनसान, १२ लाख मजदुरको रोजगारी गुम्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीको चपेटामा परेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि पाँच महिनादेखि विश्व नै लकडाउन रहेको थियो । लकडाउनले विश्वका ठूला साना सबै उद्योग, व्यापार व्यवसाय बन्द भएकाले विश्व अर्थतन्त्र नै धरासायी बन्न पुगेको छ ।

कोभिड–१९ बाट सबैभन्दा गम्भीर रूपमा प्रभावित उद्योगहरु मध्ये यात्रा र पर्यटन पनि एक हो । विश्वव्यापी महामारीको प्रकोपका कारणले नेपालमा मात्रै नभएर अन्य धेरै देशहरूलाई पर्यटन क्षेत्रमा असर परेको छ । यसको रोकथामको लागि अधिकांश देशरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न बाहेक अरू कुनै विकल्प रहेको थिएन । यसरी विश्वभर यात्रा प्रतिबन्ध गरिएकाले धेरै एयरलाइन्स र टूर अपरेटरहरूले लामो समयदेखिका बुकिङ भएका छुट्टीहरू रद्द भएकाले विश्व पर्यटन क्षेत्रले नै इतिहासमा नै पहिलो पटक ठूलो आर्थिक गिरावटको सामना गर्नुपरेको छ ।

कोभिड–१९ का कारणले पर्यटनमा परेको असरका कारणले नै धेरै देशहरुको अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१९ मा विश्वव्यापी यात्रा र पर्यटनले विश्वको जीडीपीमा ८ दशमलव ९ ट्रिलियन डलर योगदान पुर्याएको थियो । यद्यपि ८ महिनादेखि लगातार रुपमा फैलिएको महामारीका कारण विश्व पर्यटनमा २०२० को चार महिनामा विश्वभर १९५ अर्ब डलर राजश्व घाटा परेको छ ।

यसको असरबाट नेपाल पनि अछुतो रहन सकेको छैन । नेपाल पनि करिव ६ महिनादेखि महामारीसँग लडिरहेको छ । गत चैत ११ गतेबाट साउन ७ गतेसम्म मुलुकभर पूर्ण लकडाउन लागू गरिएको थियो । चार महिना लामो लकडाउनले मुलुकको आर्थिक गतिविधि हुने सम्पूर्ण क्षेत्र नै ठप्प भयो । सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सरकारले असार १ गतेबाट उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न दिएको थियो भने साउन ६ गतेदेखि लकडाउनको अन्त्य गरेको थियो ।

तर, लकडाउनको अन्त्यसँगै प्रतिदिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गएकाले काठमाडौं उपत्यकासहित ४८ जिल्लामा पुनः निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञा लागूसँगै मुलुकमा सञ्चालनमा आएका उद्योग, व्यापार व्यवसाय पुन बन्द भएका छन् भने साउन १५ गतेदेखि सञ्चालनमा आएका होटल तथा रेष्टुरेन्ट बन्द भएका छन् ।

सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक ल्याउने गरी उत्साहका साथ जनवरी १ अर्थात् पुस १६ गते नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको थियो । सरकारले यसरी भ्रमण वर्ष मनाउने तयारी गर्दा निजी क्षेत्रका होटलहरुले पर्यटकहरुलाई सुविधा सम्पन्नसहितको सेवा दिनका लागि ठूलो लगानी लगाएका होटल व्यवसायी यतिबेला मर्कामा परेका छन् । यता, भ्रमण वर्ष २०२० घोषणा गरेको तीन महिनापछि स्थगित भइसकेको छ ।

कोरोना कहरले नेपालको सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । पर्यटन क्षेत्रभित्र होटल, रेष्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ र हवाई क्षेत्र पर्दछन् । चैतदेखि अहिलेसम्म यी कुनै पनि क्षेत्र सञ्चालनमा आएका छैनन् ।

यसरी सबै आर्थिक गतिविधि हुने पर्यटन क्षेत्रदेखि अन्य धेरै क्षेत्र प्रभावित भएकाले अब नेपालको अर्थतन्त्र पहिलेकै अवस्थामा चलायमान हुन केही समय लाग्ने अर्थविद्हरूले बताउँदै आएका छन् । नेपालमा कोरोना महामारीले पर्यटन क्षेत्रलाई सबैभन्दा बढी प्रभावित बनाएको हुनाले अब पर्यटन व्यवसाय माथि उठ्नेका लागि दुई तीन वर्ष लाग्ने सम्भावना रहेको राष्ट्रिय योजना आयोजका पुर्वअध्यक्ष तथा अर्थविद् शंखर शर्माले बताए ।

