काठमाडौं। नेपाली सडकमा वर्षौंदेखि भरोसाको नाम बनेको बजाज पल्सर २२० एफ अब प्रविधि र सुरक्षामा ठूलो फड्को मार्दै नयाँ रूपमै सार्वजनिक भएको छ। हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर २२० एफ एफआई बीएस६ नेपालमा ल्याएसँगै यो मोडल केवल फेसलिफ्ट नभई पुरानो आइकनको पुनर्जन्मका रूपमा प्रस्तुत भएको देखिन्छ ।
यसपटक बजाजले डिजाइनभन्दा बढी प्रविधि र सेफ्टीलाई केन्द्रमा राखेको छ । कार्बुरेटर युगबाट फ्युल इन्जेक्सनमा प्रवेश, सिंगल च्यानलबाट डबल च्यानल एबीएसमा अपग्रेड र एनालग मिटरबाट फुल डिजिटल कन्सोलतर्फको यात्रा पल्सर २२० एफको सबैभन्दा ठूलो परिवर्तन हो।
फुल डिजिटल कन्सोलमा ब्लुटुथ कनेक्टिभिटी, राइड कनेक्ट एप, टर्न–बाइ–टर्न नेभिगेसन, कल नोटिफिकेसन जस्ता फिचर थपिँदा यो बाइक अब नयाँ पुस्ताका राइडरका लागि पनि सान्दर्भिक बनेको छ । यसले पल्सर २२० एफलाई केवल ‘स्पोर्टी बाइक’ नभई दैनिक प्रयोगमै स्मार्ट विकल्पका रूपमा उभ्याएको छ ।
सुरक्षाको हिसाबले डबल च्यानल एबीएसको समावेशले ब्रेकिङ नियन्त्रणलाई उल्लेखनीय रूपमा सुधार गरेको छ, जुन नेपाली सडक अवस्थाका लागि निर्णायक फिचर मानिन्छ । साथै, पल्सर २२० एफमा पहिलो पटक फुल एलईडी हेडलाइट प्रयोग हुँदा रात्री राइडिङको अनुभव पनि नयाँ स्तरमा पुगेको छ ।
इन्जिन पक्षमा भने बजाजले परिचित २२० सीसी डीटीएस–आई इन्जिनलाई बीएस६ मापदण्डअनुसार परिष्कृत गर्दै पावर र टर्क सन्तुलन जोगाएको छ। यसले पुराना पल्सर प्रयोगकर्तालाई नयाँ बाइकमा पनि उही ‘फिल’ कायम रहने संकेत दिन्छ ।
४ लाख ३९ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको यो बाइक अघिल्लो मोडलभन्दा महँगो भए पनि, थपिएका प्रविधि, सुरक्षा र डिजिटल सुविधालाई हेर्दा बजाजले मूल्यभन्दा धेरै सुविधा थप गरेको जनाएको छ ।





























प्रतिक्रिया