यस्तो पीडादायक परिस्थिती कसरी सृजना भयो ? अब के हुन्छ ?

यस्तो पीडादायक परिस्थिती कसरी सृजना भयो ? अब के हुन्छ ?

केन्द्रबिन्दु
69
Shares

एकजना विद्धानले आज बिहानै फोन गरेर भन्नुभयो, ‘तपाई आज राती निदाउन सक्नुभयो ? म त आज रातभरी झिमिक्क पनि निदाउन सकिनँ, के भयो यस्तो ? यसरी ३ घण्टाकै अवधीमा राज्यले आफ्ना दर्जनौं छोराछोरीको हत्या कसरी गर्न सक्छ ? माओवादी आन्दोलन त हिंसात्मक आन्दोलन थियो, राज्य र माओवादी दुवै ससस्त्र द्धन्दमा थिए, त्यहाँ मर्ने र मारिने दुवै कुरा दुवैपक्ष ज्ञात थिए । नत्र ४६ को जनआन्दोलन होस् वा ६२/६३ को जनआन्दोलन होस्, तत्कालिन शासकले यसप्रकारको नृशंस हत्या मच्चाएका थिएनन् । अहिलेका राज्य संचालकहरु यति लापरवाह देखिए कि, आफ्नो विरुद्ध प्रश्न गर्नेहरुलाई सहनै सकेनन्, उनीहरुका टाउकालाई निशाना बनाए ।’

धेरैलाई लाग्न सक्छ, राज्यद्धारा सामाजिक संजाल बन्द गरिनुले हिजोको कालो दिन घट्न पुग्यो, तर घटनाक्रमलाई यति फितलो ढंगले व्याख्या गरेर मात्र हुन्न । पछिल्ला वर्षहरुमा जनतामा बढ्दै गएको चरम निराशा, आक्रोशलाई कहिल्यै बुझ्न नचाहने सत्ताधारीहरुको प्रवृत्ति र अर्कमन्यताका कारण युवावस्थामा प्रवेश गर्दै गरेका पाइलाहरु आन्दोलनमा होमिन पुगे र हिजोको कालो दिन घट्न पुग्यो ।

नियमित दिनहरुमा अचानक आकस्मिकता आउँछ र त्यो विद्रोहमा पनि परिणत हुनसक्छ भनेर त्यो लक्षण चिन्न नसक्नु तथाकथित राजनेता भनिएकाहरु कमजोरी हो । देशकै ठुलो महानगर, देशको मुटु काठमाडौं महानगरपालिकामा बालेन शाह जिताएर जनताले निराशा र आक्रोश तर्फ संकेत गरेका थिए । धरानमा हर्क साम्पाङ, धनगढीमा गोपी हमालहरु जनताले चुनेका प्रतिनिधी बनेर बिजयी हुँदै गर्दा हामी जनताको मनबाट किन बाहिरियौं भनेर सत्ताधारीहरुले एकपटक पनि मनन गरेनन् । हर्क बालेनहरुले जितेर के गर्न सक्छन् ? एक्लो प्रतिनिधी जितेर के भयो ? नगरमा हाम्रा जनप्रतिनिधी धेरै छन् भनेर बालेन र हर्कलाई निरन्तर अवरोध सृजना गर्न तर्फ राज्यसत्ताका मानिसहरु उद्दत भए ।

राज्य संयमित बन्नुपर्छ, राज्य जनताप्रति उत्तरदायी रहनुपर्छ, जनताको करबाट संचालन हुने भए पछि राज्य जिम्मेवार, पारदर्शी र भरपर्दो संस्था बन्नुपर्छ भन्ने जनताबाट चुनिएका भनिएका ठुला दलका नेताहरुलाई कहिल्यै हेक्का भएन । सत्ता स्वार्थका कारण निर्लज्ज ढंगले सत्ता समिकरणमा उनीहरु लागिरहे, एकले अर्कोलाई धोका दिँदै सत्ताको वरिपरी घुमिरहे । सत्ता प्राप्तिका लागि जस्तोसुकै नाङ्गो नाच देखाउन पनि उनीहरु पछि परेनन् ।

कलिला केटा केटीहरुलाई यो देशमा भविष्य छैन् भन्ने भाष्य खडा हुने गरि देशको ‘दिवालियापन’ देखाउन ठुला भनिएका नेताहरु निरन्तर लागिरहे ।

