१८–२० वर्षका बच्चासँग सिंगो राज्य र शासक वर्ग क्रुर बन्नु, निर्मम बन्नुले लोकतन्त्रको धज्जी उडेको दिनको रुपमा इतिहासले आजलाई सम्झिने छ । दुर्भाग्य ! भदौ २३ गते कालोदिनको रुपमा नेपाली किशोरहरु मारिएको दिनको रुपमा सम्झिनुपर्ने दिन बन्न पुग्यो । जेन-जी पुस्ता किन आक्रोशित बन्यो ? भन्ने तर्फ शासकहरुले किन सोच्न नसकेका होलान् ? उनीहरु के चाहन्छन् भन्ने तर्फ लोकतान्त्रिक भनिएको सरकारले सुन्न आवश्यक छ कि छैन ? कि अहिलेको शासन प्रणाली, शासक र व्यवस्था बहिरो भइसकेका हुन् ? यो लोकतन्त्र हो कि लुटतन्त्र हो ? हामीले लुट मच्चाए पनि तिमीहरु चुप लाग्नुपर्छ भन्ने शासकहरुको सोच हो ? यस्तै सोच्ने नवराजाहरुले लोकतन्त्र जस्तो सुन्दर व्यवस्थाको खिल्ली उडाएका छन् ।
शान्तिपूर्ण आन्दोलन आक्रामक अवस्थामा पुग्यो भने त्यसलाई कसरी नियन्त्रणमा ल्याउने भन्ने सुरक्षा संयन्त्रसँग कुनै उपाय थिएन र बच्चाहरुलाई ताकि ताकि गोलीको निशाना बनाइएको हो ? संसद भवन अगाडि गएर प्रश्न गर्न नपाइने अवस्था हामीले चाहेको हो ?
नमरुन्जेल सत्ताबाट बाहिर निस्कन नचाहने बुख्याँचाहरुलाई किशोर पुस्ता अर्थात भविष्यको पुस्ताको टाउको निशाना बनाउने छुट छैन ।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जित्दै गर्दा जनताले खबरदारीसँगै परिवर्तनको पक्षमा मताधिकार प्रयोग गरेको प्रष्ट संकेत ठुला राजनैतिक दल भनिएका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादीले बुझ्न नसक्नुले आजको यो दर्दनाक र पिडादायक घटना घट्न पुगेको हो ।
यदि बालेन शाहले चुनाव जित्दै गर्दा हामी सच्चिनुपर्ने दिन आएछ भन्ने बुझेका भए अहिलेका शासकहरु जेन-जी पुस्ता मात्र होइन सबैका लोकप्रिय हुने थिए । तर उल्टो बालेन शाहको तेजोबध गर्ने र उनले गर्न खोजेका राम्रा कार्यलाई समेत अवरोध गर्नेतर्फ ठुला भनिएका दल लागे । वैकल्पिक राजनैतिक शक्तिको रुपमा उदाएका अन्य दल पनि ठुला दलका क्रियाकलापबाट वितृष्णा भएर उनीहरु तर्फ आकर्षित भएका हुन् तर यो कुरा मान्न झोलेहरु तयार छैनन् । र गौरवका साथ भन्छन्, म झोले हो ।
अहिलेका शासकहरु यति धेरै कायर भैसकेका छन् कि उनीहरु सानोभन्दा सानो आलोचना, प्रदर्शन र विरोध सहन सक्दैनन् । जुन कुरा राज्यले आज गरेको व्यवहारले थप पुष्टि गरेको छ । एउटा किशोर जो विदेश जान चाहँदैन् स्वदेशमै उसको भविष्य सुरक्षित होस् भन्ने चाहन्छ, उसलाई मारेर घाइते बनाएर शासन गर्ने यो प्रवृत्तिले लोकतन्त्रलाई नै ठुलो क्षति पुगेको छ । हामीले लोकतन्त्र ल्याइदिएका हौं, त्यसैले नमरुन्जेल हामी नै शासन सत्तामा हुनुपर्छ भनेर ३ दशकदेखि निरन्तर सत्तामा रहनेहरुले आज आफ्नै नागरिक मारेर हाम्रो विरोध गर्नेको यो हालत हुन्छ भनेर प्रमाणित गर्न खोजेका छन् ।
आन्दोलन आक्रामक अवस्थामा पुग्यो भने त्यसलाई कसरी नियन्त्रणमा ल्याउने भन्ने सुरक्षा संयन्त्रसँग कुनै उपाय थिएन र बच्चाहरुलाई ताकि ताकि गोलीको निशाना बनाइएको हो ?