उनका अनुसार कोरोना महामारी विश्वभर नै बढ्दै गएकाले अहिले नै ट्राभल टुरहरु बन्द नै रहने भएकाले चलायमान हुन समय लाग्छ । उनले भने, ‘नेपालको अर्थतन्त्रमा पनि ठूलो प्रभाव परेको छ । तर पनि यसले केही अवसर पनि दिएकोले अब कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर स्थानीय तहदेखि संघिय सरकार पनि अगाडि बढ्नु पर्छ ।’

त्यस्तै, सरकारले आर्थिक क्षेत्रलाई कोरोना महामारीकै बीच पनि चलायमान बनाउनका लागि सधैं बन्द गरेर भन्दा पनि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरेर उद्योगहरु सञ्चालन जारी गर्नु पर्ने उनको भनाइ रहेको छ । नेपालमा झण्डै ३३ सय बढी ठूला रिसोर्ट तथा तारे होटलहरू रहेका छन् । होटलहरुमा काम गर्ने करिव १५ लाख भन्दा बढी श्रमिकहरु आबद्ध रहेका छन् । यी मध्ये कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पाँच महिनामा १० लाख भन्दा बढी श्रमिकहरुको रोजगारी गुमेको छ ।

अहिले कोरोना महामारीका कारण पदयात्रा तथा पर्वतारोहण व्यवसायमा संलग्न करीब साढे ३ लाख जनशक्तले रोजीरोटी गुमाएका छन् । हाल नेपालमा ठूला रिसोर्ट तथा तारे होटलहरूको संख्या झण्डै ३३ सयको हाराहारीमा रहेको र झण्डै १० देखि ११ लाख श्रमिक ती प्रतिष्ठानहरूमा आश्रित रहेको होटल सङ्घको भनाइ छ ।

आन्तरिक उडान अनिश्चित

पाँच महिना लामो लकडाउनको अन्त्य गरेसँगै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सरकारले यस अघि भदौ १ गतेबाट हवाई उडान सञ्चालन गर्ने भने पनि सरकारले १६ भदौसम्म उडान बन्द गरेको छ । तर सरकारको गत सोमबारको मन्त्रिपरिषद्को बैठकले शर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्न दिने भएको छ ।

यो निर्णयसँगै हवाई उडान सञ्चालनको तयारीमा रहेका छन् । तर, आन्तरिक उडान भने कहिलेदेखि हुने भन्ने सरकारले कुनै निर्णय नगरेकाले अनिश्चित हुदै गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार देशैभर कोरोना संक्रमण बढ्दै गएकाले आन्तरिक उडान खुल्ने वा नखुल्ने भन्ने अब काठमाडौं र तराईका ठूला विमानस्थल रहेको शहरमा हुने संक्रमणको अवस्थामा निर्भर हुने बताएको छ ।

यता, सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक ल्याउने योजना रहेको तथा पर्यटक र हवाई यात्रु बढ्ने भन्दै व्यवसायमा अर्बाै‌ँ रुपैयाँ लगानी गरेका व्यवसायी ६ महिना लामो बन्दले धरासायी हुने अवस्थामा पुगेको वायुसेवा संचालक संघको भनाइ छ । यसले गर्दा हवाई व्यवसायीले सुरक्षा प्रवन्ध अपनाएर उडान खोल्नु पर्ने माग राख्दै आएका छन् भने भदौ १६ गतेबाट खुल्ला नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

ट्रेकिङ व्यवसाय शुन्यः १५ अर्बको नोक्सानी, ५ लाख मजदुरको रोजगारी गुम्यो

ट्रेकिङ एजेन्सी एशोसयसिन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा तथा पर्वतारोहण व्यवसाय सबै बन्द हुँदा १५ अर्ब नोक्सानी भएको बताएका छन् । पाँच महिना भयो ट्रेकिङ व्यवसायीहरु हात बाँधेर नै बसेका छौं । अब यो व्यवसाय शून्य अवस्थामा झरेको छ । यसले गर्दा यस क्षेत्रमा आवद्ध ३ लाख मजदुरले रोजगारी गुमाएका छन् । यस अगाडि पर्यटन बोर्डले गरेको अध्ययनले पनि मुलुकभर पर्यटन क्षेत्रमा आबद्ध भएका करीब १२ लाख मजदुरको रोजगारी गुमेको जनाएको थियो ।

Skip This
Skip This
Logo