एउटा गर्भनरको नियुक्ति स्वभाविक प्रकृयाबाट गरेनन् । नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेर डेपुटी गर्भनर सम्हालिसकेकि कार्यवाहक गर्भनरको शिर झुकाउँदै बिचौलियाको भूमिकामा गर्भनर नियुक्त गर्ने समितिकै सदस्यलाई गर्भनर बनाइयो । त्यो पनि सार्वजनिक रुपमै नाङ्गो नाचका रुपमा नेपाली समाजले थाहा पाउने गरि । कलिला केटा केटीहरुलाई यो देशमा भविष्य छैन् भन्ने भाष्य खडा हुने गरि देशको ‘दिवालियापन’ देखाउन ठुला भनिएका नेताहरु निरन्तर लागिरहे । मुखले त देशभित्र नै अवसर छ भन्थे तर व्यवहारमा उनीहरुका निम्ती १ प्रतिशत पनि सोच्ने काम गरिएन् । एउटा १७ वर्षको किशोर सुरक्षित भविष्य खोज्दै विदेशिन बाध्य थियो ।

हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक मञ्च र सामाजिक संजालमा युवाहरुका प्रति सदैव गम्भिर देखिनुहुन्थ्यो तर उनीहरुलाई नेपालमै टिकाउन के गर्नुपर्छ भन्ने तर्फ कहिल्यै ध्यान दिनुहुन्न थियो । सार्वजनकि खपतका निम्ती जे पनि बोलिदिने तर त्यसका प्रभावकारी कार्यान्वयनमा ध्यान दिएको, बोलेको देखिएन् ।

जेनजीका माग स्वभाविक थिए र छन् पनि । उनीहरु आफ्नो सुरक्षित भविष्यका निम्ती भ्रष्टाचाररहित पारदर्शी सरकारको चाहना राखिरहेका थिए । सानो समूह नै किन नहोस् यदि कसैले औंलो ठड्याएर प्रश्न गर्छ भनें त्यसको सही जवाफ दिन राज्य तयार हुनुपर्छ तर हजारौं युवायुवती असन्तोष आगो ओकल्न सडकमा उर्लिँदा उल्टो तिनलाई मजाकको पात्र बनाउँदै जेनजी यस्तो त्यस्तो भन्ने गैह्रजिम्मेवार अभिव्यक्ति दिन प्रधानमन्त्रीलाई कसले छुट दियो ? कि हाम्रा प्रधानमन्त्री कसैको कुरै सुन्न नसक्ने तानाशाह भैसकेका हुन् ? उनले जसरी पार्टीभित्र तानाशाही प्रवृत्ति देखाएर अघि बढे देश संचालनमा पनि उनको विरोध गर्ने कोही नै नहोस् भन्ने चाहेका हुन् ।

सानो समूह नै किन नहोस् यदि कसैले औंलो ठड्याएर प्रश्न गर्छ भनें त्यसको सही जवाफ दिन राज्य तयार हुनुपर्छ ।

एकछिन मानि लिउँ, युवाहरु अराजक बन्न पुगे, आन्दोलनमा घुसपैठ भयो, उनीहरु निषेधित क्षेत्र तोडेर संसद जस्तो संवेदनशिल क्षेत्रमा पुगे, उनीहरुले हदैसम्म के गर्न सक्थे ? संसदमा केहि क्षण ताण्डव देखाएर उनीहरु साँझपख घर फर्किन्थे । गृहमन्त्रालय सहित महानगर र नगरपालिकाका गरेर एक दर्जन बढि दमकल त्यो क्षेत्रमा परिचालन गर्न सकिन्थ्यो । उनीहरुलाई अश्रु ग्याँस, पानिको फोहरा, हवाई फायर र सामान्य लाठी चार्ज गरेर तीनै तहका सुरक्षा निकायको सहयोगमा त्यहाँबाट निकाल्न सकिन्थ्यो । तर ति कुनै विधीमा विश्वास गरिएन्, आन्दोलन कुन तहसम्म जानसक्छ, भन्ने अनुमानै नगरी बसेका शासकहरुले ताकेर टाउकोमा गोली बर्साउँदा आफ्नो जित हुन्छ भन्ने भ्रम पाले र यो स्थिति आइपुगेको हो ।

आज जुन हिसाबले भिड अगाडि बढेको छ, यसले कस्तो परिस्थिती सृजना गर्छ अनुमान गर्न कसैले पनि सकेका छैनन् । आगामी दिनहरु कस्ता हुनेछन् भन्ने कुनै संकेत देखापरेको छैन, व्यक्तिका घर जलाउन थालिएको छ, अनियन्त्रित परिस्थिती निर्माण भैरहेको छ, यसले अवश्य पनि थप नराम्रो हुने देखिएको छ ।

यस्तो अवस्था सृजना गर्नमा सबैभन्दा बढी जिम्मेवार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । उनले उखान टुक्काको सहारा लिएर जसरी छुच्चो अभिव्यक्ति दिँदै आएका थिए, ‘त्यसले हाम्रो सामाजिक संजालको स्वरुप नै परिवर्तन गरिदियो । एकले अर्कोलाई तुच्छ किसिमको गाली गलौज गर्नु, अमर्यादित व्यवहार प्रदर्शन गर्नु, मानिसलाई सार्वजनिक मञ्चबाट बेइजत गर्नु लगायतका क्रियाकलापमा ओली र ओली जस्तै अन्य थुप्रैले भूमिका खेलेका छन् । जेनजीको आन्दोलनमा समाहित हुन पुगेका दुर्गा प्रसाई ओली प्रवृत्तिकै अर्का पात्र हुन् भन्दा अतिशयोक्ति नहोला ।’