निषेधित भनिएको क्षेत्रमा किशोर किशोरी जबर्जस्ती प्रवेश गरे, त्यसमाथि पनि संसद जस्तो गरिमामय क्षेत्रमा उनीहरु अनाधिकृत रुपमा छिरे, यो घटना सामान्य थिएन । तर सिंगो सुरक्षा संयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी सबै हुँदाहुँदै उनीहरुलाई निश्चित क्षेत्रबाट बाहिर जानबाट रोक्न नसक्नु राज्य प्रणालीको कमजोरी हो । सुरक्षा संयन्त्रले जनधनको क्षती कमभन्दा कम हुने गरि सुरक्षाका धेरै उपाय अपनाउन सक्थ्यो । यदि भिड अनियन्त्रित नै भएको भए पनि दुई महानगर र अन्य नगरपालिकाका दमकल प्रयोग गरी पानीको फोहरा हान्ने वित्तिकै आन्दोलनकारी तितरबितर हुनसक्थे, अश्रु ग्याँस प्रयोग गर्न सकिन्थ्यो, हवाई फायर गर्न सकिन्थ्यो, अत्ति नै अराजक भए घुँडामुनिसम्म रबरको गोली प्रयोग गर्न सकिन्थ्यो । तर त्यसो नगरी मेरो विरोध गर्ने तिमीहरु भन्ने धक्कु देखाएर अन्धाधुन्ध बालकहरुलाई निशाना बनाइयो ।
देशभित्र रोजगार सृजना गर्न नसक्ने राज्यलाई बच्चा मार्ने छुट छैन । नमरुन्जेल सत्ताबाट बाहिर निस्कन नचाहने बुख्याँचाहरुलाई किशोर पुस्ता अर्थात भविष्यको पुस्ताको टाउको निशाना बनाउने छुट छैन ।
जनआन्दोलन ०६२–६३ मा १९ जनाले शहादत प्राप्त गरेका थिए तर आज एकदिनको मुभमेन्टमै दर्जनौं किशोरको हत्या गर्नुले अहिलेका शासक कति निर्मम रहेछन् भन्ने दर्शाउँछ । बच्चाहरु संसद भवन छिरेकै अवस्थामा पनि उनीहरु आफ्ना विविध क्रियाकलाप गरेर बेलुका घर नै फर्कन्थे, उनीहरु सामान्य लाठी चार्ज र अन्य सुरक्षाका उपाय अपनाएर त्यहाँबाट निकाल्न सकिन्थ्यो तर त्यसो नगरि आफ्नै नागरिक मार्न राज्य उद्यत भयो यो किमार्थ क्षमायोग्य छैन ।
आफ्नालाई सदैव सुरक्षा घेरामा राखेर उनीहरुको गलत क्रियाकलापको ढाकछोप गर्नु र सार्वजनिक नियुक्तिमा बिचौलियाको प्रभावमा ठूलो रकममा डिल गर्नु अहिलेका शासकको विशेषता नै बनेको छ ।
कतिपय व्यक्तिहरु आन्दोलनमा घुसपैठ भएको भनिरहेका छन् । शासकले आफ्नो विरोध गर्नेहरुमाथि लगाउने सनातनी नारा हो यो । आलोचनात्मक विरोध अभियान भनेकै आक्रामक हुन्छ, उनीहरु आन्दोलित हुन्छन् भन्ने कुरा पाँच दशक भन्दा बढि राजनीति गरेका भनेकाहरुलाई किन हेक्का नभएको हो ? मैले लोकतन्त्रका लागि यति वर्ष लडें भन्नेहरुले आफ्नै नाती पुस्ताकाहरुलाई मारेर समाधान आउने होइन भन्ने जान्दैनन् भनें यिनीहरु नालायक मात्र होइन, निर्लज्ज पनि हुन् ।
अपराध गर्नेहरु आफ्नो पार्टीका भए जसरी पनि जोगाउने तर अर्को कोही विरोधी भए त्यसमाथि प्रतिशोध साँध्ने प्रवृत्ति पनि आजको अवस्था सृजना गर्ने अर्को कारक हो । अपराध गर्ने अपराधी हो, जुनसुकै पार्टीको किन नहोस् भनेर आजसम्म कुनै पार्टीका नेताले बोलेको र व्यवहारमा लागू गरेको देखिन्नँ । आफ्नालाई सदैव सुरक्षा घेरामा राखेर उनीहरुको गलत क्रियाकलापको ढाकछोप गर्नु र सार्वजनिक नियुक्तिमा बिचौलियाको प्रभावमा ठूलो रकममा डिल गर्नु अहिलेका शासकको विशेषता नै बनेको छ ।
भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण शहिदहरुप्रति हार्दिक श्रद्धान्जली । भविष्यका कर्णधारहरुको ज्यान लिनेहरुले अवश्य पनि सजाय पाउनेछन् । समयले यो पिडादायी घटनाका निर्मम हत्याराहरुलाई कडाभन्दा कडा सजाय दिनेछ ।































प्रतिक्रिया