एउटा मन्त्रीको गाडीले जेब्रा क्रसिङमा किशोरीलाई ठक्कर दिँदा गाडी रोकेर मानवियता प्रदर्शन गर्नुको सट्टा प्रधानमन्त्रीले सरकारले उपचार गर्छ, पार्टीले उपचार गर्छ भनेर ओठे जवाफ फर्काएका थिए । त्यसको सट्टा आफ्नै पार्टीका ति मन्त्रीलाई निलम्बन गरेर कारवाहीको दायरामा ल्याउँछु भनेका भए प्रधानमन्त्री नागरिकप्रति उत्तरदायी रहेछन् भन्ने बुझिन्थ्यो । त्यतिमात्र होइन, कसरी हुन्छ, कार्यकर्ता प्रयोग गरेर बाटो काट्ने ति युवतीलाई गलत सावित गर्न उद्धत देखिए ।

बालुवाटार जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, सहकारी प्रकरण, भिजिट भिसा प्रकरण, पतञ्जली जग्गा प्रकरण जस्ता ठुला ठुला काण्ड मच्चिदा समेत तिनमा मुछिएका अपराधिक भ्रष्ट नेतृत्वलाई जोगाउन हर किसिमका डिल गरिए । यसमा ओली र एमाले मात्र होइन, सत्ता साझेदार रहेका सबै दलका नेतृत्व दोषी छन् । केही अहिले पानीमाथिको ओभानो हुनलाई जेनजीको आन्दोलनलाई समर्थन गर्छौं भन्छन् तर ति सबै फटाहा नै हुन् । सबैले आफ्नो स्वार्थ पुरा गर्न निर्लज्ज ढंगले एकआपसमा ‘डिल’ गरेका छन् ।

एकजना चर्चित बिचौलिया छन्, उनले प्रधानमन्त्री मात्र होइन, सबै शीर्षनेताको बेडरुम चहारिसकेका छन् । उनी खुलेआम भन्दै हिँड्छन्, अहिलेको अर्थमन्त्री, गर्भनर लगायतका नियुक्ति मैले दिलाएको हो । यस्तै किसिमका करिब ५० बिचौलिया होलान्, आज देश तिनीहरुको इसारामा पैसाको बलले चलिरहेको छ । यो कटुसत्य हो । यो ओपन सेक्रेट बुझेका जनता कहिलेसम्म मौन रहन सक्थे, बाबु आमा पुस्ता बोल्दैनन् भनें हामी बोल्छौं भनेर तिनका छोराछोरी सडकमा आएका हुन् ।

काठमाडौंको फोहर र सुकुम्बासी समस्या बालेनको मात्र थिएन्, काठमाडौं उपत्यकाबासी सबैको थियो । तर उनलाई दानवीकरण मात्रै गरियो ।

अहिलेका शासकहरु बालेन, रवि, हर्क प्रतिसधैं पुर्वाग्रही देखिए । धरानमा पानीको समस्या हर्क साम्पाङको मात्र समस्या होइन, यो सम्पूर्ण धरानबासीको समस्या हो भनेर एउटा राम्रो बजेट छुट्याएर त्यसमा काम गर्न प्रोत्साहित गर्नुको सट्टा श्रमदान गरेर ल्याएको पानीलाई मजाक बनाइयो । काठमाडौंको फोहर व्यवस्थापन गर्ने, सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने बालेनको अभियानलाई चौतर्फी घेराबन्दी गरेर अवरोध सृजना गरियो । बालेन यस्तो त्यस्तो भनेर दानवीकरण गरियो । काठमाडौंको फोहर र सुकुम्बासी समस्या बालेनको मात्र थिएन्, काठमाडौं उपत्यकाबासी सबैको थियो । ११ महानगर, नगरको समस्या थियो । बालेन सधैं टार्गेटमा मात्र रहे ।

रवि लामिछाने, सहकारी प्रकरणका दोषी हुन् सक्छन्, उनलाई कडा भन्दा कडा सजाय दिन सकिन्छ, उनले गरेका अन्य अपराध पनि कारवाहीको दायरामा आउन सक्छन् तर रविलाई नियोजित ढंगमै पुर्वाग्रही हिसाबले गरेको व्यवहारको तितो यथार्थबारे सबै जानकार छन् । आज जेलमै बसेर रवि थप बलियो बनिरहेका छन् भन्ने कुरा वर्षौ जेल बसेर लोकप्रिय बनेको नेताहरुलाई ज्ञान छैन् भने उनीहरुलाई पद ओगटेर बस्ने कुनै अधिकार छैन् । यस्तो नालायक नेतृत्वलाई बोक्नु भनेको महादेवले सतिदेवीको सिनो बोकेको भन्दा अर्को केही हुन सक्दैन् ।

उस्तै प्रकृत्तिका सहकारी ठगी प्रकरणमा दोषी देखिएका आफ्ना पार्टीका नेता कार्यकर्तालाई क्लिन चिट दिनु अनि रविलाई जेलमा कोच्नुले पनि यो परिस्थिती सृजना गरेको हो । सहकारी ठगीका एक से एक फटाहाहरु अहिले संसद देखि सत्तासम्म स्वादको चास्नी भोग गरिरहेका छन्, त्यसमा सरकारले उल्टो सुरक्षाकवच लगाएर उनीहरुको संरक्षण गरिरहेको छ ।

सहकारी ठगी प्रकरणमा दोषी देखिएका आफ्ना पार्टीका नेता कार्यकर्तालाई क्लिन चिट दिनु अनि रविलाई जेलमा कोच्नुले पनि यो परिस्थिती सृजना गरेको हो ।

अहिलेका शीर्ष नेताहरुले भन्ने गरेको एउटै कुरा छ, धेरै संघर्ष गरेर उनीहरुले यो लोकतन्त्र ल्याएका हुन् । यो सत्यलाई बिर्सन सकिँदैन । जेल नेल भोगेर, टाउकाको मुल्य तोकेको अवस्थामा आन्दोलन बचाउने यिनै नेता हुन्, जसले लोकतन्त्र जस्तो समृद्ध शासन व्यवस्था ल्याए । भलै, राष्ट्रिय अन्तराष्ट्रिय शक्तिको चलखेल यसमा थियो होला, तर त्यसबापतको साउँ ब्याज, स्याज सबै तपाईहरुले प्राप्त गरिसक्नुभएको छ । ४८ साल देखि ८२ सालसम्म ३४ वर्ष राज्य संचालनको प्रमुख स्थानमा बसेर तपाईंहरुले तर मार्दा पनि जनताका आशा र विश्वास जित्न सक्नुभएन, तपाईंहरु अब बहिगर्मन हुनैपर्छ भन्ने आम जनताको सन्देश हाे याे ।

गरिब किसानका समस्या, युवा विदेशिने अवस्थाको अन्त्य, युवाले रेमिट्यान्सका रुपमा पठाएको पैसाको सदुपयोग, आफ्नो राहदानी निरन्तर कमजोर बन्दा त्यसलाई बलियो बनाउन भूमिका खेल्न नसक्नु, कर्मचारी, प्रहरी प्रशासनको शिर जहिल्यै कमजोर बनाउनु जस्ता धेरै कारण थिए, जसले आजको परिस्थिती निर्माणमा भूमिका खेलेका थिए । कानून बनाउनुपर्ने संसद ३ वर्षमा ४ वटा कानुन तयार गर्न सक्दैन, संघीयता भनेको छ, त्यसलाई पूर्ण अधिकार सहितको स्वायत्त शासन गर्ने जिम्मेवारी दिइदैंन भने त्यस्ता निकायको पनि कुनै काम छैन । संविधान संसोधन गर्न मिलेका हौं भन्ने तर त्यसबारे अलिकति पनि गम्भिरता नदेखाउने प्रवृत्ति पनि अहिलेको अवस्थाको कारक हो ।

अहिले पनि संयमित भएर जनताको निराशाको सहि जवाफ नेताहरुले दिन सके भनें उनीहरुको भविष्य सुरक्षित छ, नत्र बुझ्नेलाई बंगलादेश र श्रीलंका घटना काफी छन् ।

समग्रमा भन्दा उल्लेखित यी र यस्तै किसिमका थुप्रै कारण छन्, जसले भदौ २३ गतेलाई निम्त्यायो । निरन्तर नराम्रा कामहरु हावी हुँदै जाँदा जनता आजित भैसकेको नेतृत्वले महसुस गर्न सकेन । लोकतन्त्र आएपछि भएका थुप्रै सकारात्मक कामहरु समेत नकारात्मक काम हाबी भैदिँदा ओझेलमा पुगे । त्यसैले अब के हुन्छ ? भन्ने प्रश्नको सहि जवाफ अहिले भनिएका ठुला दलका नेता र सत्ता साझेदारहरुकै कोर्टमा छ । अहिले पनि संयमित भएर जनताको निराशाको सहि जवाफ नेताहरुले दिन सके भनें उनीहरुको भविष्य सुरक्षित छ, नत्र बुझ्नेलाई बंगलादेश र श्रीलंका घटना काफी छन् ।

Logo